site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सर्वोच्च अदालत : त्रिपालमै मुद्दा दर्ता, टेन्टमुनि सुनुवाइ

काठमाडौं । जेनजी आन्दोलनका बेला आगजनी गरी ध्वस्त पारिएको सर्वोच्च अदालतमा बिहीबार पहिलोपटक सुनुवाइ भएको छ । आगो लागेपछि फाँट, इजलास, मिसिल, अभिलेख र सर्भरसहित भवनसमेत जीर्ण भएपछि बिहीबार त्रिपालमुनि सुनुवाइ भएको हो । 

सर्वोच्च परिसरमा त्रिपालमुनि मुद्दा दर्ता चलिरहेको छ ।  त्यसकै छेउमा छाता आकारको टेन्ट इजलास खडा गरिएको छ । त्यही इजलासमा बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार रेग्मीले पालैपालो सुनुवाइ गरेका हुन् ।

बाँके जिल्लाको मुद्दा उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलासको फैसलाविरुद्ध बन्दी प्रत्यक्षीकरण मुद्दा थियो ।  काठमाडौं घर भएका एक व्यक्तिले नेपालगञ्जमा किनेको जग्गा राखेर बैंकबाट एक करोड ऋण लिएका थिए ।

उक्त ऋणले नपुगेपछि थप १६ लाखको माग गर्दै अर्को निवेदन दिए । त्यसबेला उनलाई १६ लाख नभएर ९ लाख मात्र लोन स्वीकृत भयो । उनले ९ लाखले नपुग्ने भन्दै १६ लाखकै लागि आग्रह गरेपछि घटनामा ‘ट्वीस्ट’ आउँछ । 

उनले किनेको जग्गा वास्तविक जग्गाधनीको नभएर अन्य कसैले बेचेको खुलेपछि मुद्दा पर्छ । जिल्ला अदालतले बेच्ने नक्कली जग्गाधनी मात्र नभएर किन्ने व्यक्तिलाई पनि थुनामा पठाइदियो । 

आफूले इमान्दारीपूर्वक जग्गामा लगानी गरेको र मालपोतबाट पास गरी बैंकबाट ऋणसमेत लिएकामा कीर्ते गरेको आरोपले आफू अन्यायमा परेको भन्दै ७३ नम्बर निवेदन उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलासमा पर्यो ।

नेपालगञ्ज इजलासले पनि जिल्लाको आदेश सदर गरेपछि गत भदौ १८ मा सर्वोच्चमा ७३ नम्बर निवेदन पर्यो । निवेदन परेको छ दिनमै सर्वोच्च अदालत जलेपछि उक्त निवेदन पनि नष्ट भएको थियो ।

अधिवक्ता वीरेन्द्र पाठकले पुनः मंगलबार सर्वोच्चमा निवेदन दिए । बुधबार बिदा परेकाले उक्त निवेदनमा सोमबार वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लको इजलासमा सुनुवाइ भएको हो । 

इजलासले कागजात झिकाउने र फाइल पक्षबाटै झिकाउने आदेश गरेको छ । 

“पक्षबाटै फाइल झिकाउने आदेश पहिलोपटक भएको हो,” अधिवक्ता पाठकले बाह्रखरीसँग भने, “सर्वोच्चका सबै रेकर्ड जलेर नष्ट भएकाले प्रमाण संकलन गर्न यस्तो अभ्यास सुरुवात भएको हो ।”

उनले उच्च अदालतबाट पनि प्रमाण झिकाएर अर्को सुनुवाईमा आदेश हुने बताए । 

उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलास र जिल्ला अदालत बाँके दुबै आन्दोलनकारीले आगो लगाउँदै ध्वस्त भएकाले फाइल पक्षबाटै झिकाउने आदेश गर्नुपरेको हो । अर्को मुद्दा पनि जग्गाकै किर्तेसम्बन्धी थियो । रुपन्देहीको मुद्दा जिल्ला, उच्च हुँदै सर्वोच्च आइपुगेको हो । 

जग्गाको कीर्तेमा संलग्न फुत्कँदै जाँदा कागजात साथमा भएका दुई जना किसान थुनामा रहेको भन्दै पीडितलाई थप पीडा भएको मुद्दा सर्वोच्चमा ल्याएको अधिकारकर्मीसमेत रहेकी अधिवक्ता मोहना अन्सारीले जानकारी दिइन् ।

“जो वास्तविक रुपमा किर्ते गर्ने व्यक्तिहरू थिए तीन जना, उनीहरू छुटिसकेका छन् । जो निर्दाेष भएकाले आफ्नो नागरिकता दिएका थिए ती किसान थुनामा छन्,” अन्सारीले भनिन्, “उहाँहरूलाई पनि बाहिर बसेर मुद्दा लड्ने गरी आदेश माग गरेर यहाँ निवेदन परेको हो ।”

उक्त मुद्दा न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाई भयो । रेग्मीको इजलासले पनि मिसिल झिकाउनेसहित कारण देखाऊ आदेश जारी गरेको छ । रुपन्देहीको जिल्ला अदालत र उच्च अदालतको तुल्सीपुर इजलास दुवैमा आगलागीमा परेको छ । 

संयोगले उक्त मुद्दाको मिसिल नजलेको हुँदा मिसिल झिकाउने आदेश कार्यान्वयन हुने अवस्था बनेको अधिवक्ता अन्सारीले बताइन् । सर्वोच्च अदालतमा २८ हजार मुद्दा विचाराधीन थिए । तर, २४ गते जलेर नष्ट भएपछि अब ती सबै मुद्दाका मिसिल पक्षबाटै झिकेर खडा गर्नुपर्ने अवस्था छ ।

सर्वोच्चका सबै न्यायाधीशहरूको ‘फुलकोर्ट’ बैठकबाट बन्दी प्रत्यक्षीकरणका मुद्दाको सुनुवाई त्रिपालमै भएपनि सुरु गर्ने र अन्य प्रकृतिका मुद्दामा पक्षहरूबाटै मिसिल झिकाएर प्रमाणीकरण गरी रेकर्ड तयार पार्ने निर्णय भएको छ ।

उक्त निर्णयका आधारमा आजदेखि बन्दी प्रत्यक्षीकरणका मुद्दामा त्रिपालमै सुनुवाई सुरु भएको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । 

प्रवक्ता कोइरालाका अनुसार, सर्वोच्चका कागजात तथा सम्पत्ति जलेर धेरै ठूलो क्षति त भएकै छ । त्यसबाहेक सर्वोच्चबाट चोरीसमेत भएको छ । कम्प्युटर, ल्यापटप, कुर्सीसहितका सामग्री चोरीसमेत भएकाले सर्वोच्च स्रोत–साधनविहीन बनेको हो ।

सर्वोच्चबाहेक विशेष अदालत, सात उच्च अदालत र १४ जिल्ला अदालत गरी २३ अदालत आन्दोलनको निसानामा परेका छन् । ती अदालतमा के/कति क्षति भयो भन्ने यकिन विवरण तयार भइनसकेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

अदालतमा कम्पाउण्ड वाल, सामान्य सुरक्षाकर्मीहरूको उपस्थिति भएपनि अदालतको बल नागरिकको विश्वास नै हो । तर, नागरिक आन्दोलनकै क्रममा सर्वोच्चसहित २३ अदालत जल्नुले हाम्रो समाजको चरित्रमा प्रश्न उठेको नेपाल बार एशोसिएनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्र बताउँछन् ।

“जेनजी आन्दोलनसम्म आइपुग्नुमा थुप्रै लामो पृष्ठभूमि होला । आन्दोलन अराजक बन्नुका पछाडिका कारणमा पनि म गइनँ,” अध्यक्ष मिश्रले बाह्रखरीसँग भने, “नेपाली समाजको मूल चरित्र सहिष्णुता हो । विध्वंश नेपाली समाजको चरित्र हुँदै होइन । तर, यसपटकको आन्दोलन ऐतिहासिक रुपमा विध्वंशक भएको छ ।”

विध्वंशसम्म पुग्नुका कारणसहित त्यसपछाडिका कारणहरूमा गहिरो अध्ययन गरी उचित निर्णय आवश्यक रहेको उनको सुझाव छ ।

वरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का ८३ वर्षको उमेरमा पनि सक्रिय वकालतमा छन् । सर्वोच्च परिसरमै भेटिएका खड्काले सर्वोच्चको भवन, गाडी, इजलास, कुर्सीसहितका फर्निचरसहितका सम्पत्तिभन्दा धेरै ठूलो क्षति आगलागीबाट अभिलेख जलेर भएको बताए ।

“अदालत त जनआस्थाको धरोहर हो । यो भवन त सरकारसँग पैसा भएन भने तपाईं–हाम्रो सहयोगबाट पनि ठडिइहाल्छ । त्यही पनि सर्वोच्चका भव्य भवन तयार हुँदैछ,” खड्काले बाह्रखरीसँग भने, “त्यहाँ जलेका फर्निचर, कम्प्युटर, सजावटका सामग्री यी सब त तत्कालको आर्थिक क्षति मात्र हुन् । त्यहाँ जलेका अभिलेखहरू भने पूर्ति गर्नै नसकिने क्षति हो ।”

उनले सर्वोच्च अभिलेख अदालत पनि भएको भन्दै कतिपय प्रमाणहरू अब कहिल्यै नभेटिने गरी नष्ट भएको बताए ।

“उदाहरणका लागि कपाली तमसुकलाई लिन सकिन्छ । अब कपाली तमसुकका सक्कल कपी कहाँ खोजेर पाउनु ?,” खड्काले भने, “त्यो मिसिलहरूमै राखेर अभिलेखमा थियो । त्यस्ता कागजात अब सदाका लागि नष्ट भएका छन् ।”

खड्काका अनुसार, हाल ट्राफिक प्रहरीको हेड–अफिस रहेको स्थानबाट सर्वोच्च अदालत सुरु भएको थियो । त्यहाँबाट हाल विशेष अदालत रहेको स्थान हुँदै रामशाहपथ पुगेको हो, सर्वाेच्च अदालत । 

सर्वाेच्चको मूल भवन ०७२ सालको भूकम्पमा जीर्ण बनेपछि धेरै ठूलो बजेट लगाएर ‘रेट्रोफिटिङ’ गरिएको थियो ।

उक्त भवन जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते जलेपछि पूर्णरुपमा जीर्ण बनेको छ । अब उक्त भवन वैकल्पिक प्रयोगका लागि समेत अयोग्य हुनसक्ने सर्वोच्च प्रशासनको अनुमान छ ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्