site stats
बाह्रखरी :: Baahrakhari
विदेश
आफू तीनवटा षड्यन्त्रको सिकार भएको भन्दै ट्रम्पले गरे अनुसन्धानको माग

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ महासभामा मंगलबार आफू तीनवटा ठूला षडयन्त्रको सिकार भएको बताएका छन् । उनले यी घटनाहरूलाई षड्यन्त्रको परिणाम भनेका छन् ।

ट्रम्पले बुधबार सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा लेख्दै, संयुक्त राष्ट्रसंघले आफैँ लाज मान्नुपर्ने टिप्पणी गरेका छन् । उनले भने, “हिजो संयुक्त राष्ट्रसंघमा एक होइन, दुई होइन, तीनवटा अत्यन्त शंकास्पद घटना भए ।”

ट्रम्पले उल्लेख गरेका ती घटनामा एस्केलेटर रोकिनु, टेलिप्रम्प्टर बिग्रनु र महासभा हलको साउन्ड सिस्टममा समस्या आउनु परेका थिए । उनले यूएन महासचिवलाई पत्र लेख्दै तत्काल अनुसन्धानको माग गरेका छन् । साथै, एस्केलेटरका सबै सुरक्षा क्यामेरा र आपतकालीन स्टप बटनको रेकर्डिङ सुरक्षित राख्न आग्रह गर्दै सिक्रेट सर्भिस यसमा संलग्न हुने बताएका छन् ।

संयुक्त राष्ट्रसंघ महासभाको बैठकमा प्रवेश गर्दा ट्रम्पसँग तीन प्रकारका गडबडीहरू भएका थिए । प्हिलो घटनाको रूपमा मुख्य फ्लोरमा जाने एस्केलेटर अचानक रोकिएको थियो । उनले यदि आफू र प्रथम महिला मेलानियाले ह्यान्डल समातेका छैनन् भने दुर्घटना हुन सक्ने बताएका छन् । यस घटनालाई उनले षड्यन्त्रको संज्ञा दिँदै घटनामा जिम्मेवारहरूको गिरफ्तारीको माग गरेका छन् ।

दोस्रो घटनाको रूपमा, ८०औँ महासभा सत्रमा भाषण सुरु गर्दा टेलिप्रम्प्टरले काम गरेको थिएन । ट्रम्पले भने, “यो कस्तो ठाउँ हो, जहाँ एस्केलेटरपछि अब टेलिप्रम्प्टर पनि बिग्रन्छ ?” यद्यपि उनले टेलिप्रम्प्टरबिना नै ५७ मिनेट लामो भाषण दिएका थिए।

तेस्रो घटना साउन्ड सिस्टममा गडबडीको थियो । ट्रम्पको भाषणपछि हलमा साउन्ड सिस्टम बन्द हुँदा अन्य देशका नेताहरूले उनको भनाइ सुन्न अनुवादकको इयरपिसमा भर पर्नुपरेको थियो । भाषणपछि मेलानियाले ‘एक शब्द पनि नसुनिएको’ बताएको ट्रम्पले दाबी गरे ।

अमेरिकी राष्ट्रपति ट्रम्पले २५ सेप्टेम्बर २०१८ मा संयुक्त राष्ट्रसंघ महासभामा भाषण दिँदै, दुई वर्षभन्दा कम अवधिमा आफूले बाँकी सबै अमेरिकी राष्ट्रपतिभन्दा बढी काम गरेको दाबी गरेका थिए । तर, उनको भनाइ सुनेपछि हलमा उपस्थित विश्व नेताहरू हाँसेका थिए । त्यसपछि ट्रम्पले न्युजिल्यान्डकी तत्कालीन प्रधानमन्त्री जैसिन्डा अर्डनतर्फ हेरेर भनेका थिए, “मलाई यस्तो प्रतिक्रियाको अपेक्षा थिएन । तर, कुनै कुरा छैन ।”

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्