काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले ‘संसदीय व्यवस्थाले अस्थिरता निम्त्याएको’ जिकिर गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था लागु गर्न माग गरेका छन् ।
उनले अनावश्यक खर्च र प्रशासनिक बोझ बढाएको दाबी गर्दै प्रदेश संरचना खारेजीको माग पनि गरेका छन् । शाही राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक थिए । जुम्लाबाट निर्वाचित शाही ३३ महिना सांसद रहे ।
उनले ‘देशमा प्रधानमन्त्री मात्र परिवर्तन गरेर जनताको जीवनस्तर सुधार नहुने’ धारणा व्यक्त गरेका छन् । उनले संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द गरी योग्य र निष्पक्ष व्यक्तिलाई मात्र नियुक्त गर्नुपर्ने माग पनि राखेका छन् ।
उनले बाह्रखरीसँग कुरा गर्दै भने, ‘‘भ्रष्टाचार नियन्त्रण निम्ति भ्रष्टाचारीका सम्पत्ति हरण गरी आजीवन कारावासको सजाय दिनुपर्ने व्यवस्था हुनुपर्छ । भ्रष्टाचार नियन्त्रण युवाका एजेन्डा भएको हुँदा आत्मसात् गरिनुपर्छ । केवल कुर्सीको परिवर्तन मात्रले जनताको जीवनस्तरमा कुनै सुधार आउँदैन ।’’