काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति व्यापारी एलन मस्क ११५ दिनपछि पहिलोपटक सार्वजनिक रूपमा सँगै देखिएका छन् ।
पूर्वसाझेदार ट्रम्प र मस्कबीच सार्वजनिक कलह बढेपछि उनीहरूलाई विरोधीका रूपमा चित्रित गरेको थियो । तर, आइतबार (सेप्टेम्बर २) दक्षिणपन्थी प्रभावशाली कार्यकर्ता चार्ली कर्कको सम्झनामा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा उनीहरू फेरि भेटिएका तस्बिरहरू सार्वजनिक भएका छन् ।
टेस्लाका संस्थापक मस्कले एरिजोनाको ग्लेनडेलस्थित स्टेट फार्म एरिनामा ट्रम्पसँग हात मिलाए र दुवैजना एकअर्कासँगै बसेका देखिएका थिए । त्यहाँ हजारौँ मानिस सेप्टेम्बर १० मा युटा विश्वविद्यालय क्याम्पसमा गोली हानी हत्या गरिएका कर्कलाई श्रद्धाञ्जलि दिन भेला भएका थिए ।
भेटपछि उनीहरू दुईबीच के कुरा भयो भन्ने चासो धेरैमा देखिएको छ । कार्यक्रमको भिडियोमा उनीहरू मित्रवत ढंगले कुरा गरिरहेको देखिएपछि एक लिप–रिडरले यसको व्याख्या गर्ने दाबी गरेका छन् ।
डेली मेलका अनुसार, लिप–रिडर निकोला हिकलिङले ट्रम्पले मस्कलाई तपाईंलाई कस्तो छ भनेर सोधे । त्यसपछि उनले थपे, ‘त्यसो भए एलन, मैले सुनेँ तपाईं कुरा गर्न चाहनुहुन्थ्यो ।’ त्यो समय मस्क काँध हल्लाउँदै गरेको देखिन्छ ।
ट्रम्पको अर्कोतर्फ यूएफसी आइकन डाना ह्वाइट पनि बसेका थिए र उनी समेत कुराकानीमा सहभागी थिए । हिकलिङका अनुसार, त्यसपछि ट्रम्पले मस्कलाई भने, ‘आउनुहोस्, हामी कसरी फेरि सही बाटोमा फर्कन सक्छौँ, भनेर पत्ता लगाऔँ ।’
मस्कले टाउको हल्लाउँदै सहमति जनाए । त्यसपछि ट्रम्पले उनको हात समाउँदै भने, ‘मैले तपाईंलाई मिस गरेँ ।’
एलन मस्कले ट्रम्पलाई दोस्रोपटक राष्ट्रपति बनाउन कुनै कसर बाँकी राखेका थिएनन् । चुनावी चन्दा होस् वा सार्वजनिक समर्थनमा मस्कले ट्रम्पलाई खुलेर सहयोग गरेका थिए ।
तर, ट्रम्पको कार्यकालमा ल्याइएको बिग ब्युटिफुल ट्याक्स एन्ड स्पेन्डिङ बिलले उनीहरूबीचको सम्बन्धमा फाटो ल्याएको थियो ।
मस्कले सो विधेयकले अमेरिकी सरकारको घाटा बढाउने दाबी गरेका थिए । विधेयक पारित हुनुअघि उनले नयाँ अमेरिकी पार्टी गठनको चेतावनी दिएका थिए । र, विधेयक कानुन बनेपछि उनले नयाँ पार्टीको घोषणा समेत गरे ।
त्यसबाहेक मस्कले एपस्टिन फाइलसम्बन्धी विवादमा पनि ट्रम्पमाथि आरोप लगाएका थिए । उनका अनुसार, ट्रम्पको नाम ती फाइलमा समावेश भएकाले प्रशासनले तिनलाई सार्वजनिक नगरेको हो ।
एक कुख्यात बाल यौन अपराधी र तस्कर जेफ्री एपस्टिनमाथि नाबालिग केटीहरूमाथि बलात्कार र शक्तिशाली राजनीतिज्ञ, व्यापारी तथा सेलिब्रिटीहरूका लागि तस्करी गरेको आरोप लागेको थियो । एनडीटीभी