site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिका–भेनेजुएला तनावबीच अमेरिकी एफ–३५ स्टेल्थ लडाकु विमान पोर्टो रिकोमा अवतरण

काठमाडौं । भेनेजुएलासँग तनाव भइरहेका बेला अमेरिकाका पाँचवटा एफ–३५ लडाकु विमानहरू शनिबार पोर्टो रिकोमा अवतरण गरेको रोयटर्सले जनाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग बढ्दो तनावका बीच लागुऔषध तस्करहरूलाई नियन्त्रण गर्न भन्दै क्यारिबियनमा आफ्नो सैन्य शक्ति बढाउन १० वटा स्टेल्थ लडाकु विमान पठाउन आदेश दिएका थिए ।

एफ–३५ विमानहरू पोर्टो रिकोको सेइबास्थित पुरानो रुजभेल्ट रोड्स सैन्य अड्डामा अवतरण गरेको रोयटर्सले जनाएको छ । 

हालैका दिनहरूमा अमेरिकी हेलिकोप्टर र ओस्प्रे विमानका साथै अन्य अमेरिकी विमान र सैन्य कर्मचारीहरू उक्त सैन्य बेसमा देखिएको बताइएको छ ।

यो हप्ता अमेरिकी रक्षामन्त्री पिट हेगसेथ र उच्च अमेरिकी जनरलले पोर्टो रिकोको आकस्मिक भ्रमण गरेपछि सार्वजनिक भएका हुन् । 

यी पछिल्ला घटनाहरू भेनेजुएलासँग बढ्दो तनावका बीच आएको हो । स्रोतहरूले गत हप्ता रोयटर्सलाई बताएअनुसार ट्रम्प प्रशासनले लागुऔषध तस्करहरूविरुद्धको अभियान सञ्चालन गर्न पोर्टो रिकोमा १० वटा एफ–३५ लडाकु विमान पठाउन आदेश दिएको थियो ।

गत हप्ता, ट्रम्प प्रशासनले दक्षिणी क्यारिबियनमा युद्धपोतहरू तैनाथ गरेपछि, भेनेजुएलाबाट अवैध लागुऔषध बोकेको आरोप लागेको एउटा डुंगामाथि भएको आक्रमणमा अमेरिकी सेनाले ११ जनालाई मारेको थियो । भेनेजुएलाले मारिएका ११ जनामध्ये कोही पनि लागुऔषध तस्कर नभएको बताएको छ ।

भेनेजुएला सरकारले शनिबार एउटा अमेरिकी विनाशक जहाजले शुक्रबार आफ्नो देशको विशेष आर्थिक क्षेत्रमा एउटा भेनेजुएलाको टुना माछा मार्ने डुंगालाई आठ घण्टासम्म नियन्त्रणमा लिएको र कब्जा गरेको घोषणा गरेको छ ।

उक्त डंगामा नौजना सामान्य माझीहरू रहेको र उनीहरू निर्दोष रहेको बताइएको छ । अवैध र शत्रुतापूर्ण तरिकाले जहाजमाथि कब्जा गरिएको भेनेजुएलाले जनाएको छ । एफ–३५ अत्यधिक उन्नत स्टेल्थ लडाकु विमानहरू हुन् ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १७:१२
प्रतिक्रिया दिनुहोस्