site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पको गुनासो– राष्ट्रसंघको काम मैले गरिरहनुपरेको छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै फेरि एकपटक भारत–पाकिस्तानलगायत सातवटा युद्ध रोकेको दाबी गरेका छन् । उनले भने, “पछिल्ला सात महिनामा मैले सात ठूला युद्ध रोकेको छु ।”

ट्रम्पले भने, “म युद्ध अन्त्य गरेर लाखौँ मानिसको ज्यान बचाउनमा व्यस्त थिएँ । पछि मलाई संयुक्त राष्ट्रसंघ हाम्रो लागि होइन भन्ने महसुस भयो । हामीसँग असीमित क्षमता छ ।”

ट्रम्पले आफ्नो सात महिनाको प्रशासनमा सात देशबीच भइरहेका अकल्पनीय युद्ध अन्त्य गराएको दाबी गरे । तीमध्ये कम्बोडिया–थाइल्यान्ड, कोसोभो–सर्बिया, कंगो–रुवान्डा, भारत–पाकिस्तान, इजरायल–इरान, इजिप्ट–इथियोपिया र आर्मेनिया–अजरबैजान छन् ।

“दुःखद् कुरा के हो भने यी कामहरू संयुक्त राष्ट्रसंघको सट्टा मैले गर्नुपर्‍यो । अझ दुःखको कुरा, संयुक्त राष्ट्रसंघले यी मामिलामध्ये कुनैमा पनि मद्दत गर्ने प्रयास गरेन,” उनले भने ।

संयुक्त राष्ट्रसंघको एक शरणार्थी एजेन्सीले विस्थापित व्यक्तिहरूलाई सहयोग गर्छ । तर, ट्रम्पले त्यसैको प्रसंग उठाएका हुन् वा होइनन् भन्ने स्पष्ट छैन ।

ट्रम्पले संयुक्त राष्ट्रसंघमाथि पश्चिमी देशहरू र उनीहरूको सिमानामा हुने आक्रमणका लागि पैसा दिने आरोप लगाए । उनले अमेरिकाको दक्षिणी सिमानामा प्रवेश गर्ने आप्रवासीहरूलाई ‘क्यास कार्ड’ दिने आरोप पनि लगाए ।

ट्रम्पले युद्धविराममा आफ्नो भूमिका भएकाले आफूलाई नोबेल शान्ति पुरस्कार मिल्नुपर्ने दाबी गरे । “मेरो लागि वास्तविक पुरस्कार ती छोराछोरीहरू हुनेछन्, जो अब आफ्ना आमाबुबासँग हुर्कनेछन् । लाखौँ मानिस अब अनन्त र अपमानजनक युद्धहरूमा मारिँदैनन्,” उनले भने, “मलाई पुरस्कार जित्ने होइन, ज्यान बचाउने चिन्ता छ । हामीले सात युद्धमा लाखौँ मानिसको ज्यान बचायौँ । अझ अरू संघर्षहरू पनि छन्, जसलाई अन्त्य गर्न हामी काम गरिरहेका छौँ ।”

ट्रम्पले संयुक्त राष्ट्रसंघमाथि कडा आलोचना गरे । उनले भने, “संयुक्त राष्ट्रसंघसँग अपार क्षमता छ भनेर मैले सधैँ भनेको छु, तर यसले त्यो क्षमताको नजिकसम्म पनि पुग्न सकेको छैन ।”

उनका अनुसार, संयुक्त राष्ट्रसंघ केवल कठोर शब्द प्रयोग गरेर पत्र लेख्छ । तर, त्यसलाई कार्यान्वयन गर्दैन । “खोक्रा शब्दहरूले युद्ध समाधान हुँदैन,” ट्रम्पले भने, “संयुक्त राष्ट्रसंघले युद्ध अन्त्यमा ध्यान दिनुपर्छ । यो हाम्रो लागि होइन । यदि, सदस्य राष्ट्रहरूले यसलाई प्रभावकारी रूपमा प्रयोग गरे भने यस संठनसँग ठूलो शक्ति छ ।” एनडीटीभी

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्