site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हामीलाई विभाजित गर्ने सबै बन्धन चुँडाल्न तयार होऔँ : घनश्याम भुसाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले कम्युनिस्ट एकताका लागि आह्वान गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् खासगरी नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का स्कुलिङबाट हुर्किएका, आन्दोलनमा बौद्धिक तथा सांस्कृतिक योगदान गर्ने सबै बुद्धिजीवी र सक्रिय समर्थक तथा शुभचिन्तकलाई एक हुन आह्वान गरेका छन् । 

उनले भनेका छन्, “हाम्रो विचार एउटै हो, नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै हामीलाई विभाजित गरेको छ, हामी एक ठाउँमा उभिन्छौँ भनेर संकल्प गर्नासाथ एउटा ऐतिहासिक राजनीतिक शक्ति जन्मिन्छ, इतिहासको यस कालखण्डमा केवल एउटा संकल्पको  खाँचो छ, हामीलाई विभाजित गर्ने ती सबै बन्धन चुँडाल्न तयार होऔँ ।”

उनले पार्टीहरूलाई बिर्ता बनाएर नेताहरूको रजाइँ चल्न दिएको नालायकीको मूल्य आज तिर्नुपरेको पनि उनले उल्लेख गरेका छन् । उनले भनेका छन्, “भदौ २३ गते सत्ताले गरेको नरसंहार र २४ गते मुलुकभरिका अपराधीहरूले गरेको ताण्डवले हाम्रा पनि नालायकीको पराकाष्टालाई छर्लंग पारेका छन् । हाम्रा राजनीतिक संरचना र प्रक्रियाको यो भन्दा हरिविजोग कहिल्यै हुनेछैन ।”

देशभक्ति, लोकतन्त्र र मुलुकको समृद्धिको आकांक्षा बोकेका राजनीतिकर्मीहरुलाई सबै बारबन्देज भत्काएर खुल्ला छलफलमा उत्रिन उनले आह्वान गरेका छन् ।  

 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १७:५१
प्रतिक्रिया दिनुहोस्