काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनालीले राष्ट्रपति रामचन्द्र पौडेलले आँट गरेर मात्रै संविधान जोगिएको बताएका छन् ।
पश्चिमा र अन्य शक्तिहरूले नचाहँदा नचाहँदै आफूमा अन्तर्निहित अधिकारको प्रयोग गरेर संविधान जोगाउने आँट गरेको भन्दै उनले राष्ट्रपति पौडेलको प्रशंसा समेत गरे ।
प्रगतिशील लेखक संघ, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव मैनालीले निर्वाचन हुनका लागि राजनीतिक दलहरूले संसद् पुनर्स्थापनाको माग राखेर आन्दोलन गर्न नहुने पनि स्पष्ट पारे ।
उनले जेनजी पुस्ताले आफूहरूको माग पूरा गराउनका लागि दबाब दिए पनि मुलुकमा चुनाव हुन नसक्ने अवस्था आउने जिकिर गरे । महासचिव मैनालीले नेपालमा संविधान मास्नका लागि बाह्य शक्तिहरूले चलखेल गरिरहेको पनि बताए ।
"राष्ट्रपति रामचन्द्र पौडेलले संविधानभित्रै पारेर काम गरेका छन् । यसलाई नराम्रो नठान्नुहोस् । उनले राष्ट्रपतिमा रहेको निहित अधिकारलाई प्रयोग गर्दै संविधानलाई रक्षा गर्ने अन्तर्निहित अधिकार र राष्ट्रिय एकतालाई प्रवरेद्धन गर्ने अधिकारलाई प्रयोग गरेर संसद् बाहिरको भए पनि प्रधानमन्त्री नियुक्त गरेका छन् । संविधान अहिले नै तोडेको भए झन धेरै समस्या हुन्थ्यो," उनले भने ।
महासचिव मैनालीले मुख्य राजनीतिक दलहरूले गलत काम गरेका कारण मुलुकमा विपत्ति आइपरेको दोहोर्याए । न्युज एजेन्सी नेपाल