site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘जेनजी’ विद्रोहको पहिलो कारण कांग्रेस–एमाले गठजोड, दोस्रो भू–राजनीति : पुन
वर्षमान पुन । फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएपछि ‘जेनजी’ आन्दोलनको पृष्ठभूमि तयार भएको जिकिर गरेका छन् ।

दुई ठूला दल सम्मिलित केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कामलाई कम तथा बिचौलिया र स्वार्थ समूहको सेवालाई बढी प्राथमिकतामा राखेका कारण जन्मिएको असन्तोष जेनजी विद्रोहमार्फत विस्फोट भएको उनले टिप्पणी गरे ।

आफूहरूले पटक–पटक जनताको सेवामा लाग्न दबाब तथा ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरिँदाको खराब परिणाम कांग्रेस–एमालेले मात्र नभई सिंगो मुलुकको भोग्नुपरेको उनको भनाइ थियो ।

मुलुकको धरोहरका रूपमा रहेका राष्ट्रपति भवन, सिंहदरबार, संसद्, सर्वोच्च अदालतसहित देशभरका सरकारी कार्यालय आन्दोलनका क्रममा खरानी पारिएको भन्दै उनले त्यसको नैतिक जिम्मेवारी कुशासनका मतियारले लिनुपर्ने तर्क गरे ।

जेनजी आन्दोलनको पहिलो र निर्णायक कारण मुलुकको आन्तरिक राजनीतिक, सामाजिक र आर्थिक विषय भएको उनले बताए । उनले सहायक कारणका रूपमा भू–राजनीति पनि रहेको उल्लेख गरे ।

“भ्रष्टाचार, अनियमितता, कुशासन र बिचौलिया वर्गको स्वार्थमा नलागेर मुलुक र जनताको स्वार्थमा केन्द्रित हुन प्रमुख प्रतिपक्षका हैसियतमा  हामीले संसद्भित्र र बाहिरबाट एक वर्षसम्म पटक–पटक सरकारको ध्यानाकर्षण गरायौँ, दबाब दियौँ,” पार्टीसम्बद्ध जनप्रगतिशील मञ्च जापानका पदाधिकारीसँगको भर्चुअल अन्तरक्रियाका क्रममा पुनले भने ।

उनले अगडि भने, “तर, सत्तामा बसेका कांग्रेस र एमालेले सुनेनन् । दुईतिहाइको शक्ति पूरै स्वार्थ समूहको सेवामा समर्पित भयो । हामीले निकट विगतका बंगलादेश, श्रीलंकाजस्ता मुलुकमा जस्तो खराब अवस्था आउन सक्नेबारे भनेकै हौँ । हाम्रो जिम्मेवारीपूर्ण खबरदारीलाई अन्देखा गरियो र अर्कै अर्थमा प्रचार गर्ने काम पनि भयो । त्यही पृष्ठभूमिमा बढेको असन्तोष जेनजी आन्दोलनको रूपमा प्रकट भयो ।”

जेनजी आन्दोलनको मौका छोपेर प्रतिगामी र प्रतिक्रियावादी शक्तिले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेताहरूका निवास तथा पार्टी कार्यालयमा आगजनी र लुटपाट गरेको उनले बताए । उनीहरूले नै माओवादी र अरू दल उस्तै भन्ने स्थापित गराउने कोसिस गरिरहेको भन्दै पुनले आपत्ति जनाए ।

पुनले अमेरिका, रुस, चीन र भारतजस्ता शक्तिराष्ट्रबीच विद्यमान शक्तिसंघर्षको बाछिटा पनि नेपालमा परेको उल्लेख गरे । 

अत्यन्तै तरल अवस्थामा रहेको देशको विद्यमान अवस्थामा हुन सक्ने भू–राजनीतिक चलखेललाई निरुत्साहित गर्न तथा राष्ट्रिय स्वाधीनता तलमाथि हुन नदिन मुलुकका सबै पक्षबीच सहकार्य र एकतामा उनले जोड दिए ।

फरक प्रसंगमा उनले जेनजी आन्दोलनले पार्टीका विद्यमान नेतृत्व, संरचना तथा राज्यका निकायमा आमूल रूपान्तरण जरुरी रहेको जबर्जस्त सन्देश दिएको औँल्याए ।
 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्