काठमाडौं । बेलायतको राजधानी लन्डनमा शनिबार विशाल आप्रवासीविरोधी र्याली आयोजना गरियो । र्यालीमा एक लाख १० हजारदेखि एक लाख ५० हजार मानिस सहभागी भएका थिए । यसलाई हालसालै बेलायतमा भएको सबैभन्दा ठूलो दक्षिणपन्थी भेलामध्ये एक भएको बताइएको छ । आयोजकहरूले यसलाई युनाइट द किङ्दम र्याली नाम दिएर अभिव्यक्तिको स्वतन्त्रताका लागि गरिएको प्रदर्शनको रूपमा प्रस्तुत गरिएको भए पनि यसमा आप्रवासीविरोधी नाराहरू लगाइएका थिए ।
बीबीसीका अनुसार, लन्डनको मध्य भागमा अति–दक्षिणपन्थी कार्यकर्ता टमी रोबिन्सनको नेतृत्वमा र्याली आयोजना गरिएको हो ।
उक्त र्याली हिंसात्मक बन्दा २६ प्रहरी अधिकारी घाइते भएका छन् । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएपछि २५ जनालाई पक्राउ गरिएको छ । आन्दोलनमा चार प्रहरी अधिकारी गम्भीर घाइते भएका बताइएको छ । प्रहरी अधिकारीहरूमाथि आक्रमण भएको र उनीहरूलाई नियन्त्रणमा लिन दंगा नियन्त्रण ढाल तथा हेल्मेटसहित थप सुरक्षाकर्मीहरू तैनाथ गर्नुपरेको थियो ।
यसलाई अभिव्यक्तिको स्वतन्त्रताका निम्ति गरिएको प्रदर्शन भनिएको थियो । उक्त कार्यक्रमलाई युरोपभरका अति दक्षिणपन्थी नेताले समर्थन गरेका थिए । र्यालीका नेतृत्वकर्ता रोबिन्सनमाथि धेरै आपराधिक आरोप लगाइएको छ ।
वास्तविक नाम स्टीफन यक्सले–लेन्नोन रहेका रोबिन्सन एक अति–दक्षिणपन्थी कार्यकर्ता हुन् जो बेलायती राजनीतिमा लामो समयदेखि एक विवादास्पद व्यक्ति रहेका छन् । इंग्लिस डिफेन्स लिगका संस्थापकका रूपमा परिचित उनले फुटबल समूहहरू र आप्रवासन तथा इस्लामविरोधी सडक आन्दोलनहरूमा आफ्नो उपस्थिति र पहिचान बनाएका छन् ।
द गार्डियनका अनुसार, ४२ वर्षीय रोबिन्सनले पूर्वरिफर्म यूकेका सदस्यहरूले सुरु गरेको नयाँ राजनीतिक दल ‘एडभान्स यूके’ सँग गठबन्धन गरेर बेलायतको खण्डित अति–दक्षिणपन्थीहरूलाई एकताबद्ध गर्ने प्रयास गरिरहेका छन् । उनी यो वर्षको सुरुमा जेलबाट रिहा भएका थिए । गत अक्टोबरमा उनी एक सिरियाली शरणार्थीबारे झुटा दाबीहरू दोहोर्याउन नपाउने आदेशको अवहेलना गरेकोमा जेल परेका थिए, जसले उनीविरुद्ध मानहानिको मुद्दा जितेका थिए ।
शनिबार रोबिन्सनले आफ्ना समर्थकहरूलाई राजनीतिज्ञहरूले उनका विचारहरूलाई दोहोर्याइरहेका भन्दै बेलायतका अदालतहरूले गैरकानुनी आप्रवासीहरूको अधिकारलाई स्थानीय समुदायहरूको अधिकारभन्दा बढी महत्त्व दिएका दाबी गरे । उनले र्यालीमार्फत राजनीतिक नेताहरूमाथि आक्रमण गर्दै आफूलाई सामान्य बेलायतीहरूको रक्षकको रूपमा प्रस्तुत गर्न गरे ।
यस कार्यक्रममा केही उच्च–व्यक्तित्वहरू पनि सहभागी थिए । जसमध्ये एक इलोन मस्क थिए । मस्कले भिडियो लिंकमार्फत सरकार परिवर्तन गर्न आह्वान गरे र, अनावश्यक अनियन्त्रित आप्रवासन बारे चेतावनी दिए ।
मस्कले बेलायतमा राजनीतिक परिवर्तनको लागि आह्वान गर्दै नागरिकहरू आफ्नो अभिव्यक्तिको स्वतन्त्रता प्रयोग गर्न डराएको दाबी गरे । टीभी प्रस्तोता केटी हप्किन्स र अभिनेता लरेन्स फक्स पनि रोबिन्सनको साथमा देखा परेका थिए । र्यालीको आकार ठूलो भए पनि, मुख्यधाराको दक्षिणपन्थी पार्टी ‘रिफर्म यूके’ले रोबिन्सनबाट आफूलाई टाढा राखेको थियो ।
प्रदर्शनका साथै फुटबल खेल र कन्सर्टजस्ता अन्य ठूला कार्यक्रमहरू व्यवस्थापन गर्न राजधानीभर १६ सयभन्दा बढी प्रहरी अधिकारीहरू खटिएका थिए । हिंसाको बारेमा अनुसन्धान जारी रहेको बताइएको छ ।
यसको विरोधमा पनि अर्को र्याली आयोजना गरिएको थियो । ‘स्ट्यान्ड अप टु रेसिज्म’ द्वारा आयोजित काउन्टर प्रदर्शनमा करिब पाँच हजार मानिस सहभागी थिए । विपक्षी प्रदर्शनकारीहरूले यो र्यालीले विभाजन फैलाएको तर्क गरेका छन् ।
स्वतन्त्र सांसद डायन एबटले भिडलाई सम्बोधन गर्दै भने, “हामीलाई नस्लवाद र हिंसा र फासिवाद नयाँ होइन भन्ने थाहा छ । तर तपाईंलाई थाहा छ ? हामीले सधैँ त्यो नस्लवाद र हिंसालाई पराजित गरेका छौँ ।”