site stats
बाह्रखरी :: Baahrakhari
विदेश
साइबर आक्रमणका कारण युरोपका प्रमुख विमानस्थलमा चेक–इन प्रणाली ठप्प

काठमाडौं । युरोपका धेरै विमानस्थलमा चेक–इन र बोर्डिङ प्रणालीलक्षित साइबर आक्रमण गरिएको छ । आक्रमणका कारण युरोपभरि हवाई यातायात अवरुद्ध भएको रोयटर्सले जनाएको छ ।

शनिबार धेरै उडानमा ढिलाइ भएको थियो । युरोपका धेरै प्रमुख विमानस्थलमा चेक–इन प्रणाली ठप्प भएको छ । हाल केवल म्यानुअल चेक–इन र बोर्डिङको व्यवस्थाका कारण उडानको समयतालिकामा असर परेको छ । 

बर्लिनको ब्रान्डनबर्ग विमानस्थलले पनि शुक्रबार साँझ यात्रु सेवाप्रदायकको प्रणालीमा आक्रमण गरिएको पुष्टि गरेको छ । त्यसपछि विमानस्थलका अपरेटरले सुरक्षाका निम्ति कनेक्सन काट्नुपरेको थियो ।

युरोपको सबैभन्दा व्यस्त विमानस्थल हिथ्रोले पनि चेक–इन र बोर्डिङ प्रणालीमा प्राविधिक समस्या आएको जनाएको छ । हिथ्रोले विज्ञप्तिमा भनेको छ, “कलिन्स एरोस्पेसले विश्वभरका धेरै एयरलाइनहरूलाई चेक–इन र बोर्डिङ प्रणाली प्रदान गर्छ । यसले प्राविधिक समस्याको सामना गरिरहेको छ । यसकारणले यात्रुहरूले उडानमा ढिलाइको सामना गर्नुपर्ने हुनसक्छ ।”
 

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्