काठमाडौं । फ्रान्सको पेरिस, इटालीको रोमदेखि इन्डोनेसियाको जकार्ता र अमेरिकाको न्युयोर्कसम्म विरोध प्रदर्शनका क्रममा सार्वजनिकस्थलमा अनौठो झन्डा देखिँदै छ ।
ख्याउटे गाला, चौडा मुस्कान र रातो पट्टीसहितको स्ट्र ह्याट (टोपी) भएको उक्त आकृति तुरुन्तै चिन्न सकिने प्रतीक बनेको छ । त्यसलाई परिवर्तनको मागसहित युवा प्रदर्शनकारीले उचालिरहेका छन् ।
यही सेप्टेम्बरमा काठमाडौंमा सिंहदरबार जलाइँदा पनि यो झन्डा एक परिभाषित प्रतीक बनेको थियो । सामान्यतया कालो पृष्ठभूमिमा सजिएको यो झन्डा लोकप्रिय जापानी ‘मांगा वान पिस’बाट आएको हो ।
करिब तीन दशकअघि एउटा काल्पनिक समुद्री डाँकु टोलीको चिह्नका रूपमा जन्मिएको यो प्रतीक यति बेला युवा नेतृत्वको प्रतिरोधको शक्तिशाली परिचायक बनेको छ । इन्डोनेसिया, नेपाल, फिलिपिन्सदेखि फ्रान्ससम्मका प्रदर्शनमा यसको उपस्थिति देख्न सकिन्छ ।
राजनीतिक अभिव्यक्तिमा पप संस्कृति
वान पिस जेनजी पुस्ताको जन्मसँगै आएको सांस्कृतिक उत्पादन हो । सन् १९९७ मा जापानी मांगा कलाकार इइचिरो ओडाले सिर्जना गरेको यो कृति ५० करोडभन्दा बढी प्रति बिक्री भइसकेको छ । प्रकाशन सफलताका निम्ति गिनिज वर्ल्ड रेकर्डमा यसको नाम लेखिएको छ । यसले लामो समयदेखि चलिरहेको टेलिभिजन शृंखला, लाइभ–एक्सन फिल्म र २० अर्ब डलरभन्दा बढीको उद्योग सिर्जना गरेको छ ।
मूल कथामा मंकी डी. लफी र उनको टोली स्ट्र ह्याट पाइरेट्सले स्वतन्त्रता र साहसिक यात्राको खोजी गर्दै एक भ्रष्ट विश्व सरकारलाई चुनौती दिन्छ ।
फ्यानका निम्ति यो झन्डा सजावट मात्र होइन, अस्वीकार र लगनशीलताको प्रतीक हो । लफीको लचिलोपन र स्वतन्त्रताको अटल खोज युवाको असमानता, भ्रष्टाचार र अधिनायकवादविरुद्धको संघर्षसँग प्रतिध्वनित हुन्छ ।
प्रदर्शनमा प्रतीकको उदय
यो झन्डा विगत केही वर्षयता प्रदर्शनमा देखिन थालेको हो । सन् २०२३ मा इन्डोनेसियामा भएको ‘फ्री प्यालेस्टाइन’ प्रदर्शन र न्युयोर्कमा प्यालेस्टाइनी समर्थक र्यालीमा यो झन्डा फहर्याइएको थियो ।
गएको अगस्टमा इन्डोनेसियामा यसको राजनीतिक प्रयोगले वास्तविक रूप लियो । त्यहाँ प्रदर्शनकारीले भ्रष्टाचार र असमानताविरुद्ध आक्रोश व्यक्त गर्न यसलाई अपनाए । यही समयमा आयोजित स्वतन्त्रता उत्सवको सरकारी आह्वानसँग यसको विरोधात्मक प्रयोगले आधिकारिक राष्ट्रवाद र जनस्तरको असहमतिको दूरी झनै बढायो ।
सरकारी आलोचनापछि झन्डाले झन् बढी ध्यान खिच्यो । अधिकारीहरूले यसलाई राष्ट्रिय एकतामाथिको खतरा भने । प्रदर्शनकारीले यसलाई वैध असन्तुष्टिको अभिव्यक्ति माने ।
किन फैलियो ‘वान पिस’ झन्डा
यो झन्डाको तीव्र फैलावट जेनजी पुस्ताको डिजिटल संस्कृतिसँग गाढा सम्बन्ध छ । यो पहिलो पुस्ता हो, जो मिम, एनिमे र विश्वव्यापी मनोरञ्जन फ्रेन्चाइजमा पूर्ण रूपमा अनलाइन हुर्किएको छ । उनीहरूको राजनीतिक सञ्चार औपचारिक संगठनभन्दा डिजिटल प्लेटफर्ममा बनेका समुदायमा निर्भर छ ।
यो वातावरणमा पार्टी वा विचारधाराको सदस्यता आवश्यक पर्दैन, बरु साझा सांस्कृतिक सन्दर्भ नै पहिचानको आधार हुन्छन् । मिमे, हाउभाउ वा झन्डाले भाषा, धर्म वा भूगोल पार गरेर तत्काल अर्थ दिन सक्छ ।
इन्डोनेसियालीले झन्डा हल्लाएको भिडियो टिकटक र इन्स्टाग्राममार्फत सेयर भएपछि यसको प्रभाव मूल सन्दर्भभन्दा टाढासम्म फैलियो । सेप्टेम्बरमा काठमाडौंमा देखिँदा यो प्रतीक पहिले नै युवा विद्रोहको आभा बोकेको थियो ।
नेपालमा यो झन्डा युवा बेरोजगारी र राजनीतिक वंशको भड्किलो जीवनशैलीप्रतिको आक्रोशसँग जोडियो । इन्डोनेसियामा भने यसले खोक्रो देखिएका आधिकारिक राष्ट्रवादी क्रियाकलापप्रति मोहभंगलाई प्रतिविम्बित गर्यो ।
अस्पष्ट तर प्रभावकारी प्रतीक
यो झन्डा पार्टीको लोगोभन्दा फरक छ । पप संस्कृतिबाट उत्पन्न भएकाले यसलाई अधिनायकवादी शासनले दबाउन सजिलो हुँदैन । इन्डोनेसियामा झन्डा जफत र आलोचना भएपछि झन् बढी लोकप्रिय भयो ।
विश्वव्यापी सन्दर्भ
यस्ता सांस्कृतिक प्रतीकको प्रयोग नयाँ होइन । चिली र बेरुतमा प्रदर्शनकारीले जोकर मास्क लगाएर आक्रोश व्यक्त गरेका थिए । थाइल्यान्डमा बालबालिकाको एनिमे ह्याम्तारोलाई प्रयोग गरेर नेताहरूको खिल्ली उडाइएको थियो ।
नेपालमा बेरोजगारी २० प्रतिशतभन्दा बढी हुँदा र कामको खोजीमा बसाइँसराइ बढ्दो अवस्थामा युवाले यो प्रतीकलाई ‘जेनजी चुप लाग्दैन’ वा ‘हाम्रो भविष्य बिक्रीमा छैन’ भन्ने नारासँग जोडेर प्रयोग गरेका छन् ।
यसरी वान पिसको झन्डाले वर्तमान युवा पुस्ताको विद्रोही पहिचानलाई सांस्कृतिक प्रतीकमा रूपान्तरण गरेको छ । जकार्ता, काठमाडौं वा मनिलामा यो झन्डा फहराउँदा उनीहरू नाटक गरिरहेका होइनन् । बरु, विद्रोहको जीवित प्रतीक निर्माण गरिरहेका छन् । एजेन्सी