site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पार्टीको नेतृत्व फेर्न प्रचण्ड तयार छन् ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्व हस्तान्तरणको लागि तयार रहेको बताएका छन् । शुक्रबार (असोज ३) संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, “जेनजी आन्दोलन भएका कारणले मात्र हैन, गएको केन्द्रीय समितिको बैठकमा र स्थायी समितिको बैठकमा पनि एउटा निश्चित विधि अपनाएर नेतृत्व हस्तान्तरणबारे पनि सोच्नुपर्छ भनेर मैले नै कुरा राखेको छु भनेर यस ऐतिहासिक दिनमा भन्न चाहन्छु ।”

नेतृत्व हस्तान्तरणबारे बहस अगाडि बढाउर्ने विषय आफूले स्थायी समिति बैठकमा भनिसकेको उल्लेख गरे । “निश्चित विधि, प्रक्रियामार्फत् पार्टीको ऐतिहासिक विरासत बल्ल नेपालको इतिहासमा हामीले बनाएको मानकलाई कमजोर नपार्ने गरी, पार्टीको एकता केन्द्रीकरणलाई कमजोर नपार्ने गरी नेतृत्व हस्तान्तरणबारे बहस अगाडि बढाउनु पर्छ भनेर स्थायी समितिमा भनिसकेको छु,” उनले भने । 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “गलत तरिकाले आफ्नो इतिहास, गौरव र विरासतलाई अपमानित हुने ढंगले प्रतिक्रियावादीले फाइदा उठाउने ठाउँ नदिइकन हामीले त्यो काम पूरा गर्नुपर्नेछ ।” 

नयाँ इतिहास बनाउने शक्ति माओवादी केन्द्र नै हो भनेर पुष्टि गर्ने चुनौती आएको पनि उनको भनाइ छ । हजारौँ, लाखौँ जेनजी पुस्ताहरूको भावना, त्याग र बलिदानलाई समर्थन गर्न सक्ने पार्टी माओवादी नै हो भनेर प्रमाणित गर्नुपर्ने चुनौती रहेको पनि उनले उल्लेख गरे ।

माओवादीका एकाध नेताबाहेक अधिकांशले पार्टीको अध्यक्षमा प्रचण्डबाहेक अन्य विकल्प हुनै नसक्ने बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्