site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परराष्ट्रका २२ गाडीमा आगजनी र तोडफोड, भीआईपी प्रयोजनका नौ सवारीसाधन सुरक्षित

काठमाडौं । ‘जेनजी’को प्रदर्शनका क्रममा परराष्ट्र मन्त्रालयका २२ गाडीमा आगजनी र तोडफोड गरिएको पाइएको छ । विशिष्ट व्यक्ति (भीआईपी)को प्रयोजनका निम्ति राखिएका नौ गाडी भने सुरक्षित छन् ।

“क्षतिको विवरण संकलन कार्य चलिरहेको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बाह्रखरीसँग भने, “प्रारम्भिक विवरणानुसार मन्त्रालयमा रहेका २२ वटा गाडीमा आगजनी तथा तोडफोड भएको छ । भीआईपी प्रयोजनका लागि राखिएका नौवटा सुरक्षित छन् ।” 

जोगिएका भीआईपी प्रयोजनका निम्ति राखिएका नौ गाडी ‘मर्सिडिज बेन्ज’ हुन् । यी गाडी सन् २०१६ मा कतारले नेपाललाई उपहारस्वरूप हस्तान्तरण गरेको थियो । मन्त्रालय भवनको पछाडिपट्टि हत्तपत्त नदेखिने स्थानमा पार्किङ गरिएका कारण यी गाडी जोगिएका हुन् ।

जेनजीले यही भदौ २३ र २४ गते देशभर व्यापक प्रदर्शन गरेका थिए । त्यसक्रममा भदौ २३ गते १९ प्रदर्शनकारीको मृत्यु भएको थियो । त्यसपछि भदौ २४ गते जेनजीको प्रदर्शन उग्र बनेको थियो ।

भदौ २४ गते देशको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार छिरेका प्रदर्शनकारीले विभिन्न मन्त्रालयमा आगजनी र तोडफोड गरेका थिए । सोही दिन परराष्ट्र मन्त्रालयमा पनि आगजनी र तोडफोड गरिएको थियो ।

“क्षति पुगेका २२ गाडीमध्ये ६ वटा जलेर पूर्ण रूपमा नष्ट भएका छन् । १६ वटा गाडीका सिसा र बडी तोडफोड गरिएको छ,” उनले भने, “प्रारम्भिक विवरणले नै ठूलो क्षति भएको देखाएको छ ।” 

परराष्ट्र मन्त्रालय सिंहदरबारभित्र दुई भवनमा थियो । एउटा अर्थ मन्त्रालयसँगैको भवनमा र अर्को पहिलेको सामान्य प्रशासन मन्त्रालयमा । 

“पहिलेको सामान्य प्रशासन मन्त्रालयमा परराष्ट्रका ६ वटा महाशाखा रहेका थिए । उक्त भवन प्रदर्शनकारीले जलाउँदा त्यहाँ रहेको ६ वटा महाशाखाका सबै महत्त्वपूर्ण कागजात जलेका छन्,” प्रवक्ता क्षेत्रीले भने ।

अर्थ मन्त्रालय आडमा रहेको परराष्ट्रको मूल भवनमा भने आगजनी गरिएको छैन । तर, प्रदर्शनकारी भवनभित्र प्रवेश गरेर सिसा तोडफोड र सम्पूर्ण कागजात जथाभावी च्यातेको र फ्याँकेको पाइएको छ ।

भीआईपी प्रयोजनका निम्ति त्यहाँ राखिएका मध्ये तीन गाडी राष्ट्रपति कार्यालय, गृह मन्त्रालय र परराष्ट्रमन्त्रीले प्रयोग गरेका थिए । ती गाडीमा प्रदर्शनकारीले आगजनी गरेको आशंका गरिएको छ ।

“हामी सबैतिरबाट क्षतिको विवरण मागिरहेका छौँ । एक–दुई दिनमा क्षतिको पूर्ण विवरण तयार हुन्छ,” उनले भने ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १२:५८
प्रतिक्रिया दिनुहोस्