site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पकिस्तानमा चुनावमा धाँधली पुष्टि गर्ने पर्यवेक्षक प्रतिवेदन सार्वजनिक गर्न आग्रह

काठमाडौं । पाकिस्तानी जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तारिक ए इन्साफ (पीटीआई)ले राष्ट्रमण्डल पर्यवेक्षक समूहलाई गत वर्षको फेब्रुअरी ८ मा भएको आम निर्वाचनको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेको छ ।
 
पार्टीले सो प्रतिवेदन वर्तमान शेहबाज शरीफ सरकारका लागि ‘बम’जस्तै हुने बताएको छ ।

पार्टीले राष्ट्रमण्डल पर्यवेक्षक समूहको प्रतिवेदनका केही अंश सार्वजनिक भएको र त्यसबाट सुनियोजित धाँधली, संस्थागत पक्षपात र पीटीआई तथा यसका संस्थापक इमरान खानलाई जानीबुझी निशाना बनाएको खुलासा भएको दाबी गरेको छ ।

पीटीआईले उक्त प्रतिवेदनले निर्वाचनअघि र पछि पनि व्यापक धाँधली भएको भन्ने पार्टीको लामो समयदेखिको शंकालाई पुष्टि गरेको बताएको छ ।

पीटीआईका वरिष्ठ नेता तथा खानका निकट सहयोगी जुल्फी बुखारीले सामाजिक सञ्जालमा पोस्ट गर्दै सन् २०२४ को आम निर्वाचनमा व्यापक अनियमितता भएको कुरा सार्वजनिक भएको बताएका छन् ।

उनले हालै बाहिरिएको राष्ट्रमण्डल पर्यवेक्षक समूह प्रतिवेदनमा गम्भीर चिन्ताहरू रहेको र त्यसलाई कुनै उचित कारणबिना नै जनताबाट लुकाइएको बताएका छन् ।
 
बुखारीले प्रतिवेदनलाई कुन अधिकारअन्तर्गत लुकाइयो र कति समयसम्म लुकाइन्छ ? यसलाई लुकाउनका लागि कुन–कुन व्यक्ति वा संस्था जिम्मेवार छन् भन्ने विषय जान्न चाहेको बताएका छन् । पीटीआई

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  ०७:१४
प्रतिक्रिया दिनुहोस्