काठमाडौं । न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर दीपकुमार साहको संयोजकत्वमा जनस्वराज पार्टी घोषणा गरिएको छ । यही असोज ३ र ४ गते जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रमबाट जनस्वराज पार्टीको घोषणा गरिएको संयोजक साहले जानकारी दिए ।
भेलाबाट साहको संयोजकत्वमा प्रशिक्षण विभाग गठन गरिएको छ । इन्जिनियर सुरेन्द्रनारायण यादवको संयोजकत्वमा आर्थिक विभाग समेत गठन गरिएको छ ।
संयोजक साह यसअघि जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष थिए । यादव जनमतकै कोषाध्यक्ष थिए ।
जनस्वराज पार्टीले कार्यकारी राष्ट्रपतीय र पूर्ण समानुपातिक निर्वाचन प्रणाली, बेथिति र भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही राजनीति स्थापित गर्न, शिक्षा, स्वास्थ्य र रोजगारीको निश्चिततासहित मुलुक सुहाउँदो पूर्वाधार विकासलाई प्राथमिकता दिनेलगायत उद्देश्य लिएको संयोजक साहले जानकारी दिए । रासस