काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद् विघटन गरिएको बताएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपतिको सरकारी निवास शितलनिवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।
मुलुक फेरि नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको उल्लेख गर्दै उनले नयाँ जनादेशले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको अगामी बाटो तय गर्ने विश्वास समेत व्यक्त गरे । अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नुपर्ने बताए ।
उनले जेनजी आन्दोलनको क्रममा राष्ट्रले भोगेको क्षतिको पुर्ननिर्माण अहिलेको मुख्य कार्यभार रहेको उल्लेख गरे । अबको ६ महिनाभित्रमा निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गर्न समेत आग्रह गरे । राजनीतिक दल, मुुलुकको शासन तथा व्यवस्थापनमा आबद्ध निकाय र बौद्धिक समुदायलाई असहमति र द्वन्द्व नभई पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यका साथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गरे ।
"हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जान्छ भन्ने मेरो दृढ विश्वास छ । म आफैँ पनि १७ वर्षको कलिलो उमेरमा २०१७ सालमा प्रजातन्त्रको लागि राजनीतिमा होमिएको थिएँ । परिस्थितिले मलाई भदौ २४ गतेपछि उत्पन्न राजनीति अफ्ठ्यारो र रिक्तता सम्हाल्ने ठाउँमा ल्याएर राखेको छ । र, सबैको सुझबुझ र सहयोगका कारण हामीले यो असहज परिस्थितिलाई सम्हालेका छौँ । लोकतन्त्र र संविधानको भावना, नवपुस्ताको परिवर्तनको सपना र जनचाहानाअनुसार तत्कालीन समयमा जेजति गर्न सकिन्थ्यो हामीले गरेका छौँ," राष्ट्रपति पौडेलले भने ।
उनले जेनजी पुस्ताको आन्दोलनमा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै परिवारजनमा गहिरो समवेदना समेत व्यक्त गरे ।