पोखरा । ‘जेनजी’को प्रदर्शनका नाममा गरिएको घुसपैठमा पोखराका सरकारी, निजी कार्यालय, नेताका घर, व्यवसाय, व्यापारिक भवनदेखि तरकारी मन्डीसहित ८० संरचना ध्वस्त बनाइयो । एउटा उमेर समूहले सामाजिक सञ्जाल निष्क्रियविरुद्ध गरेको प्रदर्शन विध्वंसकारीले भाँड्दा अर्बौं रुपैयाँको क्षति भयो । क्षतिको पूर्ण विवरण संकलन बाँकी नै छ ।
पोखरा–१३ को वडा कार्यालय भवन पनि अराजक प्रदर्शनकारीको निसानामा पर्यो । त्यही जलाइएको भवनबाट खरानी भएका सामानको राग आइरहेको छ । र पनि नागरिकलाई सेवा नदिई सुख छैन ।
वडाध्यक्ष किरण बराल भन्छन्, “कागज जले, संरचना गयो, तर सेवाको भावना अझ बलियो भएर फर्किएको छ । आज सबैभन्दा बढी हाम्रो आस्था जलेको छ । जहाँ वडावासीको अभिलेख, मिहिनेत तथा सपना थियो । दिनरातको परिश्रमले उभिएको त्यो एउटा भवन मात्र थिएन । एउटा हाम्रो लागि मन्दिर बनिसकेको थियौँ । हामी सबैको नित्यकर्म त्यहीँबाट सुरु हुन्थ्यो । जहाँबाट वडावासी सबैले नागरिक हुन पाएका थियौँ ।”
उनले सामाजिक सञ्जाल फेसबुकमा मर्मस्पर्शी स्टाटस लेख्दै भवन पुनर्निर्माणका निम्ति सार्वजनिक आह्वान गरेका छन् ।
जेनजीको प्रदर्शनमा आफूहरूको ऐक्यबद्धता रहँदारहँदै पनि नियोजित घुसपैठ र अराजक समूहले वडा कार्यालय जलाएको उनको आशंका छ । “यी घटना स्वतस्फूर्त आन्दोलनभन्दा बाहिरको नियोजित काम जस्तो लाग्दछ, जुन मेरो व्यक्तिगत बुझाइ हो । आन्दोलनको मूल भावना र उद्देश्य सशक्त थियो, तर त्यसक्रममा भएको हिंसा र तोडफोडले आन्दोलनको गरिमा र सारमा आघात पुर्याएको छ,” उनले लेखेका छन ।
तर, अब वडालाई फेरि उठाउन आफू तयार रहेको सन्देश उनले दिएका छन् । “अब हाम्रो साझा कर्तव्य हाम्रो वडालाई फेरि उठाउनु हो । हिजो कार्यालय जलेर खरानी भयो, तर हाम्रो हौसला खरानी भएको छैन,” उनले लेखेका छन् ।
दोषीलाई कारबाहीको मागसहित उनले वडावासीलाई आगो निभाउनमा सहयोग गरेकामा आभार व्यक्त गरेका छन् । स्थानीयवासीलाई नै उनले फेरि वडा बनाउने अभियानमा जुट्न अपिल गरेका छन् ।
“सहभागिताको, एकता र पुनर्स्थापनाको बाटो अवलम्बन गर्दै ‘आफ्नो वडा, आफैँ बनाउने’ अभियानमा जुट्ने घडी हो,” उनले भनेका छन्, “एउटा इँटा तपाईंको, अर्को मेरो, हामी सबै मिलेर फेरि वडाको नयाँ ढोका खोल्नेछौँ । जलेका कागजहरूलाई ज्ञानका नयाँ पानाले बदल्नेछौँ । हामी एउटा बिरुवा थियौँ, पात झर्छ, पुनः पलाउँछ । हामी पनि त्यस्तै हौँ । बिरुवाले पालुवा पलाउन नबिर्सेजस्तै हामी पुनः उठ्नेछौँ ।”
उनले आफूहरू फेरि अझ सशक्त र संगठित भएर उठ्ने उद्घोष गरेका छन् ।