site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस महामन्त्रीलाई जनसम्पर्क सभापतिको प्रश्न : ‘देउवाको स्वास्थ्य अवस्था कस्तो छ, तपाईंहरूले भेट्नुभयो ?’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली जनसम्पर्क समितिहरूसँग चुनावमा जाने विषयमा राय मागेका छन् ।  मंगलबार साँझ करिब पौने चार घण्टा चलेको भर्चुअल बैठकमा महामन्त्री शर्माले दुई विषयमा सुझाव मागेका थिए ।

भर्चुअल बैठकमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा पनि सहभागी हुने जानकारी जनसम्पर्क सभापतिहरूलाई गराइएको थियो ।  तर, खड्का र थापा छलफलमा सहभागी नभएको र नहुनुको कारण पनि जानकारी नगराइएको एक सभापतिले बाह्रखरीलाई बताए । 

बैठकमा भएका छलफलका विषय सार्वजनिक नगर्ने समझदारी भएकाले ती सभापतिले आफ्नो परिचय नखुलाइदिन आग्रह गरे । बैठकको संयोजन जनसम्पर्क समन्वय विभाग प्रमुख किरण पौडेलले गरेका थिए । 

कांग्रेसका नेपाली जनसम्पर्क समितिका ३७ कार्यसमिति सक्रिय रहेकोमा छलफलमा २२ सभापतिले आफ्ना भनाइ राखेका थिए । 

शर्माले प्रतिनिधिसभा विघटन गरी अन्तरिम सरकार गठन भएको र देश निर्वाचनमा जाने विषयको छलफल प्रारम्भ भएको भन्दै कांग्रेसले आगामी दिनमा के गर्दा उपयुक्त हुन्छ भनेर सुझाव मागेका थिए ।

त्यसक्रममा जनसम्पर्क सभापतिहरूको साझा भनाइ भने यसको विषयमा केन्द्रीय समितिले निर्णय गरेर पार्टीको अवधारणा बनेपछि मात्र आफूहरूले सुझाव राख्न सक्ने भन्ने रहेको ती सभापतिको भनाइ छ ।

“नागरिक ढुक्क भएर निस्कने अवस्था बन्यो ? कांग्रेसका नेता–कार्यकर्ता ढुक्कसँग सार्वजनिक ठाउँमा आफ्ना विचार राख्न सक्ने अवस्था छ ?” अधिकांश सभापतिहरूको महामन्त्रीलाई प्रश्न थियो, “पार्टी नेतृत्वमा रहेका तपाईंहरू यस विषयमा धारणा बनाइसक्नुहोस्, त्यसपछि हामी आफ्ना सुझाव राख्नेछौं ।”

महामन्त्रीले राखेका विषयमा नेपाली जनसम्पर्क समिति भारतका सभापति र पार्टी केन्द्रीय सदस्य समेत रहेका बालकृष्ण पाण्डेले आफूहरूको सुझाव विगतदेखि नै सुनुवाइ नभएका कारण देशमा गम्भीर परिस्थिति आएको भन्दै पार्टीले केही गल्ती स्वीकार गरेर मात्र फेरि पनि कांग्रेसलाई जनताले विश्वास गर्ने बताएका थिए । 

पाण्डेले ‘जेन–जी’ युवामाथि गोली चलाएपछि मानिसहरूमा एक प्रकारको आक्रोश रहेको भन्दै दलहरूले त्यसको प्रतिवाद नगरे देश गृहयुद्धतर्फ धकेलिन सक्ने अवस्था रहेको बताएका थिए । 

उनले यस्तो बेला कांग्रेसको समन्वयकारी भूमिका देशले खोज्ने गरेको बताए ।

युके सभापति युवराज गुरुङ र जापानका सभापति लालबहादुर केसीले महामन्त्रीहरूले केन्द्रीय समिति बैठकमा राख्नुको साटो फेसबुकमा लेखेका विषयमा प्रश्न उठाएका थिए । 

उनीहरूले फेसबुकमार्फत सार्वजनिक गरेको धारणाले पार्टीलाई प्रतिनिधित्व गर्छ कि गर्दैन भनेर प्रश्न गरेका थिए “तपाईंहरूले सभापतिलाई भेट्नुभयो ? उहाँको स्वास्थ्य अवस्था कस्तो छ ?,” उनीहरूको प्रश्न उद्धृत गर्दै ती सभापतिले भने, “उहाँलाई पार्टीको सद्भावको जरुरत छ कि नेतृत्वबाट विस्थापनको ?”

ती सभापतिका अनुसार, उनीहरूको प्रश्नमा महामन्त्री शर्माले भेट्न नपाएको बताए । 

उनले सभापतिलाई नभेटेको, कार्यसम्पादन जस्तै गरी केन्द्रीय समितिको बैठक नराखेको विषयमा पनि प्रश्न उठाएका थिए । 

उनीहरूले पार्टीका महामन्त्रीहरूले बैठक बोलाउने, बैठकबाट निर्णय गर्ने साटो व्यक्तिगत फेसबुकबाट राखेको धारणाले पार्टीलाई थप अन्योल बनाएको बताएका थिए । “सभापतिलाई भेटेर बैठक राख्न लागेको जानकारी दिँदै केन्द्रीय समिति बैठक राख्न र आधिकारिक धारणा सार्वजनिक गर्न के अप्ठेरो छ ?” प्रश्न गरेका थिए ।

उनीहरूले भनेका थिए, “महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत नै महामन्त्री छाड्न तयार छु भनेको देखियो । त्यो धारणा केन्द्रीय समितिपछि निर्णयका रूपमा राख्न सकिन्थ्यो कि सकिँदैनथ्यो ?” 

उनीहरूले कार्यसम्पादन समितिको आधिकारिक निर्णयमा सभापतिलाई स्वास्थ्यलाभको कामना गर्न चुकेकामा पनि प्रश्न गरेका थिए ।

“महामन्त्रीहरूको वक्तव्यमा पर्याप्त विषय राख्न तपाईंहरू किन डराउनुभयो ?” उनीहरूको भनाइ उद्धृत गर्दै ती सभापतिले भने, “किन तपाईंहरूले कार्यसम्पादन समितिको बैठकको निर्णयमा सभापतिको आक्रमणको भत्र्सना गर्न र स्वास्थ्यलाभको कामना गर्न चुक्नुभयो ?”

बहराइन सभापति पदमसुन्दर गुरुङले आफूले महामन्त्री थापाको घरमा आक्रमण हुँदैछ भनी जानकारी दिन खोजेको, तर फोनसमेत नउठाएको गुनासो गरेका थिए । “महामन्त्री गगन थापाको घरमा आक्रमण हुँदैछ भन्ने जानकारी मैले केही समयअघि नै पाएको थिएँ । महामन्त्रीलाई सुरक्षित रहनुस् भन्न फोन गरे । तर, फोन उठाउनुभएन,” गुरुङले गुनासो गरेका थिए, “महामन्त्रीहरू आफ्नै लागि गरेको फोनसमेत उठाउनुभएन भने जनतासँगको सम्बन्ध कसरी राम्रो भइरहेको होला ?”

क्यानडाका सभापति बुद्धिप्रकाश ओलीले भने पार्टी सभापतिको घरमा रहेको पैसाको विषयमा प्रश्न उठाएका थिए ।  हरेक मानिसले आफूलाई त्यस विषयमा प्रश्न गरिरहेकाले आधिकारिकता के हो भन्ने जवाफ उनले पाउन सकेनन् ।

“सभापतिको घरमा भेटिएको भनिएको पैसाको आधिकारिकता के हो ? हामीलाई मानिसहरूले सोधिरहेका छन्, के जवाफ दिने हो ?” उनको प्रश्नको जवाफमा महामन्त्री शर्माले भनेको उद्धृत गर्दै ती सभापतिले भने, “आधिकारिकता कि अनुसन्धानले बताउन सक्छ, कि सभापतिले नै भन्न सक्नुहुन्छ ।”

‘जेन–जी’ का प्रदर्शनकारीले युवालाई नेतृत्व हस्तान्तरणको आवाज उठाएपछि कांग्रेस महामन्त्रीहरूले पार्टी पुनर्गठनमा सघाउन आग्रह गरेका छन् । महामन्त्री गगन थापाले त संविधान दिवस असोज ३ को ‘डेटलाइन’ तोकेर पार्टी पुनर्गठनको अभियान चलाउने भन्दै आफू महामन्त्रीबाट हट्न तयार रहेको बताएका छन् । 

तर, कांग्रेसभित्रको संयन्त्रले भने महामन्त्रीले बैठक राख्ने र आधिकारिक निर्णय सार्वजनिक गर्नुपर्ने भन्दै महामन्त्रीको भूमिकामै प्रश्न उठाइरहेको छ । 

विदेशस्थित जनसम्पर्क समितिबाट देखिएको संकेतले पनि अप्ठेरो अवस्थाको सङ्केत गरिरहेको छ । ती सभापतिको भनाइलाइ खण्डन गर्दै सचिवालयले भने त्यस्तो प्रश्न नउठेको दाबी गरेको छ । सचविालयका अनुसार केही जनसम्पर्क सभापतिहरले संविधान विपरीत प्रतिनिधिसभा विघटन भएकाले पुनःस्थापना गर्नुपर्ने धारणा राखेका थिए । 
अधिकांशले नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले ताजा जनादेशको विपक्षमा उभिन नहुने धारणा राखेका थिए । तर, निर्वाचन तटस्थ र भयरहित हुन्छ हुँदैन भन्ने सुनिश्चितता भने गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गरेका छन् । 

शेरबहादुर देउवा २०४८ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै संसद् छिरेका हुन् । २०५२ साल भदौमा प्रधानमन्त्री भएयता पाँचपटक प्रधानमन्त्री भइसकेका देउवा २०७२ सालमा मात्र सभापति निर्वाचित भएका हुन् । 

उनको सभापति कार्यकाल दुई मात्र देखिए पनि राजनीतिक नेतृत्वमा लामो समय रहेको भन्दै कांग्रेसभित्र र बाहिर प्रश्न उठिरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्