site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चर्कंदै रुस–युक्रेन युद्ध

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध रोकिनुको सट्टा झन् भयानक हुँदै गएको छ । युक्रेनको अतिक्रमित भूमि क्राइमियामा युक्रेनले गरेकोे ड्रोन आक्रमणमा कम्तीमा तीनजनाको मृत्यु भएको छ । हमलामा धेरै मानिस घाइते भएका छन् ।

रुसको रक्षा मन्त्रालयले युक्रेनले क्राइमियामा सर्वसाधारणलाई निसाना बनाइरहेको जनाएको छ ।

यता, रुसी हमलामा ६ युक्रेनी नागरिकको ज्यान गएको छ । १६ जना घाइते भएका युक्रेनले जनाएको छ ।

रुसका रक्षामन्त्रीले युक्रेनले क्राइमियाको फोरोसस्थित एक रिसोर्टलाई निसाना बनाएको बताएका छन् ।

यसबाहेक एक विद्यालयको भवनमा पनि हमला गरिएको छ । उनले यो हमलामा तीनजनाको मृत्यु भएको बताए ।

याल्टा सहरमा पनि ड्रोन आक्रमणका कारण एक भवनमा आगलागी भएको छ । रुसी रक्षा मन्त्रालयले यसलाई आतंकवादी हमला भनेको छ ।

युक्रेनले आइतबार राति १० बजेपछि रुसले कम्तीमा १४१ ड्रोन हवाई हमला गरेको जनाएको छ । तीमध्ये १३२ ड्रोन खसालिएको युक्रेनले जनाएको छ । किभले जापोरिज्जियामा रातभर आक्रमण गरिएको र कम्तीमा तीनको मृत्यु र २१ जनाना घाइते भएका जनाएको छ ।

एक सैन्य अधिकारीले रुसले सहरमा कम्तीमा पाँच बम खसालेको बताए ।

रुस र युक्रेनबीच क्राइमियाका विषयमा लामो समयदेखि विवाद छ । रुसले सन् २०१४ मा नै क्राइमिया कब्जा गरेको थियो । अन्तर्राष्ट्रियस्तरमा यसलाई अझै पनि युक्रेनकै हिस्सा मानिन्छ ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १५:०५
प्रतिक्रिया दिनुहोस्