site stats
बाह्रखरी :: Baahrakhari
विदेश
राष्ट्रसंघ भन्छ– इजरायलका शीर्ष अधिकारीले गाजामा नरसंहारका निम्ति उक्साए

काठमाडौं । संयुक्त राष्ट्रसंघको एक जाँच आयोगले इजरायलले गाजामा नरसंहार गरेको र प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसहितका शीर्ष अधिकारीले त्यस्तो कार्यका निम्ति उक्साएको निष्कर्ष निकालेको छ । इजरायलले भने यो आरोपलाई ‘निन्दनीय’ भनेको छ ।

राष्ट्रसंघको प्रतिवेदनले नरसंहारको निष्कर्षलाई पुष्टि गर्न हत्या, सहायता रोक्का, जबर्जस्ती विस्थापन र एक प्रजनन क्लिनिकको विनाशका उदाहरण उद्धृत गरेको छ । यसले अधिकारवादी समूह र अरू निकायले गरेका उस्तै निष्कर्षलाई पनि समेटेको छ ।

जेनेभास्थित राष्ट्रसंघका निम्ति इजरायली राजदूत ड्यानियल मेरोनले प्रतिवेदनलाई ‘निन्दनीय’ र ‘झुटो’ भन्दै यसलाई हमासका एजेन्टले तयार पारेको आरोप लगाए । उनले पत्रकारसँग भने, “इजरायल यस जाँच आयोगले आज प्रकाशित गरेको अपमानजनक तर्कलाई पूर्ण रूपमा अस्वीकार गर्दछ ।”

इजरायल हाल हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा नरसंहारसम्बन्धी मुद्दाको सामना गरिरहेको छ । तर, युद्धलाई आत्मरक्षाको अधिकार भन्दै इजरायलले यस्ता आरोप अस्वीकार गरिरहेको छ । रोयटर्सबाट ।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्