काठमाडौं । सन् २०२० मा बेरुत बन्दरगाहमा भएको बम विस्फोटको अभियोगमा बुल्गेरियाले एक रुसी जहाजका मालिकलाई पक्राउ गरेको छ । पाँच वर्षअघि भएको यो शक्तिशाली विस्फोटमा २१८ जनाको ज्यान गएको थियो ।
बुल्गेरियाको राजधानीको विमानस्थलमा सीमा प्रहरी प्रमुख जाद्राभ्को सामुइलोभका अनुसार, इगोर ग्रेचुस्किन (४८) लाई सेप्टेम्बर ६ मा साइप्रसको पाफोस सहरबाट सोफिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको थियो । ग्रेचुस्किनसँग रुसी–साइप्रस दुवै देशको नागरिकता छ । उनले पक्राउको विरोध नगरेको र सहयोग गरेको जनाइएको छ । उनीबाट कुनै शंकास्पद वस्तु फेला परेको छैन ।
ती व्यक्तिमाथि गोदाममा अमोनियम नाइट्रेटको भण्डारण गरिएको सूचना पाएपछि जहाजबाटै जफत गरिएको आरोप छ ।
लेबनानका अधिकारीहरूले मंगलबार पहिलो पटक यो गिरफ्तारीको सूचना दिएका थिए । यो गिरफ्तारी इन्टरपोलको रेड नोटिसको आधारमा गरिएको थियो ।
सामुइलोवले अदालतको आदेशपछि ग्रेचुस्किनलाई अधिकतम ४० दिनको हिरासतमा राखिएको बताए । लेबनानमा सुपुर्दगी गरिनुअघि ग्रेचुस्किनका लागि आवश्यक कागजातहरू पनि माग गरिएको छ ।
लेबनानका एक न्यायाधीशले पाँच वर्षअघि इन्टरपोलमार्फत एउटा ग्रेचुस्किनका लागि र अर्को जहाजका कप्तान बोरिस प्रोकोशेभका लागि दुई गिरफ्तारी वारेन्ट जारी गरेका थिए ।
बेरुतमा ४ अगस्ट २०२० मा भएको विस्फोटमा २१८ जनाको मृत्यु भएको थियो । यस विस्फोटमा देशको मुख्य बन्दरगाह पूर्णरूपमा नष्ट भएको थियो । करिब तीन लाख मानिस घरबारविहीन भएका थिए । विस्फोटबाट करिब १० देखि १५ अर्ब अमेरिकी डलरको क्षति भएको थियो । तर, विस्फोटको सिलसिलामा कुनै पनि लेबनानी अधिकारीलाई दोषी ठहर गरिएको छैन ।
अधिकारीहरूले बन्दरगाहमा २७ सय ५० टन अमोनियम नाइट्रेटको अनुचित भण्डारण विस्फोटको मुख्य कारण भएको बताएका थिए । जुन गोदाममा आगो लागेर विस्फोट भएको थियो । त्यहाँ सन् २०१३ मा एक मालवाहक जहाजबाट बरामद गरिएको अमोनियम नाइट्रेट राखिएको थियो ।
सन् १९७७ मा जन्मेका ग्रेचुस्किनमाथि मोल्दोभाको झण्डा भएको ‘एमभी रोसस’नामक जहाजको मालिक भएको आरोप छ ।
यो जहाजलाई ४ अगस्ट २०२० मा बेरुत बन्दरगाहमा भएको विस्फोटसँग जोडेर हेरिएको छ, जसको केन्द्रमा अमोनियम नाइट्रेटको कार्गो थियो ।
अर्गनाइज्ड क्राइम एन्ड करप्सन रिपोर्टिङ प्रोजेक्टका अनुसार, सन् २०१३ को अन्त्यमा बेरुत बन्दरगाहमा एउटा जहाजमा खतरनाक सामग्री अलपत्र परेको घटनामा ग्रेचुस्किन एक प्रमुख व्यक्ति थिए । उक्त जहाज हाल पनि त्यहीँ अलपत्र अवस्थामा छ । एबीसीन्युज