site stats
बाह्रखरी :: Baahrakhari
विदेश
नेटोको हवाइ क्षेत्रमा रूसी विमान घुसे खसाल्न ट्रम्पको निर्देशन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गर्दै रूसी विमान नेटो देशहरूको एयरस्पेसमा छिरे तिनीहरूलाई खसालिदिनुपर्ने बताएका छन् । 

उनले रूसलाई ‘कागजी बाघ’ भएको पनि बताए । ट्रम्पले रूस पछिल्लो साढे तीन वर्षदेखि युद्धमा फसेको तर जित हासिल गर्न नसकेको बताए । उनले रूस वास्तविक सैन्य शक्ति भएको भए यो युद्ध एक हप्तामा समाप्त भइसक्नुपर्ने बताए । 

ट्रम्पले बैठकअघि संयुक्त राष्ट्रसंघको महासभामा दिएको आफ्नो भाषणमा युरोपेली देशहरूलाई रूसबाट तेल र ग्यास किन्न पूर्णरूपमा बन्द गर्न अपिल गरे । उनले नेटो देशहरूले आफैँ युद्धलाई आर्थिक सहयोग गरिरहेको बताए ।

जेलेन्स्कीले भने– ट्रम्पको भनाइ गेम चेन्जर
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पनि सुरक्षा परिषद्को बैठकमा अमेरिकाबाट रूसमाथि थप दबाब दिन माग गरे । उनले जमीन फिर्ता लिने ट्रम्पको भनाइलाई गेम चेन्जर भएको बताए ।

पहिले ट्रम्पले युद्ध समाप्त गर्नका लागि युक्रेनलाई केही जमीन छोड्नुपर्ने हुनसक्ने धेरैपटक बताएका थिए । मंगलबार राति फक्स न्युजलाई दिएको अन्तर्वार्तामा जेलेन्स्कीले युक्रेनमाथि ट्रम्पको अचानक बदलिएको अडानबाट आफू छक्क परेको बताएका छन् ।
 
उनले ट्रम्पको यो अडान युद्ध समाप्त गर्नमा सहयोगी हुन सक्ने बताए । उनले यसबाट अमेरिका युद्ध समाप्त भएपछि पनि युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन तयार रहेको बुझ्न सकिने बताए ।

यद्यपि, जेलेन्स्कीले अहिले यस्तो कुनै ठोस विवरण नभएको स्वीकार गरे । तर, उनले भविष्यमा थप हतियार, एयर डिफेन्स सिस्टम र ड्रोनहरू मिल्ने सम्भावना रहेको विश्वास व्यक्त गरेका छन् ।

जेलेन्स्कीले अन्तर्वार्तामा उनी र ट्रम्पबीच धेरै कुराकानी र भेटघाट भइरहेकोले सम्बन्ध राम्रो हुँदै गएको बताए । ट्रम्प र जेलेन्स्कीको सम्बन्ध पहिले निकै तनावपूर्ण भए पनि मंगलबार भएको भेटमा ट्रम्पले जेलेन्स्कीलाई बहादुर व्यक्ति बताएका थिए ।  सीएनएन
 

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्