site stats
बाह्रखरी :: Baahrakhari
विदेश
यौन दुर्व्यवहार, मानव अधिकार र महिलासम्बन्धी विषयका पुस्तक प्रतिबन्ध

काठमाडौं । तालिबान सरकारले अफगानिस्तानका विश्वविद्यालयहरूमा यौन दुर्व्यवहार, मानव अधिकार र महिलासम्बन्धी विषयका पुस्तकहरूमा प्रतिबन्ध लगाएको छ ।

यो प्रतिबन्ध सन् २०२५ अगस्ट २८ देखि लागु भएको हो, जसअन्तर्गत ६७९ पुस्तकलाई ‘शरीया र तालिबान नीतिहरूको विरुद्ध’भन्दै प्रतिबन्धित गरिएको छ । तीमध्ये १४० पुस्तक महिलाले लेखेका थिए ।

तालिबानले १८ विषयको पढाइमा समेत रोक लगाएको छ, जसमा यौन दुर्व्यवहार, मानव अधिकार, महिला समाजशास्त्र र लैंगिक अध्ययन समावेश छन् ।

यो कदम तालिबानले विगत चार वर्षमा लगाएका थुप्रै प्रतिबन्धहरूको शृंखलामा थपिएको एउटा नयाँ निर्णय हो । हालै उनीहरूले देशका दश प्रान्तमा वाईफाई प्रयोगमा पनि प्रतिबन्ध लगाएका थिए । अधिकारीहरूका अनुसार ‘अनैतिक गतिविधि’ रोक्न यस्तो गरिएको हो ।
तालिबानको यो निर्णयको सबैभन्दा ठूलो असर महिलामाथि परेको छ । उनीहरूलाई पहिले नै कक्षा ६ भन्दामाथि पढ्न रोक लगाइएको छ ।

पुस्तकहरूको समीक्षा गर्ने समितिले अब महिलाले लेखेका कुनै पनि पुस्तक पढाउन अनुमति नदिइने स्पष्ट पारेको छ । अफगानिस्तानकी पूर्व उपन्याय मन्त्री तथा लेखिका जकिया अदेलीले यो निर्णयले आफूलाई आश्चर्यचकित नबनाएको बताइन् । उनको पुस्तक पनि प्रतिबन्धित सूचीमा छ । 

उनका अनुसार तालिबानको नीति पहिलो दिनदेखि नै महिलाविरोधी रहँदै आएको छ । तालिबानका अनुसार महिलाले पढ्न नपाउने मात्र होइन, उनीहरूका विचार र लेखनलाई पनि स्थान दिइने छैन ।

बीबीसीका अनुसार, तालिबानको उच्च शिक्षा मन्त्रालयले धार्मिक विद्वान र विशेषज्ञहरूको सल्लाहमा यो निर्णय लिइएको बताएको छ । महिलाका पुस्तकबाहेक यसपटक इरानी लेखक र प्रकाशकका पुस्तकहरूमा पनि प्रतिबन्ध लगाइएको छ ।

प्रतिबन्धित ६७९ पुस्तकमध्ये ३१० इरानी लेखक र इरानमा प्रकाशित भएका हुन् । समितिका एक सदस्यका अनुसार, अफगान पाठ्यक्रममा इरानी प्रभाव बढ्न नदिन यस्तो कदम चालिएको हो ।

हालका वर्षमा अफगानिस्तान र इरानबीचको सम्बन्ध तनावपूर्ण रहेको छ । पानीको बाँडफाँडजस्ता मुद्दामा दुई देशबीच द्वन्द्व भएको छ । यसका साथै, इरानले यस वर्ष जनवरीदेखि अहिलेसम्म १५ लाखभन्दा बढी अफगानलाई देश छाड्न बाध्य पारेको छ । यस्तो अवस्थामा इरानी पुस्तकहरूमाथिको प्रतिबन्धलाई राजनीतिक निर्णयका रूपमा पनि हेरिएको छ ।

यद्यपि, विश्वविद्यालयका शिक्षकका लागि यो अवस्था निकै कठिन बनेको छ । एक प्राध्यापकका अनुसार, इरानी लेखक र अनुवादकहरूले अहिलेसम्म अफगान शिक्षा जगत र विश्व शैक्षिक समुदायबीच पुलको काम गरेका थिए । उनीहरूको पुस्तक हट्दा विश्वविद्यालयमा शिक्षाको स्तरमा ठूलो कमी आउनेछ ।

अब उनीहरू बाध्य भएर आफ्नै पाठ्यपुस्तकका अध्याय तयार गर्नुपर्ने हुन्छ । तर, ती सामग्री विश्व शैक्षिक मापदण्डअनुसार हुने वा नहुने भन्ने कुरा कठिन भएको काबुल विश्वविद्यालयका एक प्राध्यापकले बीबीसीलाई बताएका छन् । द न्युयोर्क टाइम्स 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  ०८:०२
प्रतिक्रिया दिनुहोस्