काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेमा नेतृत्व परिवर्तनको दबाब बढिरहेका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने ‘सेफजोन’मा परेका छन् । पार्टीभित्रै नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठिरहेका बेला अधिकांश नेताले प्रचण्डबिनाको माओवादी कल्पना गर्न नसकिने बताएका छन् । माओवादीभित्र प्रचण्डको ठाउँ लिन सक्ने हैसियतका नेता कोही पनि स्थापित भइनसकेको उनीहरूको भनाइ छ ।
नेता अमनलाल मोदीले माओवादी सशस्त्र क्रान्तिबाट उठेको पार्टी रहेको दाबी गर्दै अध्यक्ष प्रचण्ड व्यवस्था परिवर्तनको संवाहक रहेको जिकिर गरे ।
माओवादीले नेतृत्वलाई थन्क्याउनुपर्ने कुनै कारण नभएको उनको भनाइ छ । उनले भने, “लिडरसीपको विकास अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै गर्नु भएको हो । पार्टीलाई अझै अगाडि बढाउन उहाँकै लिडरसीप आवश्यक छ ।”
एमाले–कांग्रेस नेतृत्व सरकारको रवैयाका कारण अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ । “फेसबुकलगायत सामाजिक सञ्जाल सरकारले नियन्त्रण नगरेको भए अहिलेको यो अवस्था आउने थिएन,” उनले भने ।
जतिसक्दो चाँडो चुनाव गराउन सक्दा राष्ट्रिय राजनीति बचाउन सक्ने उनको तर्क छ । कांग्रेस र एमालेमा नेतृत्वमाथि दबाब बढिरहेका बेला माओवादीले भने अध्यक्ष प्रचण्डलाई नै अगाडि बढाउने भएको हो ।
नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्कीलगायत केही नेताले नेतृत्व नै परिवर्तन हुनुपर्ने माग राख्दै आएका छन् । पार्टीभित्र देखिएका असन्तुष्टि बैठान गर्न अध्यक्ष प्रचण्डले नै वास्ता नगरेको पनि आरोप लाग्दै आएको छ ।
केन्द्रीय सदस्य रामकुमार कार्की ‘प्रचण्ड’बिनाको माओवादी अहिले कल्पना गर्न नसकिने बताउँछन् । बाह्रखरीसित उनले भने, “नेतृत्वको कार्यशैलीमाथि प्रश्न त उठेका छन् । तर माओवादीमा नेतृत्व लिन सक्ने क्षमता अझै पनि कसैले बनाइसकेको छैन । अहिलेको आवश्यकता नेतृत्व परिवर्तनभन्दा पनि परिवर्तित अवस्थालाई मध्यनजर गर्दै संगठन बलियो बनाउनु हो ।”
उनले पुस्तान्तरणको विषय उठान गर्दैमा लिडरसीप नहुने धारणा राखे । “लिडरसीप लिन सक्नुपर्छ । पुस्तान्तरणको विषय उठान गर्दैमा लिडरसीप हुँदैन । लोकतान्त्रिक पार्टीमा विभिन्न खालका विषय उठान हुन्छन् । त्यसलाई आन्तरिक रूपमा हल गर्दै लैजानुपर्छ,” उनले भने ।
अधिवेशनमा नेतृत्व परिवर्तनको विषय उठान भए त्यतिबेलै छलफलमा जुट्ने नेताहरूले भन्ने गरेका छन् । “नेतृत्व परिवर्तनको विषय कमरेड जनार्दनले उठान गर्नु भएको छ । अरुले खासै कुरा उठाएका छैनन्,” उनले थपे ।
पार्टीको प्रतिबद्धता नै लिडरसीप स्थापित गर्ने रहेको सुनाए । माओवादीलाई कमान्ड गर्ने ठाउँमा कोही पनि पुगिनसकेको पनि उनको भनाइ छ । उनले भने, “माओवादीले व्यवस्था परिवर्तनको कुरा उठान गर्दै आएको थियो । जेनजीको प्रदर्शनको एजेन्डा पनि व्यवस्था परिवर्तन नै रहेकाले ऐक्यबद्धता रहेको र सोही अनुरुप पार्टी अघि बढ्ने उनले बताए ।
क्रान्तिकारी रुपान्तरणसहित पार्टी अघि बढ्ने उनको भनाइ छ । गर्न नसकेका काम, भएका भुललाई सुधार र आत्मालोचना गर्दै माओवादी नयाँ शीराबाट अघि बढ्ने नेता राईको भनाइ छ ।
केन्द्रीय सदस्य माधव सापकोटा व्यक्ति फेर्ने कुराले निकास नहुने बताउँछन् । नेतृत्वको कार्यशैली र प्रवृतिमा परिवर्तन अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । “रुपान्तरणसहित दलहरू अपग्रेट हुनुपर्ने अवस्था आएको छ । पर्टीभित्रका आन्तरिक फोरमह उनले भने, मा तत्काल छलफल चलाउन आवश्यक छ । पद र कमिटीमै रहेर छलफल गर्नुपर्छ,” उनले भने, “विकसित घटनाले नयाँ परिवर्तन खोजेको छ । पदाधिकारी फेरेर केही हुँदैन ।”
नेतृत्व नै फेर्ने परिवर्तन गर्ने हो भने अहिलेको पदाधिकारीभन्दा बाहिरबाट आउनुपर्ने धारणा उनको छ । नेतृत्वको कार्यशैली र नेताकार्यकर्ताको मनसाय बुझ्न अपग्रेड हुनैपर्ने उनको भनाइ छ । “मासलाई छिटो बुझ्ने र गतिशिल सोचका व्यक्ति प्रचण्ड नै हुनुहुन्छ । पदाधिकारी नै नेतृत्वमा दोहोरिने हो भने त्यो चाहिँ महाधिवशेनबाटै आउनुपर्छ,” उनले थपे ।
उपमहासचिव शर्माले जेनजी प्रदर्शनको औचित्यबारे १६ बुँदामा संश्लेषण गर्दै पार्टी अध्यक्ष प्रचण्डको राजीनामा माग गरेका छन् । उनले ६ नम्बर बुँदामा भनेका छन्, “पार्टीको मूल नेतृत्वले राजीनामा दिनुपर्छ ।” जेनजी प्रदर्शनको संश्लेषण गर्दै फेरि पनि पार्टी नेतृत्वको राजीनामा माग गर्ने आड पाएका छन् ।
जेनजीको प्रदर्शनका क्रममा आगजनी भएको खुमलटारस्थित प्रचण्डको घरमा राखिएको रुपैयाँ जलेको भिडियो, फोटो सामाजिक सञ्जालमा सार्वजनिक भइरहँदा उपमहासचिव शर्माले पार्टीभित्र सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन हुनुपर्ने माग अघि सारेका छन् ।
पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले हाल विभिन्न व्यक्तिगत विचार सार्वजनिक भए पनि बैठकमा छलफल गरी निर्णय गर्ने बताए । “हामी केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारी बैठकबाट क्रमशः कसरी अगाडि बढ्ने भन्ने विषय टुंगो लगाउँछोँ । अहिले यसै भन्न सकिन्न । विभिन्न खाले विचार प्रकट भएको हामीले पनि देखिरहेका छौँ, सुनिरहेका छौँ । तर, त्यसरी सामाजिक सञ्जालमार्फत बाहिरी उनले भने, पमा विचार प्रकट गरेर निर्णय हुने हैन । बैठकले निर्णय गर्छ ।”
माओवादीले संविधान दिवस मनाउने तयारी गरेको छ । प्रवक्ता सापकोटाले भने, “संविधान दिवसका दिन अध्यक्ष ‘प्रचण्ड’ पनि बाहिर आउन सक्ने सम्भावना छ ।”
