site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसका पाँच नेताको निष्कर्ष– पार्टीलाई कमजोर पार्ने षड्यन्त्र हुँदै छ

काठमाडौं । नेपाली कांग्रेसका पाँच पदाधिकारीले देश संकटमा परेका बेला पार्टीको भूमिका कमजोर बनाउने प्रयत्न भइरहेको निष्कर्ष निकालेका छन् ।

कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको आगजनी गरिएको घरको अवलोकन समेतको उद्देश्य राखेर कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशरण महत आइतबार बिहान (असोज ५) चाक्सीबारी पुगेका थिए । विगतदेखि नै उनी तीन, सात भाइ हुँदै बैठक बस्दै आएका थिए । यस दिन पनि चाक्सीबारीकै प्रांगणमा नेता प्रकाशमान सिंहसहित उनीहरू बैठक बसे ।

देश कमजोर भएका बेला एकजुट भएर कांग्रेस उभिनुपर्ने आवश्यकता भए पनि पार्टीलाई कमजोर पार्ने षड्यन्त्र जारी रहेको बैठकबाट निष्कर्ष निकालिएको छ ।

“अहिले देश एकदमै कमजोर बनेको छ । लोकतन्त्र अझ धेरै जोखिममा परेको छ,” नेता सिटौलाले बाह्रखरीसँग भने, “यस्तो बेला देशको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको बलियो र एकीकृत प्रयत्न देशका लागि अपेक्षित छ ।”

उनले राष्ट्रिय आवश्यकताअनुरूप पार्टी अघि बढाउने प्रयत्नको साटो कमजोर बनाउने षड्यन्त्र भइरहेको जिकिर गरे । यस्ता प्रयत्नले पार्टीलाई मात्र नभएर सिंगो लोकतन्त्र र देशलाई क्षति पुर्‍याउने उनले टिप्पणी गरे । पार्टीलाई एक ढिका राख्नुपर्नेमा उनले जोड दिए ।

सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा सुधार हुनासाथ विस्तृत छलफल गरेर पार्टीले एकीकृत रूपमा अगाडिको बाटो तय गर्नुपर्ने बताए । “सभापतिजीले स्वास्थ्यलाभ गरेपछि जतिसक्दो चाँडो पार्टीको केन्द्रीय समिति बैठक डाक्नुपर्ने हुन्छ,” उनले भने, “पार्टीका नेताविशेषका आआफ्ना दृष्टिकोण रहनु स्वाभाविक कुरा हो । केन्द्रीय समितिले पार्टीकोे स्पष्ट दृष्टिकोण बनाएर अघि बढ्छ ।”

उनले राष्ट्रिय संकटको निकास एकीकृत कांग्रेसले खोज्न सक्ने विश्वास व्यक्त गरे । हालसम्मका अनुभव र नागरिकको विश्वासलाई आधार बनाएर नयाँ संकट समाधानको नेतृत्व कांग्रेसले गर्नुपर्ने उनले बताए । 

“देश संकटमा परेका बेला कांग्रेसकै नेतृत्वमा नयाँ निकासहरू खोजिँदै आएको छ । अहिले पनि कांग्रेस आफ्निो जिम्मेवारीबाट मुख मोडेर बस्न सक्दैन,” सिटौलाले भने, “अहिले देशका सबै अंग तरल अवस्थामा छन्, कमजोर अवस्थामा पुगेका छन् । लोकतन्त्रको भविष्यमा पनि प्रश्न उठेका छन् ।”

उनले अगाडि भने, “यस्तो संकटमा कांग्रेसलाई पनि कमजोर पारेर लाभ लिने तत्त्व हाबी हुनसक्छ । यस्तोमा कांग्रेसलाई एकजुट बनाएर राष्ट्रिय संकटबाट बाहिर निकाल्नु सबै कांग्रेसजनको कतव्य हुनेछ ।”

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्