site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपा बैठकमै रविभन्दा दीपक मनाङ्गे इमानदार भनेपछि...

काठमाडौं । जब जेनजी आन्दोलनले उत्कर्ष लिँदै थियो, तब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन सांसदले छुट्टाछुट्टै राजीनामा दिए । तत्कालीन सांसदहरू सुमना श्रेष्ठ, डा. तोसिमा कार्की र असिम शाहले सांसदबाट राजीनामा दिएको सार्वजनिक हुँदा नहुँदै रास्वपा कार्यालयमा भीड जम्मा भयो । 

भीड रास्वपा कार्यालयमा पुग्दा नपुग्दै जेलबाटै सभापति रवि लामिछानेको निर्देशन आयो– पार्टीका सबै सांसदले राजीनामा दिनू ।’ उता भीडले सामूहिक राजीनामा दिँदै आन्दोलनमा होमिन आह्वान गर्‍यो । भीडले कार्यालय परिसर घेरा हालेर नाराबाजी गर्दैगर्दा भर्चुअल मिटिङ भयो ।

मिटिङमा सामूहिक राजीनामा दिन सभापतिबाट निर्देशन आएको सुनाइयो र आन्दोलनमा सक्रिय हुने जानकारी गराइयो । अनि पार्टीका सबै सांसदले सामूहिक राजीनामा दिने निर्णय भएको सार्वजनिक गरियो ।

“तीन जनाले राजीनामा दिने घोषणा गरिसक्नुभएको थियो । भीडले कार्यालय भरिइसकेको थियो,” रास्वपाका संस्थापकमध्येका एक सदस्यले बाह्रखरीसँग भने, “सभापतिको सन्देश पनि आइसकेको हुँदा धेरै बहस भएन, सामूहिक राजीनामा गर्ने विषयमा सबैको सहमति थियो ।” 

तर त्यसअघि एक्लाएक्लै राजीनामा किन दिइयो भन्ने विषयमा छलफल चलेको थियो ।  ती सदस्यका अनुसार, त्यो केवल निर्णय राजनीतिक थियो र राजीनामा सभामुखलाई नदिँदासम्म आन्दोलनमा उत्साह थप्ने अस्त्रका रुपमा मात्र हेरिएको थियो ।

आन्दोलनकारीले २४ गते शीतलनिवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतसहित सबै महत्वपूर्ण कार्यालयहरू, मिडिया हाउससहित व्यापारिक कम्प्लेक्ससम्म आगो लगाएर ध्वस्त पारिसकेका थिए ।

नेताहरूका घरमा आगो लगाइँदै थियो । राजनीतिक दलका नेताहरू भागेर जोगिनेबाहेकले कुटाइ खाँदै थिए ।  उता रवि लामिछाने छुटाउन रास्वपाबाहुल समूहले नख्खु कारागार प्रवेश गरे । त्यहाँ पुगेको भीडले सहकारी ठगी प्रकरणमा थुनिएका लामिछानेलाई जेलबाहिर निकालेका थिए ।

जेलबाट निकाल्नुअघि रास्वपाका केही नेताले नक्खु कारागार उपस्थित हुन अनुरोध सामाजिक सञ्जालबाटै गरेका थिए । लामिछाने जेल बाहिर निस्केपछि विजयी भावमा गाडीको हुट खोलेर आन्दोलनकारीलाई अभिवादन गर्दै फर्किएका थिए ।

लामिछाने त्यसरी फर्किएको दृष्यसँगै जेनजी युवाहरूले उनलाई संविधान र कानुनका विषयमा सामाजिक सञ्जालमार्फत् नै ध्यानाकर्षण गराइरहेका थिए । जेलबाट घर नपुग्दै लामिछानेमाथि आन्दोलनकारी प्रस्तुत भए ।

तिनले लामिछानेलाई जेलबाट निकाल्ने माग आन्दोलनको नभएको टिप्पणीले सडकदेखि सन्जालसम्म रंग्याइरहेका थिए ।

गुण्डा नाइके दीपक मनाङ्गेले कानुन मान्ने हुँदा जेलबाट भाग्न नचाहेको भन्ने विषय पनि सामाजिक सन्जालमा देखापर्न थाल्यो । तर त्यो आधिकारिक हो कि होइन भनेर कसैले पनि चेकजाँच भने गरेको थिएन । अनि रास्वपाकै सदस्यले पार्टीभित्र बहस चलाए, ‘दीपक मनाङ्गे जति पनि इमान्दार रवि लामिछाने देखिएनन् । मनाङ्गे कानुन मान्ने, लामिछाने नमान्ने भन्दा कस्तो सन्देश जान्छ ?’

अझ ‘लोकप्रियतावाद’मा विश्वास गर्ने रास्वपाजनलाई पनि पचेन । त्यसरी लामिछानेविरुद्ध आएका टिप्पणीले पार्टीको छवि थप बिग्रिएको अनुभव रास्वपा नेताहरूले नै गर्न थाले ।

त्यसरी प्रश्न उठाउनेलाई रास्वपाका केही सदस्यले प्रश्न गरेका थिए– के आधारमा सभापतिलाई दीपक मनाङ्गेसँग तुलना गरिएको छ ? दीपक मनाङ्गेले कहाँ कुन मिडियासँग भनेका छन् म बाहिर निस्कन्न भनेर ? यति ठूलो पार्टीको नेतालाई मनाङ्गेसँग तुलना गर्न मिल्दैन ।”

रास्वपाको भदौ २५ गते बुधबार पार्टीको केन्द्रीय समिति बैठक बस्यो । बैठकमा सांसद सुमना श्रेष्ठले संविधान खारेजी, संसदका दुवै सदन विघटन गर्ने र नयाँ परिस्थितिका लागि तयार रहनुपर्ने प्रस्ताव राखिन् । 

पहिला त उनले पार्टीमा कसैसँग छलफलसमेत नगरी राजीनामा दिएकी थिइन् ।  उनले यसअघि सहमहामन्त्रीबाट राजीनामा पनि त्यस्तै अप्ठेरो अवस्थामा दिएको भन्दै रास्वपाभित्र उनको आलोचना हुँदै आएको थियो । 

उनले व्यवस्था फाल्दै पुराना पार्टीहरूको उपस्थिति कमजोर बनाउने र नयाँ पार्टीहरूले शासनसत्ता सम्हाल्नुपर्ने प्रस्ताव राखिन् ।

“राष्ट्रियसभा राखियो भने त फेरि पनि पुरानै पार्टीको चल्ने भयो । त्यसकारण दुवै सदन विघटन हुनुपर्छ,” सुमनाको भनाइ उद्धृत गर्दै रास्वपाका एक नेताले बाह्रखरीसँग भने, “यो संविधान पनि जोगाउन आवश्यक छैन । अब नयाँ ढंगले अघि बढ्नु उपयुक्त हुन्छ ।”

सुमना श्रेष्ठको तर्कपछि सांसद हरि ढकालले आफ्नो फरक तर्क राखेका थिए । उनले भने, ‘‘व्यवस्थाको विकल्प नै खोज्ने तहमा हामी जानु हुँदैन ।’’

उनले जनताबाट लिएको जनादेश पाँच वर्षको भएको भन्दै रास्वपाले बीचमै उठेका आन्दोलनबाट बहकिएर व्यवस्थाविरुद्ध उभिनु ठीक नहुने तर्क गरेका थिए ।

उनले बोल्ने क्रममा आफू पूर्वअर्थमन्त्री जस्तो व्यक्तिलाई हराउँदै निर्वाचित भएको र घुमाउरो पाराले ‘समानुपातिक सांसद’ लक्षित व्यंग्य पनि गरेका थिए । त्यसले रास्वपाका समानुपातिक सांसदहरूलाई असहज बनाएको थियो ।

“हामीले राजीनामा दिनेगरी भएको निर्णय पार्टीले आन्दोलनमा उत्साह भर्न गरिएको राजनीतिक निर्णय थियो, लोकतन्त्र धरापमा पर्ने अवस्थामा हामी त्यही निर्णयमा अडिएर बस्न जरुरी छैन,” ढकालको भनाई उद्धृत गर्दै ती नेताले भने, “लोकतन्त्रलाई संकटमा लैजान रास्वपा प्रयोग हुन सक्दैन ।”

उनले व्यक्तिगत रुपमा कसैलाई सेनाको मातहतमा चल्ने व्यवस्थालाई समर्थन गर्ने भए गर्न सकिने बताएका थिए ।

त्यसक्रममा रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले ढकालसँग प्रतिवाद गरेका थिए । उनले संसद जोगाउने, संविधान जोगाउने भन्नेले पुरानै पार्टी जोगाउने भनेको अर्थ लगाउँदै रास्वपा त्यस्तो पार्टी नभएको बताएका थिए ।

सुमना, डा. तोसिमा कार्की, असिम शाह र निशा डाँगीले दुवै सदन विघटनसहित नयाँ व्यवस्थामा जान तयार हुनुपर्ने तर्क राखेका थिए भने हरि ढकालसहित सोविता गौतमसहितले लोकतान्त्रिक व्यवस्थामा कुनै सम्झौता नहुने अडान राखेका थिए । 

त्यसक्रममा दुई नेताबीच केही भनाभनकै अवस्था आएको थियो । सहमहामन्त्रीबाट राजीनामा दिएसँगै सुमनाको बालेन समूहसँग हिमचिम बढेको विषयमा रास्वपाका धेरै नेताहरू जानकार थिए । 

पार्टीका केन्द्रीय सदस्य गणेश कार्की पनि ‘रुटिन अफ नेपाल बन्द’सहित बालेन टिमसँग निरन्तर सहकार्यमा रहेको जानकारी रास्वपामा रहेको एक पदाधिकारीले बताए । रास्वपा नेताहरूका अनुसार, सुमनाले पार्टी छाड्दिन भनेको भोलिपल्टै पार्टी छाडिन् । गणेशले पनि पार्टी छाड्दिन भन्नुभएको छ । 

ती नेताले भने, “पार्टीमा बस्ने वा छोड्ने व्यक्तिको अधिकार हो । रास्वपामा पार्टी नै छाड्ने तहको कुनै मुद्दामा विवाद छैन । पार्टीमा छाड्नु हुन्छ नै भने व्यक्तिगत उद्देश्यका कारण हो भनेर बुझ्नुपर्ने हुन्छ ।”

डा. स्वर्णिम वाग्लेले भने पार्टी लोकतान्त्रिक धारमै उभिनुपर्छ भनेका थिए । तर, त्यो संविधान र संसद नै जोगिनुपर्छ भन्नेमा स्पष्ट चाहिँ नभएको ती नेताले जानकारी दिए ।

उनले पार्टीमा विवाद जरुरी नभएको भन्दै स्वस्थ छलफलको माध्यमबाट पार्टी अघि बढ्नुपर्ने धारणा राखेका थिए । 

पछिल्लो पटकको विवाद संसद्, संविधान जोगाउने र फरक व्यवस्थामा जाने भन्ने थियो । उक्त विवाद राष्ट्रपतिले नै संसद् विघटन थरेर संविधान कायम हुनेगरी निर्णय गरेपछि सकिएको ती नेताको भनाइ छ ।

“हाम्रो पार्टी रास्वपामा कुनै विवाद छैन । जुन विषयमा हामीले विवाद गरेको थियौं, त्यो लोकतन्त्र कसरी जोगाउने भन्ने विवाद थियो,” ती नेता भन्छन्, “अब संविधान कायम राखेर नयाँ सरकार गठन भएको छ । नयाँ सरकारमा संविधानको ज्ञान भएको व्यक्तिहरू नै देखिनुभएको छ । त्यसकारण हाम्रो पार्टीमा कुनै विवाद छैन ।” 

रास्वपाका एक पदाधिकारीले रास्वपा स्थापनापछि नै विभिन्न उतारचढाब बेहोर्दै अघि बढेको पार्टी भएकाले अहिले पनि ठूलो संकट नभएको तर्क गरे । 

“पार्टीभित्र विवाद हुनु सामान्य हो,” ती नेताले भने, “तर विश्वास गर्ने वातावरण भएन । यता पनि र उता पनि भएका केही व्यक्तिका कारण अप्ठेरोजस्तो देखिएको हो । पार्टी समस्याकै तहमा पुगेको चाहिँ छैन ।” 
 

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  ०९:५०
प्रतिक्रिया दिनुहोस्