काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति आक्रोश व्यक्त गरेका छन् ।
उनीहरुले अहिले पार्टीको नेतृत्व परिवर्तनको समय रहेको र विशेष महाधिवेशनको माग गरिरहेका बेला डा. महतले पत्रकार सम्मेलन गर्दै यस्तो आक्रोश व्यक्त गरेका हुन् ।
“हाम्रो सभापति लोकतन्त्रको लामो लडाइँ लड्नुभयो । उहाँमाथि त्रासदीपूर्ण आक्रमण भयो । कतिपय जिम्मेवार साथीहरु आक्रमण भएको उपचार पूर्ण नभएको अवस्थामा पनि संवेदनशील हुन नसक्नु दुखको कुरा हो,” उनले भने, “आलो घाउ ठिक नहुँदै सुरु भएको बहसप्रति गम्भीर छौँ । अहिले एक हुने बेला हो । एक भएर कमी कमजोरी पनि हटाउने सकिँदैन र ? जुन बेलामा घाउ लागेको छ, घाउमा नुन छर्ने प्रवृत्ति गलत हो ।”
उनले २३ गतेभन्दा चारदिन अघिसम्म त्यही सभापतिका नजिक अहिले विरोध गरिरहेका नेताहरु नै रहेको धारणा राखे ।
“२३ गतेको चारदिन अघिसम्म त्यही सभापति अत्यन्त ठिक हुने । हामी त बरु अलि टाढा लागौँला । जुन साथीहरुले अहिले प्रश्न उठाउनुभएको छ । नेतृत्व परिवर्तनको कुरा गर्नुभएको छ । उहाँहरु सबैभन्दा नजिक हुनुहुन्थ्यो,” उनले भने, “उहाँहरुको उठबसलाई राम्रोसँग हेर्ने हो भने उहाँहरु नजिक हुनुहुन्थ्यो । हामीले भनेका थियौँ । कतिपय कुरा ठिक छैनन् । नयाँ परिस्थिति बन्नेबित्तिकै अब एकछिन पनि हुँदैन भनेको के हो ? अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पनि नहुँदै आकाश नै झर्छ ? पार्टीको केन्द्रीय समिति छ, संरचना छ । कसरी भयो, किन भयो ? त्यसको मूल्यांकन पनि गर्छौं । तर त्यसको लागि पनि नपर्खिने ?”