site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनमा रुसले गर्‍यो ६०० भन्दा बढी ड्रोन र मिसाइल प्रहार

काठमाडौं । रुसी सेनाले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म ६०० भन्दा बढी ड्रोन र मिसाइल प्रहार गरी व्यापक आक्रमण गरेको युक्रेनी वायुसेनाले जनाएको छ ।

रुसी आक्रमण युक्रेनका सैन्य–औद्योगिक कम्प्लेक्सलक्षित थियो । लामो दूरी हवाई र भू–आधारित हतियार प्रणाली, बहुउद्देश्यीय जासुसी ड्रोन, रोबोटिक लडाकुवाहन, इन्टरसेप्टर यूएभी र लोइटरिङ प्रकारका युद्ध सामग्री विकास गर्ने प्रतिष्ठानलक्षित आक्रमण गरिएको एबीसीले जनाएको छ ।

रुसी रक्षा मन्त्रालयले आक्रमणको उद्देश्य हासिल भएको र तोकिएका सबै लक्ष्यमा प्रहार गरिएको जिकिर गरेको छ । युक्रेनले भने आफ्नो वायुरक्षा प्रणालीले धेरै क्षेप्यास्त्र र ड्रोन दबाइदिएको जनाएको छ ।

यद्यपि, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कम्तीमा तीनजनाको मृत्यु र दर्जनौँ घाइते भएका पुष्टि गरेका छन् । उनले डिनिप्रो र डिनिप्रोपेत्रोभ्स्क क्षेत्र, माइकोलाइभ, चेर्निहिभ, जापोरिझ्जिया तथा पोल्टाभा, किभ, ओडेसा, सुमी र खार्किभका समुदायलक्षित आक्रमण गरिएको बताएका छन् ।

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “शत्रुले हाम्रो पूर्वाधार, आवासीय क्षेत्र र नागरिक उद्यमलाई निसाना बनाएको छ । डिनिप्रोमा क्लस्टर युद्ध सामग्रीसहितको एक मिसाइल सिधै एउटा अपार्टमेन्ट भवनमा खसेको थियो ।”

उनले थपे, “यी आक्रमण सैन्य आवश्यकताभन्दा बाहिरका छन् । तिनीहरू नागरिकलाई आतंकित पार्ने र पूर्वाधार नष्ट गर्ने रुसी रणनीतिका अंश हुन् । त्यसैले बलियो अन्तर्राष्ट्रिय प्रतिक्रिया आवश्यक छ ।”

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्