site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादीको केन्द्रीय समिति बैठक भोलि पनि बस्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को बिहीबार सुरु केन्द्रीय समिति बैठकमा हाल विभिन्न १० वटा प्रदेश समितिमा छलफल भइरहेको छ । 

कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले पेस गरेको प्रस्तावमाथि समूहगत रूपमा छलफल भइरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनले भने, “आज प्रदेशगत छलफल भइरहेको छ, भोलि बिहान ११ बजे फेरि बैठक बस्नेछ । सम्भवतः भोलि नै बैठक सकिन्छ होला ।”

पार्टी अध्यक्ष प्रचण्डको प्रस्तावमाथि वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र उपमहासचिव शर्माले असहमति जनाएका छन् । 
श्रेष्ठले निर्वाचनपछि महाधिवशेन गर्ने प्रस्ताव अघि सारेका छन् भने शर्माले अध्यक्षसहित सबै पदाधिकारीले राजीनामा दिनुपर्ने प्रस्ताव अघि सारेका छन् । 

प्रचण्डले भने मंसिर अन्तिम सातातिर महाधिवेशन गर्ने र पार्टी केन्द्रीय समिति भंग गरेर महाधिवेशन मूल आयोजक समिति गठन गर्ने प्रस्ताव गरेका छन् । उनले महाधिवशेन आयोजक समितिको संयोजक आफैँ बस्ने प्रस्तावमा भनेका छन् । 

अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र उपमहासचिव शर्माको प्रस्तावमाथि छलफल गरेर भोलि बस्ने बैठकमा धारणा प्रस्तुत गर्ने सापकोटाले बताए । 

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  १९:२२
प्रतिक्रिया दिनुहोस्