site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बोल्सोनारोको फैसलापछि अमेरिकी धम्कीविरुद्ध ब्राजिलका राष्ट्रपति क्रुद्ध

काठमाडौं । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आइतबार पुनः अमेरिकामाथि कटाक्ष गर्दै ट्रम्प प्रशासनले लगाएको ट्यारिफ (भन्सार)लाई तर्कहिन र राजनीतिक भएको बताएका छन् । अमेरिकाले ब्राजिलमाथि ५० प्रतिशत ट्यारिफ लगाएको छ ।
 
न्युयोर्क टाइम्समा प्रकाशित एक लेखमा लुलाले उनको सरकार दुवै देशलाई आपसी लाभ हुने कुनै पनि कुरामा वार्ता गर्न तयार भए पनि ब्राजिलको लोकतन्त्र बिकाउ नभएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाईमा ब्राजिलमाथि ५० प्रतिशत ट्यारिफ लगाएका छन् । ट्रम्पले ब्राजिल सरकारले पूर्वराष्ट्रपति बोल्सोनारोविरुद्ध प्रतिशोधको भावनाले कारबाही गरिरहेको आरोप लगाएका छन् । बोल्सोनारोलाई अवैध रूपमा सत्तामा बस्न खोजेको आरोप लागेको छ । बिहीबार मात्रै ब्राजिलको सर्वोच्च अदालतले बोल्सोनारोलाई सन् २०२२ मा ‘कू’को प्रयास गरेकोमा दोषी ठहर गर्दै २७ वर्षको सजाय सुनाएको छ ।

लूलाले लेखमा उनलाई सर्वोच्च अदालतको निर्णयमा गर्व रहेको भन्दै यो निर्णयले ब्राजिलको निकायहरू र लोकतान्त्रिक कानुनले व्यवस्थाको रक्षा गर्ने बताए ।
 
लुलाले बोल्सोनारोविरुद्ध प्रतिशोधको भावनाले काम गरेको आरोपलाई अस्वीकार गर्दै यो निर्णय महिनौँको अनुसन्धानपछि आएको र जसमा उनको, उपराष्ट्रपति र सर्वोच्च अदालतका न्यायाधीशको हत्याको योजना बनाइएको खुलासा भएको बताइएको छ ।
 
अमेरिकी ट्यारिफको आलोचना गर्दै लुला दा सिल्भाले ट्यारिफमा भएको वृद्धि केवल भ्रमित पार्ने मात्र होइन, तर्कहिन भएको बताए । अदालतको निर्णयपछि अमेरिकी विदेशमन्त्रीले ट्रम्प सरकारले परिस्थितअनुसार कदम चाल्ने बताएका छन् । 

ब्राजिलको विदेश मन्त्रालयले रुबियोको टिप्पणीलाई अनुचित धम्की भएको बताएको छ । उनीहरूको सरकार यी धम्कीहरूसँग नडराउने बताएको छ । देशको न्यायपालिका स्वतन्त्र रहेको र बोल्सोनारोको मामिलामा उचित प्रक्रियाको पालना गरिएको ब्राजिलले बताएको छ । एपी
 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १०:३४
प्रतिक्रिया दिनुहोस्