काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाली जनताले रोजेको राजनीतिक र विकासको बाटोलाई चीनले सम्मान गर्ने बताएका छन् । ‘जेनजी’ प्रदर्शनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग बिहीबार (असोज २) गरेको शिष्टाचार भेटका क्रममा चिनियाँ राजदूतले उक्त कुरा बताएका हुन् ।
“नेपाली जनताले रोजेको राजनीतिक र विकासको बाटोलाई चीनले सम्मान गर्ने बताउँदै उहाँले विकास र समृद्धिको आकांक्षामा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो,” भेटवार्तापछि परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ ।
नेपालका लागि चीनका राजदूत चेन सोङले बिहीबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका थिए ।
परराष्ट्र मन्त्रालयका अनुसार, भेटका क्रममा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्ने र पारस्परिक रूपमा लाभदायक सहयोग प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो ।
चिनियाँ राजदूतले चीन सरकारको तर्फबाट नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा कार्कीलाई बधाई दिएका थिए ।