site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बग्राम सैन्य बेस : ट्रम्प र अफगानिस्तानबीच धम्की र कडा प्रतिक्रिया

काठमाडौं । बग्राम सैन्य बेसका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अफगानिस्तानबीच मतभेद जारी छ ।

ट्रम्पले तालिबान सरकारले बग्राम एयरबेस अमेरिकालाई फिर्ता नगरे ‘खराब चिज हुनेछन्’ भन्ने धम्की दिएका थिए । त्यसपछि तालिबान सरकारले कडा जवाफ फर्काउँदै काबुल वार्ताका निम्ति तयार भए पनि अमेरिकालाई देशमा पुनः सैन्य उपस्थिति कायम गर्न नदिने जनाएको छ ।

शुक्रबार अफगान परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी जाकिर जलालीले आफ्नो भूमिमा कुनै विदेशी सैन्य उपस्थिति स्वीकार नगर्ने स्पष्ट पारेका हुन् । विदेशमन्त्री अमीर खान मुत्ताकीले यसअघि अफगानिस्तानको एक इन्च भूमि पनि कुनै विदेशी सेनाको उपस्थितिका निम्ति स्वीकार्य नभएको र यो सन्देश राष्ट्रपति ट्रम्प र अरू देशसम्म पुग्नुपर्ने बताएका थिए ।

ट्रम्पले यसअघि आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा अफगानिस्तानले बग्राम एयरबेस फिर्ता नदिए खराब चिज हुने बताएका थिए ।

अफगानिस्तानस्थित बग्राम एयरबेस विश्वको सबैभन्दा ठूलो सैन्य अखडामध्ये एक हो । सन् २०२१ मा अमेरिकी सेनाको फिर्तीपछि यो एयरबेस तालिबानको नियन्त्रणमा गएको थियो । यो बेस चीन र अफगानिस्तानको सिमानानजिक भएकाले रणनीतिक रूपमा धेरै महत्त्वपूर्ण मानिन्छ ।

लन्डन भ्रमणका क्रममा ट्रम्पले बग्राम एयरबेस आफ्नो नियन्त्रणमा राखिराख्ने योजना भएको बताएका थिए । उनले भनेका थिए, “हामीले यसलाई तालिबानलाई सित्तैमा दियौँ । अब हामी यसलाई फिर्ता लिने प्रयास गरिरहेका छौँ ।”

अफगान मिडियाका अनुसार, धेरै अमेरिकी सांसदले पनि ट्रम्पको यो मागमा समर्थन गरिरहेका छन् । उनीहरू बग्राममा पुनः अमेरिकी नियन्त्रण हुनु अमेरिकाको सुरक्षा र रणनीतिक हितका निम्ति आवश्यक ठान्छन् ।

यता, चीनले ट्रम्पको धम्कीप्रति प्रतिक्रिया जनाउँदै अफगानिस्तानको सार्वभौमिकता र स्वतन्त्रताको सम्मान गरिनुपर्नेमा जोड दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “अफगानिस्तानको भविष्य त्यहाँका जनताको हातमा हुनुपर्छ । कुनै पनि देशले क्षेत्रमा तनाव बढाउने काम गर्नु हुँदैन ।”

रुसले यसअघि नै अमेरिकाले अफगानिस्तानमा फेरि सैन्य उपस्थिति स्थापितको प्रयास गरिरहेको र त्यसले क्षेत्रीय अस्थिरता बढाउन सक्ने चेतावनी दिइसकेको छ । एजेन्सीहरू

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्