site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लन्डनबाट फर्किंदा ट्रम्पको हेलिकोप्टरमा प्राविधिक गडबडीपछि आकस्मिक अवतरण

काठमाडौं । बेलायतको राजकीय भ्रमण सकेर फर्किंदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्ट्यान्स्टेड विमानस्थल लैजाँदै गरेको उनको हेलिकोप्टर एक स्थानीय विमानस्थलमा गैरनिर्धारित अवतरण गराउनुपरेको ह्वाइट हाउसले बताएको छ ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी कैरोलिन लिभिटले सामान्य हाइड्रोलिक समस्याका कारण हेलिकोप्टरलाई स्थानीय विमानस्थलमा अवतरण गराइएको बताइन् ।

त्यसपछि ट्रम्प २० मिनेट ढिलो गरी स्ट्यान्स्टेड पुगेका थिए । उनले यो निर्णय अत्यधिक सावधानी अपनाएर लिइएको र राष्ट्रपति तथा प्रथम महिला सुरक्षित रूपमा अर्को हेलिकोप्टरमा चढेको बताइन् ।

अवतरणपछि लुटन विमानस्थलको धावनमार्गमा आपतकालीन सेवाका गाडीहरू देखिएका थिए । छुट्टै तस्बिरहरूमा मरिन वन र मरिन टु भनिने ट्रम्पका दुवै हेलिकोप्टर लुटनको धावनमार्गको छेउमा देखिएका थिए ।

मरिन वन र मरिन टु विशेष रूपमा परिमार्जित विमानहरू हुन्, जसलाई तिनीहरूको बाहिरी आवरणका कारण ह्वाइट टप्स पनि भनिन्छ । 

यी विमानहरूमा क्षेप्यास्त्र प्रतिरक्षा र राडार ज्यामिङ प्रणाली जडान गरिएको छ । साथै, आणविक विस्फोटको इलेक्ट्रोम्याग्नेटिक पल्सको सामना गर्नसक्ने इलेक्ट्रोनिक्स पनि यसमा रहेका छन् । सुरक्षा उपायको रूपमा, ‘मरिन वन’ प्रायः समान हेलिकोप्टरहरूको समूहमा उड्छ, जसले ब्याकअपको काम गर्छ । 

यससँगै प्रायः दुई वा तीनवटा ओस्प्रे एमभी–२२क पनि हुन्छन् । यी टिल्ट–रोटर विमानहरूलाई ग्रिन टप्स पनि भनिन्छ । यिनीहरूले हेलिकोप्टरको ठाडो अवतरण क्षमता र हवाई जहाजको उडान गति र दक्षतालाई मिलाएर काम गर्छन् ।
 
ओस्प्रेहरूले सहयोगी कर्मचारी, विशेष बल र सेक्रेट सर्भिसका एजेन्टहरू बोक्छन्, जसलाई उडानका बेला हुने कुनै पनि आपतकालीन स्थितिको सामना गर्ने जिम्मेवारी दिइएको हुन्छ । 

ट्रम्पले बेलायतको अभूतपूर्व दोस्रो राजकीय भ्रमणका क्रममा विभिन्न स्थानहरूमा यात्रा गर्न मरिन वन हेलिकोप्टरको प्रयोग गरिरहेका थिए ।

ट्रम्पको बेलायत भ्रमणका मुख्य घटनाहरू :
उनी मंगलबार राति स्ट्यान्स्टेड पुगेका थिए । त्यहाँबाट लन्डनको केन्द्रमा रहेको अमेरिकी राजदूतको आधिकारिक निवास विनफिल्ड हाउसमा उडाइएको थियो ।
 
भोलिपल्ट, राष्ट्रपति ट्रम्प र उनकी पत्नी विन्डसर क्यासलमा गए, जहाँ उनीहरूले राजा र रानीलाई भेटेका थिए । बिहीबार, ट्रम्पलाई विन्डसरबाट चेकर्समा लगियो जहाँ उनले बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मरसँग कूटनीतिक वार्ता गरे ।
 
चेकर्समा आयोजित संयुक्त पत्रकार सम्मेलनमा, दुई नेताले युक्रेन, गाजा र गैरकानुनी आप्रवासनजस्ता विभिन्न मुद्दाहरूमाथि कुरा गरेका थिए । 

ट्रम्पले बेलायतले गैरकानुनी आप्रवासनको समस्यालाई सेनाको सहयोगमा समाधान गर्नसक्ने सुझाव दिएका थिए ।

ट्रम्पले प्यालेस्टिनी राष्ट्रको स्थितिको विषयमा प्रधानमन्त्री स्टार्मरसँग आफ्नो असहमति रहेको बताएका थिए । स्टार्मरले अर्को हप्ता न्युयोर्कमा हुने संयुक्त राष्ट्र महासभाअघि प्यालेस्टिनी राष्ट्रलाई मान्यता दिने योजना बनाएका छन् । बीबीसी
 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ०७:२०
प्रतिक्रिया दिनुहोस्