काठमाडौं । कतारको राजधानी दोहामा सेप्टेम्बर ९ मा हमासका वरिष्ठ राजनीतिक नेताहरूलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणले नयाँ सीमा पार गरेको छ ।
यो आक्रमणमा ६ जनाको मृत्यु भएका थिए । हमासका शीर्ष नेताहरू भने बाँच्न सफल भएका थिए । तर, यो घटना खाडीका ६ वटा अरब राष्ट्रहरूमध्ये कुनै एकको सार्वभौमसत्तामाथि इजरायलले गरेको पहिलो प्रत्यक्ष आक्रमणका रूपमा चिन्हित भएको छ ।
कतारको राजधानी दोहाको व्यस्त आवासीय क्षेत्रमा भएको यो बम आक्रमण संयुक्त राष्ट्रसंघको वडापत्रको धारा २, अनुच्छेद ४ अन्तर्गत अन्तर्राष्ट्रिय आक्रामकता ठहरिने प्रकृतिको छ । यसले अक्टोबर ७, २०२३ पछिको मध्यपूर्वमा इजरायली संलग्नतामा थप वृद्धि भएको संकेत गरेको छ ।
यद्यपि, इजरायलले खाडी राष्ट्रहरूमा आश्रय लिएका व्यक्तिहरूलाई लक्षित गरेको यो पहिलो पटक भने होइन । सन् २०१० मा पनि इजरायली एजेन्टहरूले दुबईमा हमासका एक वरिष्ठ नेताको हत्या गरेका थिए, जसले खाडी–इजरायल सम्बन्धलाई वर्षौं पछाडि धकेलेको थियो । दोहामा भएको पछिल्लो आक्रमणले पनि बाँकी सम्बन्धमा गम्भीर असर गर्ने अपेक्षा गरिएको छ । साथै, दशकौँदेखि अमेरिका–खाडी सुरक्षा साझेदारीमा यसको प्रभाव पर्न सक्ने आकलन गरिएको छ ।
इजरायल–खाडी सम्बन्धको इतिहास
सन् १९४८ को युद्धमा साउदी टुकडीले भाग लिएकोबाहेक खाडी अरब राष्ट्रहरू प्रत्यक्ष सैन्य रूपमा अरब–इजरायली द्वन्द्वमा संलग्न भएनन् । तर, उनीहरूले आर्थिक सहयोग, १९७३–७४ को तेल प्रतिबन्ध र अरब लिगको बहिष्कारमार्फत आफ्नो समर्थन जनाए ।
सन् १९९० को दशकमा कतार र ओमानले इजरायलसँग व्यापारिक सम्बन्ध सुरु गर्दै कार्यालय स्थापना गरे । ओमानले त दुई इजरायली प्रधानमन्त्रीको भ्रमणसमेत स्वीकार गरेको थियो । तर, प्यालेस्टिनी क्षेत्रमा हुने हिंसाका कारण यी सम्बन्ध बारम्बार अस्थिर रहँदै आए । सन् २००० को दशकमा मस्काट र दोहामा रहेका व्यापार नियोगहरू बन्द भए ।
सन् २०१० मा दुबईमा मोसादद्वारा महमुद अल–मब्हुहको हत्या भएपछि यूएई–इजरायल सम्बन्धमा ठूलो धक्का लाग्यो । नक्कली राहदानी प्रयोग गरी गरिएको त्यो कारबाहीले दुई पक्षबीचको गोप्य संवाद वर्षौं अवरुद्ध गर्यो ।
दोहापछि निराशाजनक कूटनीतिक परिदृश्य
यस पटक सम्बन्ध सुधार झन् कठिन देखिन्छ । आक्रमण गाजामा जारी युद्ध र मध्यपूर्वमा इजरायली कारबाहीप्रति खाडी नेताहरूले व्यक्त गरेको असन्तुष्टि चर्किंदै गएको समयमा भएको हो ।
गत वर्ष इजरायलले लेबनान, सिरिया, इराक, इरान र यमनमा लक्ष्यहरू आक्रमण गरेको थियो । यस क्रममा दक्षिणी लेबनानमा ठूला विनाश, सिरियाको रक्षा मन्त्रालयमाथि बमबारी, हमासका पूर्वप्रमुख इस्माइल हानियाको हत्या, यमनको हुथी सरकारका शीर्ष नेताहरूको हत्या र इरानसँग १२ दिने युद्धजस्ता घटनाहरू कम भए ।
विशेषगरी, इरानसँगको युद्धपछि कतारस्थित अमेरिकी अल उदेइद सैन्य अड्डामाथि भएको क्षेप्यास्त्र आक्रमणले खाडीमा गहिरो असुरक्षा पैदा गर्यो । सन् १९९१ को खाडी युद्धपछि पहिलो पटक कुनै राज्यले प्रत्यक्ष खाडीको राजधानीमाथि आक्रमण गरेको यो घटना ऐतिहासिक मानिन्छ ।
कूटनीतिक ‘रेड लाइन’
इरानले कतारमा रहेको अमेरिकी अड्डामाथि गरेको आक्रमणपछि गल्फ कोअपेरेसन काउन्सिल (जीसीसी) सदस्य राष्ट्रहरूले दोहासँग ऐक्यबद्धता जनाएका थिए । साझा खतरा महसुस हुँदा जीसीसी एकजुट हुने प्रवृत्ति यसअघि पनि देखिएको थियो ।
हाल साउदी टिप्पणीकारहरूले इजरायललाई प्रमुख अस्थिरताका कारकका रूपमा चित्रण गर्न थालेका छन्, जुन पहिला इरानलाई मात्रै लक्षित गर्थे ।
यूएईका वरिष्ठ कूटनीतिक सल्लाहकार अन्वर गर्गाशले सेप्टेम्बर ९ को आक्रमणलाई विश्वासघात भनेका छन् । यसलाई ‘रेड लाइन’ मान्ने कि नमान्ने र यसले अब्राहम सम्झौता प्रभावित पार्ने कि नपार्ने भन्ने प्रश्न अझै खुला छ ।
दोहा र अन्य जीसीसी राजधानीहरूले अमेरिकी भूमिकाप्रति पनि पुनर्मूल्यांकन गर्ने सम्भावना छ । ट्रम्प प्रशासनले पूर्वजानकारी नपाएको दाबी गरे पनि खाडीमा अमेरिकी सुरक्षा प्रतिबद्धताप्रति अविश्वास बढ्ने देखिन्छ ।
सन् २०२४ मा इजरायलले हमास नेता हानियाको हत्या गर्दा उनले दोहा छोडिसकेका थिए । त्यसैले, यसअघि इजरायल अमेरिकाका सहयोगी राष्ट्रमा प्रत्यक्ष आक्रमण गर्दैन भन्ने विश्वास थियो । तर, दोहाको आक्रमणले त्यो सीमा तोडेको छ ।