काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सनारोलाई २०२२ को चुनावी हारपछि पनि सत्तामा टिकिरहने प्रयासमा ‘कू’को षड्यन्त्रमा दोषी ठहर गर्दै २७ वर्ष तीन महिनाको जेल सजाय तोकेको छ ।
यो फैसला देशको राजनीतिमा थप विभाजन ल्याउने र यसले अमेरिकाको असन्तुष्टि बढाउने अनुमान गरिएको एपीको समाचारमा उल्लेख छ ।
सन् २०१९ देखि २०२२ सम्म ब्राजिलमा शासन गरेका दक्षिणपन्थी नेतालाई पाँच मुद्दामा दोषी ठहर गरिएको छ । पाँच न्यायाधीशको प्यानलमध्ये चारजनाले उनलाई दोषी ठहराएका छन् । बुधबार एक न्यायाधीश लुइज फुक्सले उनको पक्षमा फैसला सुनाउँदै सबै आरोपबाट सफाइ दिन मतदान गरेका थिए ।
७० वर्षीय बोल्सनारो हाल नजरबन्दमा छन् । यो फैसलाविरुद्ध सर्वोच्च अदालतको ११ सदस्यीय बेन्चमा पुनरावेदन गर्ने उनका वकिलहरूको भनाइ छ । यद्यपि, बोल्सनारोले सबै आरोप अस्वीकार गरेका छन् । अदालतको सुनुवाइमा व्यक्तिगत रूपमा उपस्थित नभएर आफ्ना वकिलहरूलाई पठाएका छन् ।
यो मुद्दाले ब्राजिलियन समाजमा विभाजन ल्याएको छ । केही मानिसहरू उनीविरुद्धको कारबाहीको समर्थन गरिरहेका छन् । केही उनकोे साथमा छन् । र, सडकमा उत्रिएका छन् । यो मुद्दाले तब थप ध्यान खिच्यो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलियन सामानहरूमा ५० प्रतिशत ट्यारिफ लगाउनुलाई बोल्सनारोको मुद्दासँग जोड्दै यसलाई ‘विच हन्ट’ भनेका थिए ।
मुद्दाको फैसलापछि अमेरिकाले ब्राजिलमाथि नयाँ प्रतिबन्ध पनि लगाउनसक्ने जसले दुई देशबीचको नाजुक सम्बन्धलाई थप बिगार्न सक्ने पर्यवेक्षकहरूको भनाइ छ ।
यो मामिलाको अनुगमन गरिरहेका न्यायधिस अलेक्जेन्डर डी मोरेसले बोल्सनारो नै ‘कू’ को षड्यन्त्र र एक आपराधिक संगठनका नेता भएको मंगलबार भनेका थिए । उनले पनि उनलाई दोषी ठहराउन मतदान गरेका थिए ।
अदालती फैसलाका बाबजुद, बोल्सनारो अझै पनि ब्राजिलको राजनीतिमा एक शक्तिशाली खेलाडी बनेका छन् । उनलाई यसअघि नै एक छुट्टै मुद्दामा सन् २०३० सम्म चुनाव लड्न प्रतिबन्ध लगाइएको छ ।
यस्तो अवस्थामा, उनले अर्को वर्ष राष्ट्रपति लुइज इनासियो लुला दा सिल्वालाई चुनौती दिन आफ्नो नजिकको नेतालाई मैदानमा उतार्न सक्ने बताइएको छ । एपी