काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की बिहीबार (असोज २) कूटनीतिक भेटवार्तामा व्यस्त भइन् । उनले बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरिन् । नेपालका लागि चिनियाँ र अमेरिकी राजदूतले उनीसँग शिष्टाचार भेटवार्ता गरे ।
यी सबै कूटनीतिक भेटवार्तामा प्रधानमन्त्री कार्कीले प्राप्त गरेको सन्देश एउटै थियो– पछिल्लो राजनीतिक परिवर्तनलाई समर्थन र सहयोगलाई निरन्तरता ।
कूटनीतिका हिसाबले नेपालको लागि सबैभन्दा महत्त्वपूर्ण राष्ट्र हुन्– भारत, चीन र अमेरिका । भारत र चीन छिमेकी राष्ट्र हुन् भने अमेरिका दुरीका हिसाबले केही टाढा भए पनि सम्बन्धमा भारत र चीनभन्दा पर छैन ।
तीन शक्ति राष्ट्र भारत, चीन र अमेरिकाले बिहीबार प्रधानमन्त्री कार्कीलाई ‘जेनजी’को प्रदर्शनले ल्याएको परिवर्तनलाई स्वीकार्दै विगतमा नेपाललाई दिँदै आएको सहयोगलाई निरन्तरता दिने स्पष्ट सन्देश दिएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन वार्तामा नेपालमा शान्ति र स्थिरता पुनर्स्थापना गर्ने प्रधानमन्त्री कार्कीको प्रयासमा समर्थन जनाएका थिए ।
“हालै नेपालमा भएको दुःखद मृत्युप्रति समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थन रहेको पुनः पुष्टि गरेँ,” प्रधानमन्त्री कार्कीसँग टेलिफोन वार्ता गरेपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
प्रधानमन्त्री कार्कीसँग सौहार्दपूर्ण रूपमा कुराकानी भएको उनले जनाएका छन् । संविधान जारी गरेको दिन अर्थात् असोज ३ गते नेपालले संविधान दिवस र राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको छ । मोदीले राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिएको पनि उल्लेख गरेका छन् । “मैले भोलि (शुक्रबार) राष्ट्रिय दिवसमा उहाँ र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गरेँ,” मोदीले भनेका छन् ।
फोन वार्तामा प्रधानमन्त्री कार्कीले भारतीय समकक्षी मोदीलाई वर्तमान नेपाल सरकारको उच्च प्राथमिकतामा निर्वाचन रहेको स्पष्ट सन्देश दिएकी थिइन् ।
आगामी फागुन २१ गतेलाई घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन सरकारको सबैभन्दा बढी प्राथमिकतामा रहेको उनले बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार, प्रधानमन्त्री कार्कीले टेलिफोन वार्तामा हालैको जेनजी प्रदर्शनका बारेमा भारतीय समकक्षीलाई जानकारी गराएकी थिइन् ।
सोही क्रममा उनले जेनजी प्रदर्शनकारीको मागलाई सम्बोधन गर्दै वर्तमान सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई उच्च प्राथमिकतामा राखेको बताएकी थिइन् ।
टेलिफोन वार्तामा प्रधानमन्त्री कार्कीले आफू जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासनको लागि दृढ संकल्पका साथ अघि बढ्ने बताइन् । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल सरकारको प्राथमिकताअनुसार पूर्ण समर्थन र सहयोगको आश्वासन दिएका थिए ।
टेलिफोन वार्तामा भारतीय प्रधानमन्त्री मोदीले नेपालको पहिलो महिला प्रधानमन्त्री भएकोमा कार्कीलाई बधाई दिएका थिए । कुराकानीका क्रममा भारतीय प्रधानमन्त्रीले केही दिनअघि युवाहरूको प्रदर्शनमा ज्यान गुमाउनेहरूप्रति श्रदाञ्जली व्यक्त गर्दै यस महत्त्वपूर्ण घडीमा भारत नेपालसँग एकतावद्ध भएर उभिएको बताएका थिए ।
प्रधानमन्त्री कार्कीले नेपाल र भारतबीचको ऐतिहासिक, घनिष्ठ, बहुआयामिक, जनता–जनताबीचको सम्बन्ध अझ सुदृढ हुँदै जाने कुरा व्यक्त गरेकी थिइन् । दुवै प्रधानमन्त्रीले दुई देशका जनताको हितका लागि द्विपक्षीय सहयोग र साझेदारीको गतिलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याएका थिए ।
बिहीबार नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री कार्कीसँग सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका थिए । प्रधानमन्त्री कार्कीलाई भेट्न पाउँदा खुसी व्यक्त गर्दै चिनियाँ राजदूतले भेटमा बधाई र समर्थन प्रदान गरेको जनाएका छन् । “हामीले विचार आदानप्रदान गर्यौं र हाम्रो मित्रता र सहयोगलाई अझ प्रवर्द्धन गर्न सहमत भयौँ,” राजदूत चेन सोङले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
भेटमा चिनिया राजदूत चेन सोङले नेपाली जनताले रोजेको राजनीतिक र विकासको बाटोलाई चीनले सम्मान गर्ने बताएका थिए । “नेपाली जनताले रोजेको राजनीतिक र विकासको बाटोलाई चीनले सम्मान गर्ने बताउँदै उहाँले विकास र समृद्धिको आकांक्षामा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो,” भेटवार्तापछि परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार, भेटघाटको क्रममा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्ने र पारस्परिक रूपमा लाभदायक सहयोग प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो । चिनियाँ राजदूतले चीन सरकारको तर्फबाट नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा कार्कीलाई बधाई दिएका थिए ।
यस्तै, नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले पनि अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग बिहीबार सिंहदरबारमा शिष्टाचार भेट गरेका थिए । “आज मैले नेपालका अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेँ । हालैका विरोध प्रदर्शनहरूमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मैले नेपालको शान्तिपूर्ण र लोकतान्त्रिक बाटोमा अगाडि बढ्नेप्रति अमेरिकाको समर्थनलाई पनि पुनः दोहोर्याएँ,” भेटवार्तापछि नेपालका लागि अमेरिकी राजदूत थप्पसनले भनेका छन् ।
अमेरिका र नेपालबीच ७८ वर्षभन्दा अघिदेखिको साझेदारीलाई स्मरण गर्दै भेटमा व्यापार, आर्थिक वृद्धि र विपद् व्यवस्थापनका विषयमा छलफल भएको थियो । “नेपालकै सबैभन्दा रूपान्तरणकारी पूर्वाधार साझेदारीका रूपमा रहेको एमसीसी सम्झौताका प्राथमिकताहरूमा छलफल गर्नुभयो, जसले अमेरिका र नेपाललाई अझ सुरक्षित, सबल, र समृद्ध बनाउन सहयोग पुर्याउँछ,” अमेरिकी दूतावासले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
परराष्ट्र मन्त्रालयले भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको जनाएको छ । “अमेरिकी राजदूतले नेपालको विकास आकांक्षामा अमेरिकी सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो,” परराष्ट्र मन्त्रालयले जनाएको छ ।
