काठमाडौं । इजरायलले गाजामा गरेको पछिल्लो हवाई हमलामा एकैदिन कम्तीमा ९१ जनाको मृत्यु भएको छ ।
धेरै पश्चिमा देश अब प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने दिशामा अघि बढिरहेका छन् । यही बेला इजरायली सेनाले गाजा सहर कब्जा गर्न आफ्नो निरन्तर हवाई र स्थलगत आक्रमण बढाइरहेको छ । त्यहाँका बासिन्दालाई गाजाको दक्षिणमा रहेको ‘कन्सन्ट्रेसन जोन’मा जान बाध्य पारिरहेको छ ।
आउँदो हप्ता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघ महासभामा यो मुद्दा छलफलको केन्द्रविन्दु बन्न सक्ने जनाइएको छ ।
गाजाका स्वास्थ्य अधिकारीका अनुसार, इजरायली सेनाले आवासीय घर, आश्रयस्थल बनेका विद्यालय, विस्थापित मानिस बसेका पाल र गाजा सहरबाट भाग्ने प्रयास गरिरहेका मानिस बोकेका ट्रकमा बमबारी गरेको छ ।
इजरायली हमलाबीच पोर्चुगलले आइतबार आधिकारिक रूपमा प्यालेस्टाइन राष्ट्रलाई मान्यता दिने घोषणा गरेको छ । बेलायत, क्यानडा, अस्ट्रेलिया, माल्टा, बेल्जियम र लक्जेमबर्गजस्ता देशले पनि आउँदा दिनमा यो कदम उठाउन सक्छन् । पश्चिमा देशको यो दृष्टिकोणले इजरायलमा बढ्दो दबाबको संकेत गर्छ ।
इजरायली सेनाका अनुसार, उनीहरूको लक्ष्य हमासको सैन्य संरचनालाई पूर्ण रूपमा नष्ट गर्नु हो । यद्यपि, यसनिम्ति कुनै समयसीमा तोकिएको छैन । यो अभियान महिनौँसम्म चल्न सक्ने अनुमान गरिएको छ ।
विगत २३ महिनामा इजरायली बमबारीबाट गाजामा ६५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । करिब ९० प्रतिशत जनसंख्या विस्थापित भएको छ ।
गाजा सहरमा बस्ने हजारौँ मानिसलाई दक्षिणतिर जान भनिएको छ । तर, धेरै मानिस एकातिर कमजोर भएका छन् भने अर्कोतर्फ उनीहरूसँग बारम्बार विस्थापित भएर सुरक्षित स्थानमा जान साधनस्रोत छैन । राष्ट्रसंघ र अरू एजेन्सीले यो प्रकारको जबरजस्ती विस्थापनले मानवीय संकटलाई थप गम्भीर बनाउने चेतावनी दिइरहेका छन् ।
यसैबीच, युनिसेफले शुक्रबार कुपोषित बालबालिकाका निम्ति पठाइएको जीवनरक्षक खाना सशस्त्र व्यक्तिहरूले लुटेका खुलासा गरेको छ । गाजा सहरमा चार ट्रकबाट उक्त खानेकुरा जबरजस्ती खोसिएको जनाइएको छ ।
इजरायलले त्यसको आरोप हमासलाई लगाएको छ । यद्यपि, राष्ट्रसंघले उनीहरूसँग सहायताको दुरुपयोग रोक्न कडा संयन्त्र रहेको जनाएको छ ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा हमला गरेको थियो । त्यसक्रममा १२ सय मानिस मारिएका थिए । २५१ जनालाई बन्धक बनाइएको थियो । उनीहरूमध्ये ४८ जना अझै गाजामा छन् । र, आधाभन्दा कम जीवित रहेका आशंका गरिएको छ ।
यसैबीच, हमासको सशस्त्र समूह कस्साम ब्रिगेडले गाजामा बन्धक बनाइएका ४८ जनाको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ । त्यसमा नेपालका विपीन जोशीको पनि तस्बिर छ । इजरायली सेनाले कारबाही जारी राखेका बेला ‘बिदाइ तस्बिर’ भन्दै सार्वजानिक गर्नुले उनीहरूको ज्यान जोखिममा रहेको विश्लेषण गरिएको छ । अलजजिराबाट ।