काठमाडौं । पछिल्ला दिनहरूमा कमला ह्यारिसले लेखेको किताबको निकै चर्चा भइरहेको छ । यसमा राष्ट्रपति चुनावको प्रचारका क्रममा र ह्यारिसको व्यक्तिगत जीवनबारे धेरै महत्त्वपूर्ण खुलासाहरू गरिएका छन् ।
ह्यारिसले आफ्नो किताब ‘१०७ डेज’मा, ट्रम्पसँग राष्ट्रपति चुनावमा पराजय भोग्दा आफूलाई विश्वास नै नलागेको र सबै कुरा समाप्त भएजस्तो महसुस भएको अनुभव सुनाएकी छन् । उनले किताबमा आफू मुस्किलले सास फेरेको र मनमनै ‘हे भगवान, अब हाम्रो देशको के होला ?’ भनेर प्रश्न गरिरहेकी थिइन् भन्ने उल्लेख गरेकी छज् ।
जो बाइडेन अमेरिकीराष्ट्रपतीय चुनावको दौडबाट हटेपछि कमला ह्यारिस डेमोक्रेटिक पार्टीतर्फबाट राष्ट्रपति उमेदवार बनेकी थिइन् । किताबमा उनले बाइडेनको क्षमतामा आफूलाई कुनै शंका नभएको भए पनि ८१ वर्षको उमेरले उनलाई थकाइले ग्रस्त बनाएको स्पष्ट उल्लेख गरेकी छन् ।
उनले ट्रम्प र बाइडेनबीचको पहिलो बहसमा बाइडेनको बोली अल्मलिएको र निकै थाकेका देखिएको उल्लेख गर्दै त्यतिबेला आफूलाई बाइडेन पार्टीको उमेदवारका लागि उपयुक्त नलागेको पनि बताएकी छन् ।
कमलाले बाइडेनसँगको सहकार्यबारे किताबमा सकारात्मक पक्षहरू प्रशस्त लेखेकी छन् । केही क्षणमा दुईबीच मतभेद भएको प्रसंगहरू पनि समावेश छ ।
जब बाइडेनलाई राष्ट्रपति पदको दौडबाट हटाउने चर्चा चलिरहेको थियो, त्यतिबेला बाइडेनकी पत्नीले ह्यारिसलाई बाइडेनसँग वफादारीबारे प्रश्न सोधेको कुरा किताबमा उल्लेख छ । उनले आफू बाइडेनप्रति वफादार छु कि छैन भन्ने आशयको प्रश्न सोधिएको खुलासा गरेकी छन् ।
आफ्नो चुनावी प्रचार अभियानका क्रममा ‘द भ्यु टक’ कार्यक्रममा सहभागी हुँदा आफूले गल्ती गरेको पनि ह्यारिसले किताबमा स्वीकार गरेकी छन् । अन्तर्वार्तामा कार्यक्रमका सञ्चालकले पछिल्ला चार वर्षमा तपाईं बाइडेनभन्दा के फरक गर्नुहुन्थ्यो भनेर सोध्दा आफू निशब्द भएकी र जवाफ दिन नसकेको उनले उल्लेख गरेकी छन् ।
ह्यारिसले किताबमा लेखेकी छिन्, “त्यो पल थियो, जसले हामीलाई ट्रम्पको चुनावी अभियान टोलीलाई घेर्ने मौका दियो । त्यो अन्तर्वार्तामा मैले ‘ह्यान्ड ग्रेनेड’ को पिन तानेको नै थाहा पाएकी थिइनँ ।”
कमला ह्यारिसका अनुसार, बाइडेनप्रति घृणा गर्ने धेरै मानिस भएकाले उनीसँगको आफ्नो सम्बन्धकै कारण चुनावी नोक्सान बेहोर्नुपरेको पनि किताबमा दाबी गरिएको छ ।
किताबमा उनले सुरुमा इन्डियानाका पूर्वमेयर पीट बुटिगिगलाई उपराष्ट्रपति उमेदवार बनाउन चाहेको तर उनको समलैंगिक पहिचानकै कारण जोखिम लिन नचाहेको उल्लेख छ । त्यसपछि जोश सपिरोको नाममा छलफल भए पनि अनुभव पर्याप्त नदेखिएकाले अन्ततः मिनेसोटाका गभर्नर टिम वाल्जलाई छनोट गरिएको खुलासा छ । तर अहिलेका उपराष्ट्रपति जेडी भान्ससँगको बहसमा वाल्जको प्रदर्शन कमजोर भएको पनि किताबमा उल्लेख छ ।
चुनाव प्रचारका क्रममा हमला भएपछि ह्यारिसले ट्रम्पलाई फोन गरेको प्रसंग पनि किताबमा छ । उनले ट्रम्पमा आफ्ना प्रतिद्वन्द्वीप्रति समेत चापलूसी गर्ने बानी रहेको खुलासा गरेकी छन् ।
कुराकानीमा ट्रम्पले आफू अब कमला ह्यारिसबारे नराम्रो कुरा नबोल्ने र आफ्नी छोरी इभान्का ह्यारिसकी ठूलो प्रशंसक रहेको बताएका थिए । त्यसपछि आफू ट्रम्पको क्षमताबाट अचम्मित भएको पनि ह्यारिसले किताबमा लेखेकी छन् । तर उनले ट्रम्पलाई झुटो बोल्न र चाप्लुसी गर्न माहिर भएको स्पष्ट टिप्पणी पनि गरेकी छन् ।