पोखरा । “जसले यस विनाशकारी घटनाको योजना बनाए, साथ दिए वा आगजनी, तोडफोड मात्र नभई लुटपाटसम्ममा संलग्न भए, तिनीहरूलाई यस्ता गलत बाटो र अनुचित कार्यमार्फत मात्र बाँचिरहन परिरहोस् भन्ने प्रार्थना गर्न सक्छु,” विदेशबाट फर्किएलगत्तै शनिबार (भदौ २८) बिहान पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आक्रोशपूर्ण तरिकाले भावुक स्टाटस लेखेका छन् ।
‘जेनजी’ प्रदर्शनकारीका नाममा घुसेको हिंस्रक समूहले पोखरा महानगरपालिकाको भवन जलाएर खरानी बनायो । महानगर कार्यालयको विपरीततर्फ केहीभित्र रहेको आचार्यको घरमा प्रदर्शनकारीले पेट्रोल छर्केर आगजनी गरे । तोडफोड पनि गरे ।
घरबाहिर पार्किङमा राखिएको उनको गाडी पनि जलाइएको थियो । मेयर आचार्य त्यो समयमा देशबाहिर थिए ।
जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति उनले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले घुसपैठ गरेर विनाश मच्चाउने असामाजिक समूहले आन्दोलनको पवित्र उद्देश्यलाई बिगारेका कारण जनधनको ठूलो क्षति भएको जनाएका छन् ।
महानगर र मातहतका सम्पूर्ण वडा तथा नागरिकका महत्त्वपूर्ण कागजात भएका कार्यालयहरूमा गरिएको आगजनी र विनाशले प्रदर्शनकराी युवाभन्दा बाहिरी तत्त्वको षड्यन्त्रपूर्ण गतिविधि रहेको प्रमाण आफूसँग भएको जिकिर गरेका छन् । उनले क्षतिको यकिन विवरण प्रशासनतर्फबाट संकलन भइरहेको जनाएका छन् ।
उनले आगजनी गरिएको आफ्नो घर २० वर्षअगाडि बनाइएको बताएका छन् । “आन्दोलन चलेको बेला पारेर स्वार्थ बोकेर आएका घुसपैठीहरूले हाम्रो घर ध्वस्त पारिदिए,” उनले लेखेका छन् ।
मेयर आचार्यले आफू निर्वाचित भएपछि कुनै आर्थिक लाभ नलिएको प्रस्ट पारेका छन् । आफूले पाउने मासिक सुविधा समेत सामाजिक क्षेत्रमा खर्च गर्दै आएको उनले जनाएका छन् ।
“तीन वर्ष महानगरको नेतृत्व गरिरहँदा मैले कुनै अनैतिक कार्य गरेको छैन । केही स्वार्थी समूहहरूले आफ्ना गलत काम नगरिदिएको कारण तथा निहित स्वार्थका आधारमा म र मेरो परिवारलाई निरन्तर बदनाम गर्ने, अफवाह फैलाउने र मानसिक यातना दिने कार्य भइरहेको तथ्यप्रति म पूर्ण रूपमा सजग छु,” उनले लेखेका छन्, “मैले आजसम्म कसैको कुभलो गरेको छैन, भविष्यमा पनि गर्ने छैन ।”