site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हस्तलिखित पत्रमार्फत चोरिएका सामान फिर्ता माग्दै गण्डकी संसद् र सरकार
जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेशसभामा भएको आगजनी । फाइल तस्बिर ।

पोखरा । गण्डकी प्रदेशसभा सचिवालयले हस्तलिखित पत्र जारी गर्दै लुटपाटका सामानहरू फिर्ता गर्न आग्रह गरेको छ । जेनजी प्रदर्शनको नाममा गण्डकीको प्रदेशसभा भवनदेखि सचिवालय, पुस्तकालय ध्वस्त बनेको छ । पत्र टाइप गर्ने एउटा कम्प्युटर पनि बाँकी नरही ध्वस्त बनेपछि सचिवालयले सोमबार हस्तलिखित रूपमा पत्र लेखेको हो । 

प्रदर्शनकारीले प्रयोगमा आउने खालका सामग्रीदेखि फूलको गमला, फाइलहरू चोरी गरेका थिए । तिनै चोरिएका सामान फिर्ता गर्न सचिवालयले सूचना जारी गरेको हो ।

सूचनामा प्रदेशसभा सचिवालयका दुई तथा चारपांग्रे सवारी, कम्प्युटर, प्रिन्टर, ल्यापटक, भिडियो क्यामेरा, क्यामेरा, टीभी, स्मार्टबोर्ड, कुर्सी टेबुल, दराज, सोफा लगायतका सामग्रीहरू चोरी भएको उल्लेख गरिएको छ ।

सचिवालयले सभामुख र उपसभामुख निवास नागढुंगाबाटसमेत लुटपाट र चोरी भएको जनाएको छ । त्यसमा संलग्नको पहिचान कार्य चलेको र कसैले थाहा पाए सचिवालय र प्रहरीमा बुझाइदिन अनुरोध गरिएको छ । सचिवालयले सामान फिर्ता गर्नको लागि अधिकृत झनकराज शर्मासँग सम्पर्क गर्न भनेको छ ।

सोमबार नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि जेनजी आन्दोलनका क्रममा विभिन्न कार्यालयबाट चोरी भएका सामानहरू फिर्ता गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै मुख्यमन्त्री कार्यालय र प्रदेशस्थित अन्य मन्त्रालय, आयोग, निकाय, कार्यालय र निवासमा भएको तोडफोड, आगजनी र चोरी एवं लुटपाटबाट सवारीसाधन, टीभी, कम्प्युटर, ल्यापटप, स्क्यानर, क्यामरा, प्रिन्टर, फर्निचरलगायत सामान लुटपाट र चोरी भएको जनाएको छ । 

उक्त तोडफोड र चोरीमा संलग्नहरूको सीसीटीभी फुटेज र अन्य भिडियोहरूबाट पहिचान गर्ने काम भइरहेकाले कोही कसैले कार्यालय र अन्य निकायका सामग्रीहरू लिएको वा प्राप्त गरेको भए ती सामान सम्बन्धित कार्यालय वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन सूचनामा अनुरोध गरिएको छ । सामान फिर्ता गर्नेको नाम गोप्य राखिने जनाइएको छ । नभए कानुनी कारबाही गरिने व्यहोरा सूचनामा छ ।

जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका विभिन्न कार्यालयमा तोडफोड, आगजनी हुनुका साथै जलेर बचेका सामान चोरी भएका थिए ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्