site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आन्दोलनको नाममा अराजकता र इतिहास मेटाउने काम भयो : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका नाममा देशको ऐतिहासिक सम्पत्ति र संवैधानिक संरचनामा गम्भीर क्षति पुगेको बताएका छन् । आन्दोलनको मूल मर्मप्रति आफू सहमत भए पनि त्यसको नाममा भएको अराजकताले नेपाली समाजमा ठूलो नकारात्मक असर परेको बताए । 

“आन्दोलनप्रति मेरो असहमति छैन, तर आन्दोलनको नाममा भएका घटनाबाट नेपालकै इतिहास मेट्ने काम भयो । नेपालीको अभिलेख नै हराउने जस्तो अवस्था आयो,” उनले आइतबार पत्रकार भेटघाटमा भने ।

मुख्यमन्त्री कँडेलका अनुसार, भदौ २४ गते आन्दोलन अराजकतातर्फ मोडिएपछि सिंहदरबार, सर्वोच्च अदालत र शीतलनिवास जब कब्जा गरियो, त्यसपछि भने सुरक्षानिकायहरू पूर्ण रूपमा निष्क्रिय भएको बताए ।

“व्यक्ति बलियो भए पनि सुरक्षा निकाय कति कमजोर रहेछ भन्ने अहिले आएर बुझियो,” उनले गम्भीर चिन्ता व्यक्त गर्दै भने, “आन्दोलनकारीभन्दा सुर्खेतमा सुरक्षा निकाय नै थियो तर पनि हाम्रो केही लागेन । 

मुख्यमन्त्री कँडेलका अनुसार, आन्दोलनबाट कर्णाली प्रदेशसभा भवन, प्रदेश लेखा नियन्त्रकको कार्यालय लगायतका सार्वजनिक संरचनामा आगजनी र तोडफोड भएको बताए ।

जेनजी आन्दोलनकारीले मुख्यमन्त्री कँडेल र पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको निजी निवासमा समेत आक्रमण गरेका थिए । मुख्यमन्त्री कँडेलले आफ्नो निजी निवास र खड्काको निजी निवासमा आन्दोलनकारीलाई प्रयोग गरेर योजनाबद्ध ढंगमा घरमा हमला गरिएको,” उनले आरोप लगाए ।

मुख्यमन्त्री कँडेलले आन्दोलनका नाममा समाजमा हिंसा फैलाउने र अराजकता मच्चाउने कार्यप्रति कडा आपत्ति जनाए । “मेरो छिमेकीहरूले समेत आन्दोलनकारीलाई मेरो घर कहाँबाट जानुपर्छ भनेर बाटो देखाइदिएका रहेछन्,” उनले भने ।

संविधान घाइते अवस्थामा पुगेको बताउँदै मुख्यमन्त्री कँडेलले अब पनि सुधार नगरे समाज नै निराशाको गतिमा फस्ने बताए । “राजनीतिकर्मी र जनप्रतिनिधिहरूले गल्ती गरे दण्डको व्यवस्था संविधानमै छ, त्यसलाई नमान्ने प्रवृत्तिले हामीलाई निसाना बनाइयो,” उनले भने ।

उनले आन्दोलनको नाममा भएको विध्वंसलाई ‘धन्दा र व्यवसाय’को संज्ञा दिँदै तीन प्रमुख राजनीतिक दलहरूबीच गम्भीर संवाद र सहकार्यको आवश्यकता रहेको औँल्याए ।

 देशको संविधान, सामाजिक एकता र लोकतान्त्रिक मूल्यलाई जोगाउन सबै दल एक ठाउँमा आउनुपर्नेमा उनले जोड दिए । मुख्यमन्त्री कँडेलले भने, “हिजोको आन्दोलनले जुन उपलब्धि दिएको छ, त्यसलाई जोगाउनु हाम्रो सबैको कर्तव्य हो । अबको बाटो सहमति, संयमता र सुधारको हुनुपर्छ ।”

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १९:१८
प्रतिक्रिया दिनुहोस्