काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ महासभालाई मंगलबार सम्बोधन गर्ने क्रममा लन्डनका मेयर सादिक खानलाई निसाना बनाउँदै खानले लन्डनमा ‘सरिया कानुन’ ल्याउन चाहेको दाबी गरेका थिए ।
दोस्रो कार्यकालमा राष्ट्रपति बनेपछि संयुक्त राष्ट्रसंघ महासभामा ट्रम्पको यो पहिलो भाषण थियो । डोनाल्ड ट्रम्पका लागि १५ मिनेट छुट्याइएको भए पनि उनको भाषण करिब एक घण्टा लामो भयो ।
भाषणमा ट्रम्पले संयुक्त राष्ट्रसंघमाथि पश्चिमी देशहरूमा घुसपैठलाई ‘बढावा दिएको’ आरोप लगाए । साथै, भारत र पाकिस्तानबीचको युद्ध रोक्न आफूले श्रेय पाएको दाबी पनि दोहोऱ्याए ।
तर, सादिक खानबारे उनले गरेको टिप्पणी बेलायतमा पनि व्यापक आलोचनाको विषय बनेको छ । बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले ट्रम्पको दाबीलाई खारेज गर्दै सादिक खानले राजधानी लन्डनमा सरिया कानुन लागु गर्ने कुनै प्रयास नगरेको बताए । लन्डन मेयरको कार्यालयले पनि यसबारे आधिकारिक वक्तव्य जारी गरेको छ ।
सादिक खानबारे ट्रम्पको टिप्पणी
महासभालाई मंगलबार सम्बोधन गर्दै युरोपमा आप्रवासी संकटबारे कुरा गर्दै ट्रम्पले भने, “म लन्डनलाई हेर्छु, जहाँ एउटा अत्यन्त खराब मेयर छन् । एकदमै खराब मेयर । लन्डन पूरै बदलिएको छ । अब उनीहरू सरिया कानुनतर्फ जान चाहन्छन् । यो साँच्चै अर्को देशजस्तो भइसकेको छ, तर यस्तो गर्न सकिँदैन ।”
तर, लन्डनका मेयर सादिक खानले सरिया कानुन लागु गर्नेबारे कुनै भनाइ दिएका थिएनन् । त्यसैले ट्रम्पले कुन प्रसंगलाई इंगित गरेका थिए भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।
ट्रम्पले आफ्नो कुरा अघि बढाउँदै थपे, “यदि तुरुन्तै केही गरिएन भने, आप्रवासन र ऊर्जासम्बन्धी आत्मघाती नीतिहरूले पश्चिमी युरोपलाई पतनतर्फ धकेल्नेछन् ।”
ट्रम्प यसअघि पनि आप्रवासनबारे सादिक खानमाथि प्रहार गर्दै आएका थिए ।
गत हप्तामात्रै बेलायत भ्रमणमा रहेका ट्रम्पले आफ्ना स्वागत भोजमा सादिक खान सहभागी नहोस् भन्ने इच्छा प्रकट गरेका थिए । त्यतिबेला उनले भनेका थिए, “मलाई लाग्छ, लन्डनका मेयर खान संसारका सबैभन्दा खराब मेयरहरूमध्ये एक हुन् । उनले धेरै खराब काम गरेका छन् । लन्डनमा अपराध उच्चस्तरमा पुगेको छ । मैले उनलाई त्यहाँ (स्वागतमा) नबस्न भनेको छु । उनी आउन चाहन्थे जस्तो लाग्छ, तर म चाहन्नँ ।”
बेलायतको जवाफ
लन्डनका पहिलो मुस्लिम मेयर सादिक खानबारे ट्रम्पको दाबीमा मेयर कार्यालयसँग प्रश्न सोधिएको थियो । यसमा प्रवक्ताले भने, “हामी उहाँका घृणापूर्ण र संकीर्ण सोच भएका बयानलाई प्रतिक्रिया दिएर महत्त्व दिन चाहँदैनौँ । लन्डन विश्वकै उत्कृष्ट सहर हो, जुन प्रमुख अमेरिकी सहरहरूको तुलनामा अझ सुरक्षित छ । हामी खुसी छौँ किनभने अमेरिकी नागरिकहरूको रेकर्ड संख्या यहाँ बस्न आइरहेको छ ।”
यस्तै, बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले पनि सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै भने, “सादिक खानले लन्डनमा सरिया कानुन लागु गर्ने प्रयास गरिरहेका छैनन् । उनी प्राइड मार्चमा सहभागी हुने, फरक–फरक पृष्ठभूमि र विचारका लागि उभिने र हाम्रो यातायात, हावा, सडक, सुरक्षा र अवसर सुधार्न केन्द्रित रहने मेयर हुन् । उनी हाम्रा मेयर हुनुमा गर्व छ ।”
सादिक खान र ट्रम्पबीचको पुरानो विवाद
पाकिस्तानी मूलका सादिक खान बेलायतका प्रधानमन्त्री किएर स्टार्मर नेतृत्वको लेबर पार्टीका नेता हुन् । सादिक खान सन् २०१५ देखि नै डोनाल्ड ट्रम्पको निसानामा छन् । त्यसबेला खानले अमेरिकामा मुस्लिम आप्रवासीमाथि ट्रम्पले प्रस्ताव गरेको प्रतिबन्धको कडा आलोचना गरेका थिए । त्यसको एक वर्षपछि ट्रम्पले खानलाई आईक्यू टेस्ट गराउन चुनौती दिएका थिए ।
सन् २०१९ मा राष्ट्रपति पदमा रहँदा ट्रम्पको पहिलो बेलायत भ्रमणका क्रममा सादिक खानले ‘ट्रम्प बेबी’ नामक विशाल बेलुन उडाउन अनुमति दिएका थिए । जुन ट्रम्पविरुद्धको व्यंग्य थियो र लन्डनमा चर्चाको विषय बनेको थियो ।
गत वर्ष नोभेम्बर ५ मा अमेरिकी राष्ट्रपतीय चुनावअघि एक पडकास्टमा सादिक खानले भनेका थिए, “यदि मेरो रंग यो नभएको भए, यदि म इस्लाम मान्ने नभएको भए, उहाँ (ट्रम्प) मेरो पछि लाग्नु हुने थिएन ।”
बीबीसी हिन्दीबाट ।