site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलको मध्यपूर्वमा कतारपछि अर्को निसाना टर्की हो ?

काठमाडौं । टर्की अमेरिकाको प्रमुख गैर–नेटो सहयोगी र वासिंटनको खाडी क्षेत्रमा सबैभन्दा नजिकको साझेदार हो । तर, गत हप्ता इजरायलले कतारमाथि हमला सुरु गरेपछि इजरायल समर्थक टिप्पणीकारहरूले अब इजरायलको मध्यपूर्वमा अर्को निसाना टर्की हुन सक्ने आकलन गरेका छन् ।

वासिंटनस्थित दक्षिणपन्थी थिंक ट्यांक अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका वरिष्ठ फेलो माइकल रुबिनले टर्की इजरायलको अर्को निसाना हुन सक्ने चेतावनी दिँदै टर्कीले आफ्नो सुरक्षाका लागि मात्र नेटो सदस्यतामा भर पर्न नहुने बताउँछन् ।

इजरायली शिक्षाविद् तथा राजनीतिक व्यक्तित्व मिर मसरीले सामाजिक सञ्जालमा लेखे, “आज कतार, भोलि टर्की ।” 

यसमा अंकाराले कडा प्रतिक्रिया जनायो । राष्ट्रपति रेसेप तैयिप एर्दोआनका एक वरिष्ठ सल्लाहकारले असामान्य रूपमा कठोर शब्द प्रयोग गर्दै भने, “जियोनिस्ट इजरायलका कुकुर, संसारले छिट्टै तिमीलाई नक्साबाट मेटाएर शान्ति पाउनेछ ।”

पछिल्ला महिनादेखि इजरायल समर्थित मिडियाले निरन्तर टर्कीविरुद्ध बयानबाजी बढाउँदै आएको छ । यसले टर्कीलाई इजरायलको सबैभन्दा खतरनाक शत्रुका रूपमा चित्रण गरिरहेको छ ।

इजरायली टिप्पणीकारहरूले टर्कीको पूर्वी भूमध्यसागरमा बढ्दो उपस्थितिलाई खतरा र युद्धपछिको सिरियाको पुनर्निर्माणमा यसको सक्रियतालाई नयाँ चुनौतीका रूपमा चित्रण गरेका छन् ।

गाजा युद्ध रोकिने कुनै संकेत नदेखिएको र इजरायलको क्षेत्रीय आक्रमण बढ्दै गएको सन्दर्भमा टर्कीका विदेशमन्त्री हाकान फिदानले गत अगस्टमा इजरायलसँगको आर्थिक र व्यापारिक सम्बन्ध निलम्बन गर्दै जवाफी कारबाही गरेका थिए ।

एट्लान्टिक काउन्सिलका गैर–आवासीय फेलो ओमर ओज्किजिलसिकले अलजजीरालाई भने, “टर्कीविरोधी बयानबाजीलाई टर्कीमा गम्भीरतापूर्वक लिइन्छ, र यसलाई इजरायलको क्षेत्रीय प्रभुत्व खोज्ने रणनीतिका रूपमा हेरिन्छ ।” 

उनले थपे, “टर्कीले इजरायली आक्रमणको कुनै सीमा नभएको र त्यसलाई अमेरिकी समर्थन प्राप्त भइरहेको महसुस गरेको छ ।”

यद्यपि, अमेरिका र कतारनजिकका सहयोगी भए पनि अमेरिकाले इजरायललाई टर्कीमाथि आक्रमणबाट रोक्न प्रयास गरेको छैन । यसले गर्दा नेटो सम्झौताअनुसार, टर्कीमाथि आक्रमण भए अमेरिकाले साँच्चै उसको रक्षा गर्छ कि गर्दैन भन्ने प्रश्न उठेको छ ।

ओज्किजिलसिकका अनुसार, धेरै अरब राष्ट्रहरूभन्दा फरक, टर्कीले आफ्नो राष्ट्रिय सुरक्षाका लागि अमेरिका वा नेटोमाथि भर पर्न सक्दैन भन्ने कुरा पहिले नै बुझिसकेको छ ।

यसबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो देशको क्षेत्रीय विस्तारवादी लक्ष्यलाई बढ्दो घमण्डका साथ प्रस्तुत गरिरहेका छन् । अगस्टमा, ग्रेटर इजरायलको विचारबारे सोधिएको प्रश्नमा उनले आफू पूर्ण रूपमा त्यसमा विश्वास गर्ने बताए ।

यी भनाइ अंकाराका लागि मात्र प्रतीकात्मक नभई, मध्यपूर्वभर फैलिएको इजरायली प्रभुत्वको दृष्टिकोणको संकेतको रूपमा व्याख्या गरिएको र यसले सम्भावित रूपमा टर्कीको आफ्नै क्षेत्रीय दृष्टिकोणसँग प्रत्यक्ष टकराब निम्त्याउन सक्छ ।

आइतबार, मन्त्री फिदानले अलजजीरासँग भने, “ग्रेटर इजरायल दृष्टिकोणको उद्देश्य यो क्षेत्रका देशहरूलाई कमजोर र निष्प्रभावी बनाउनु हो, विशेषगरी छिमेकी राज्यहरूलाई विभाजित गर्ने रणनीति हो ।”

हालैका हप्ताहरूमा, इजरायलमाथि गाजामा नरसंहार गर्नेदेखि लिएर कब्जा गरिएको वेस्ट बैंकमा दैनिकजसो छापा मार्ने, यमन र सिरियामा आक्रमण गर्ने, ट्युनिसियामा गाजा सहायताका लागि पठाइएको फ्लोटिलामाथि समेत आक्रमण गरेको आरोप लागेको छ ।

ओज्किजिलसिकका अनुसार, टर्की र इजरायल पहिले नै भूराजनीतिक प्रतिद्वन्द्वीतामा छन् । इजरायलको कार्यनीति टर्कीको एजेन्डासँग बाझिएको छ, जसले बलियो केन्द्रीकृत राज्यहरूलाई प्राथमिकता दिन्छ, जबकि इजरायल विकेन्द्रीकृत राज्यहरूलाई अनुकूल ठान्छ ।

टर्कीका लागि अमेरिकी राजदूत तथा सिरियाका विशेष दूत टम ब्याराकले गत जुलाईमा इजरायलले खण्डित र विभाजित सिरियालाई प्राथमिकता दिने कुरा स्वीकार गरेपछि, इजरायल यो क्षेत्रमा एकमात्र प्रभावशाली शक्ति बन्ने प्रयास गरिरहेको पुष्टि भएको थियो ।

उनले भने, “बलियो राज्यहरू, विशेषगरी अरब राज्यहरू, इजरायलका लागि खतराको रूपमा देखिन्छन् ।” अंकाराले पनि इजरायल आफूलाई सुरक्षित महसुस गर्न यो क्षेत्रको महाशक्ति बन्न चाहन्छ भन्ने बुझिसकेको छ ।

यसको प्रमाण स्वरूप, पूर्वराष्ट्रपति बशार अल–असद मस्को भागेपछि, डिसेम्बर ८ देखि इजरायलले सिरियामा दर्जनौँ पटक बमबारी गरेको र तत्कालको अराजक अवस्थाको फाइदा उठाएर केही भूभाग कब्जा गरेको छ ।

सन् २०२४ मा इजरायलले हिजबुल्लाहका शीर्ष नेताहरूलाई समाप्त पार्नुका साथै युद्धविरामको बाबजुद पनि लेबनानका केही भूभागमा नियन्त्रण जमाएको छ । यस्तै, जुन महिनामा इजरायलले इरानमाथि आक्रमण गर्दै सैन्य तथा आणविक पूर्वाधार ध्वस्त पार्‍यो र वरिष्ठ कमान्डर तथा वैज्ञानिकहरूको हत्या गर्‍यो । यस घटनाले अमेरिकालाई समेत युद्धमा तानेको थियो ।

आक्रमणको उद्देश्य तेहरानको रक्षा क्षमतामात्र कमजोर पार्नु नभई, इजरायलको सबैभन्दा बलियो प्रतिद्वन्द्वीलाई लक्षित गर्दै वासिंटनलाई शासन परिवर्तनतर्फ धकेल्नु पनि थियो ।

नेतन्याहूले यसअघि भनेझैँ, इजरायललाई चुनौती दिन सक्ने नयाँ सैन्य अखडाहरू सिरियामा टर्कीलाई बनाउन दिइने छैन भन्ने आफ्नो अडान स्पष्ट पारेका छन् ।

टर्कीका अवकाशप्राप्त एडमिरल सेम गुर्डेनिजले चेतावनी दिँदै भने, “टर्की–इजरायल द्वन्द्वको पहिलो अभिव्यक्ति सम्भवतः सिरियाली मोर्चामा भूमि र हावामा देखिनेछ ।” उनका अनुसार, यो टर्कीको ब्लु होमल्यान्ड रणनीति (एजियन, पूर्वी भूमध्यसागर र ब्ल्याक सीमा टर्कीको सार्वभौमिकता सुरक्षित गर्ने सिद्धान्त)सँग प्रत्यक्ष सम्बन्धित हुनेछ ।

गुर्डेनिजका अनुसार, “साइप्रसमा इजरायलको बढ्दो सैन्य र गुप्तचर उपस्थिति, जुन अमेरिकी संरक्षणमा ग्रीस र ग्रीक साइप्रियोट प्रशासनसँग जोडिएको छ, अंकाराले ‘ब्लु होमल्यान्ड’ लाई खण्डित गर्ने प्रयासका रूपमा बुझ्छ ।”

उनले थपे, “अंकाराका लागि यो इजरायलको रक्षात्मक कदम नभई आक्रामक घेराबन्दी रणनीति हो, जसले टर्कीको समुद्री स्वतन्त्रता र टर्की साइप्रियोट जनताको सुरक्षालाई खतरामा पार्न सक्छ ।”

साइप्रसको विभाजन टर्की, ग्रीस र साइप्रसबीचको पुरानो विवादको मुख्य कारण हो । गत हप्ताको रिपोर्टअनुसार, साइप्रसले इजरायली वायु–रक्षा प्रणाली प्राप्त गरेपछि अंकाराको चिन्ता झन् बढेको छ ।

सिरियाबारे, इजरायली विदेशमन्त्री गिडियन साआरले फेब्रुअरीमा ब्रसेल्समा युरोपेली नेताहरूसँगको बैठकमा सिरियाको भविष्य विभिन्न स्वायत्ततासहितको संघीय प्रणाली मात्रै हुनसक्ने बताए ।

तर, टर्की भने नयाँ सिरियाली प्रशासनलाई समर्थन गर्छ, जसले केन्द्रीकृत र एकात्मक राज्यको पक्ष लिन्छ ।

नेजमेत्तिन एरबाकन विश्वविद्यालयका ग्लोबल एन्ड रिजनल स्टडीज सेन्टरका निर्देशक गोखान सिन्काराका अनुसार, “हालका लागि, टर्कीका लागि सबैभन्दा जोखिमपूर्ण परिदृश्य सिरियामा अन्तर–समूह द्वन्द्वको अनियन्त्रित प्रकोप हुनेछ ।”

उनले भने, “सिरियाको अपरिपक्व सुरक्षा संयन्त्रले कुनै पनि अन्तर–समूह झडपलाई नियन्त्रण गर्न गाह्रो बनाउनेछ, जसले दीर्घकालीन जातीय वा साम्प्रदायिक युद्धको जोखिम बढाउँछ । त्यसैले छोटो अवधिका लागि एकात्मक राज्य संरचना कायम गर्न कठिन देखिन्छ ।”

यसैबीच, नेतन्याहूले सिरियाको भूभागमा बस्ने ड्रुज जनसंख्याको ‘सैन्यीकरण’ माग गर्दै जातीय र धार्मिक आधारमा विभाजन गर्ने योजना अघि सारेका छन् । यस्तो कदम लागु भएमा कुर्द र अलाविटसहितका अन्य समूहहरूले पनि आफ्ना स्वायत्तताको माग गर्नसक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।

सेटाका विदेश नीति अनुसन्धान निर्देशक मुरात यसिलटासले भने, “अंकाराको सिरियामा स्पष्ट लक्ष्मणरेखा छ । अमेरिका र इजरायलको क्षेत्रीय व्यवस्था पुनःस्थापनाको प्रयासले मध्यपूर्वमा विखण्डन अझै गहिरो बनाइरहेको छ ।”

मार्चमा, इजरायलको प्रभावशाली थिंक ट्यांक इन्स्टिच्युट फर नेसनल सेक्युरिटी स्टडीजले प्रकाशित गरेका रिपोर्टमा टर्की र कुर्दिस वर्कर्स पार्टी (पीकेके) बीचको नयाँ शान्ति प्रक्रियाबारे चेतावनी दिइएको थियो । पीकेकेले टर्कीविरुद्ध चार दशक लामो सशस्त्र संघर्ष अन्त्य गर्ने संकेत गरेको छ, जसमा ४० हजारभन्दा बढी मानिस मारिएका छन् ।

रिपोर्टले यसले सिरियामा कुर्दहरूको स्वायत्त सञ्चालन क्षमतालाई कमजोर पार्न सक्ने र अंकारालाई दक्षिणी सिरियामा आफ्नो प्रभाव विस्तार गर्न मद्दत गर्ने चेतावनी दिएको थियो ।

यसैबीच, इजरायली रक्षामन्त्री इजरायल काट्जले दक्षिणी सिरियामा हालै कब्जा गरिएका भूभागहरू अनिश्चितकालसम्म नियन्त्रणमा राखिने बताएका छन् ।

टर्कीले दमास्कस सरकारसँगको सहकार्यमा सिरियाको होम्स प्रान्तमा सैन्य अखडा र हामा प्रान्तको एयरपोर्ट प्रयोग गर्ने प्रयास गर्दा, इजरायलले त्यहाँ बमबारी गर्‍यो ।

यसिलटासले भने, “यदि तेल अभिभ यसै बाटोमा अघि बढ्यो भने, अंकारा–तेल अविभ द्वन्द्व अपरिहार्य हुनेछ । टर्कीले आफ्नो दक्षिणी सिमानामा अस्थिरता सिर्जना गर्ने नीतिहरू स्वीकार गर्न सक्दैन ।”

तर, लन्डनको किङ्स कलेजका सहप्राध्यापक एन्ड्रियास क्रिगका अनुसार, विशेषगरी आर्थिक अन्तरनिर्भरता र द्वन्द्वको मूल्यलाई ध्यानमा राख्दा टर्की र इजरायलबीच पूर्ण प्रतिस्पर्धा अनिवार्य छैन ।

क्रिगले भने, “इजरायलको टर्कीमाथि हुने खतरा परम्परागत सैन्य आक्रमण होइन, बरु अप्रत्यक्ष माध्यममार्फत टर्कीका हितलाई कमजोर बनाउने प्रयास हो ।”

क्षेत्रलाई पुनःनिर्धारण गने नेतन्याहुको प्रयासमा वासिंटनको पूर्णसमर्थनलाई ध्यानमा राख्दै विशेषगरी विस्तारित वायु–रक्षा, क्षेप्यास्त्र प्रणाली र गुप्तचर क्षमतामार्फत रणनीतिक निवारणलाई बलियो बनाउनु  र ‘पूर्ण रणनीतिक धु्रवीकरणबाट बच्न वासिंटनसँग खुला सम्पर्क कायम राख्दै कतार, जोर्डन र इराकजस्ता क्षेत्रीय गठबन्धनलाई पछ्याउनु टर्कीको छनोट भएको क्रिग बताउँछन् । 

“अंकाराले के बुझ्नुपर्छ भने भविष्यका तनावका बिन्दुहरू औपचारिक घोषणाहरू वा कूटनीतिमा भन्दा गुप्त अभियानहरू, हवाई आक्रमणहरू र छद्म युद्ध जस्ता ‘ग्रे जोनमा देखिने सम्भावना बढी छ,” उनले थपे ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  २०:०३
प्रतिक्रिया दिनुहोस्