site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विराटनगर पुगेर अर्थमन्त्रीले के गरे ? के भने ?

विराटनगर । अर्थमन्त्री रामेश्वर खनाल बुधबार अपराह्न विराटनगर विमानस्थलमा ओर्लिए । 'टाइट सेड्युल'का साथ आएका उनी विमानस्थलको भीआईपी कक्ष छिरेनन्, सर्वसाधारणसँगै बाहिरिए ।

त्यसपछि सोझै जेनजी आन्दोलनका घाइते सान्तनु ढकाललाई भेट्न विराट मेडिकल कलेज टिचिङ हस्पिटल पुगे । ढकाल त्यहाँ उपचाररत छन् ।

विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले प्रदेश संरचना खारेज गर्ने र नोटबन्दी गर्ने कुनै छलफल नभएको बताए । त्यसपछि आन्तरिक राजस्व कार्यालय विराटनगरको निरीक्षण गर्दै क्षतिको जानकारी लिए ।

उनले भने, “अहिलेको सरकार संविधानसम्मत गठन भएको छ । तत्काल प्रदेश खारेज गर्ने विषय प्राथमिकतामा पर्दैन ।” बरु संघीय अनुदानमा चल्ने प्रदेश सरकारहरूले जथाभाबी नियुक्ति गर्न नहुने बताए ।

“संघीय मन्त्रिपरिषद्ले स्वकीय सचिवलगायतको नियुक्ति रोक्ने निर्णय गरेको छ, तपाईंहरूले पनि यही कुरा भनिदिनुहोला,” उनले भने, “अवकाश भएकालाई पनि नियुक्त गरिन्छ, अनुदानमा चलेर त्यो गर्न पाइँदैन । जेनजी आन्दोलन यस्तै कुराको विरुद्ध थियो ।”

अर्थमन्त्री खनालले मन्त्रिपरिषद्ले निर्णय गरेर भूमि आयोग पनि खारेज गरेको बताए । प्रदेश कानुनहरू भने यथावत् रहेको उनको भनाइ थियो ।

नयाँ सरकारले नोटबन्दी गर्ने भन्ने हल्लाबारे उनले भने, “कुनै पनि नोटबन्दी गर्ने विषयमा अहिलेसम्म छलफल नै भएको छैन । नेपाली रुपैयाँ ५०० र १००० को नोट प्रतिबन्ध लगाउनेबारेमा छलफल नै भएको छैन ।”

अर्थमन्त्रीले बुधबार विराटनगर भन्सार कार्यालयमा अनलाइन भ्यालुएसन सफ्टवेयरको उद्घाटन गरेका छन् । देशका सबै मुख्य भन्सार कार्यालयमा यस्तो सफ्टवेयर इन्स्टल गरेर सञ्चालनमा ल्याउने भन्सार विभागको तयारी छ । सोही अनुरूप विराटनगरमा पाइलट कार्यक्रमका रूपमा यसको सञ्चालन गरिएको हो ।

हरेक ६ महिनामा विभागले अद्यावधिक गर्ने सन्दर्भ मूल्यसूचीलाई क्रमशः निष्क्रिय बनाउँदै लैजाने र वास्तविक मूल्यांकन पद्धति अपनाउने उद्देश्यले यस्तो सफ्टवेयर राखिएको हो ।

विराटनगरका उद्योगी व्यवसायीसँग अन्तरक्रिया गरेर मन्त्री खनाल आज साँझ नै काठमाडौं फर्किँदै छन् ।

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्