काठमाडौं । अमेरिकी न्याय विभागले गुप्तचर संस्था एफबीआईका पूर्वप्रमुख जेम्स कोमीलाई संवेदनशील जानकारी खुलासा गरेको अभियोग लगाएको छ । उनीमाथि झुटा बयान दिएको र न्यायमा अवरोध पुर्याएको अभियोग दर्ता गरिएको छ ।
अभियोगको घोषणा गर्दै अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले भनिन्, “कसैलाई पनि कानुनभन्दा माथि राखिन्न ।”
यसै हप्ताको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोमीसहित धेरै राजनीतिक विरोधीहरू ‘नर्कजस्तै दोषी’ भएको टिप्पणी गर्दै न्यायको सुनिश्चितता हुनैपर्ने बताएका थिए । ट्रम्पले कोमीमाथि अभियोग लागेको खबरलाई खुलेर समर्थन गरेको सीएनएनले जनाएको छ ।
कोमीलाई ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतीय कार्यकाल (२०१७) मा बर्खास्त गरेका थिए । त्यसयता दुवैबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप जारी छ ।
पूर्वएफबीआई निर्देशकमाथि संघीय ग्रान्ड जूरीले अभियोग दर्ता गरेको छ, जुन ट्रम्पले आफ्ना राजनीतिक विरोधीहरूलाई मुद्दा चलाउने असाधारण कदमका रूपमा चित्रण गरिएको छ ।
लामो समयदेखि ट्रम्पका कट्टर विरोधी रहेका कोमी, सन् २०१६ को चुनावमा ट्रम्पको अभियानले रूससँग साँठगाँठ गरेको वा नगरेको विषयमा भएको अनुसन्धानका कारण संघीय अभियोगको सामना गर्ने पहिलो वरिष्ठ अधिकारी बनेका हुन् ।
ट्रम्पले भनेका छन्, “अमेरिकामा न्याय ! यो देशले अहिलेसम्म देखेको सबैभन्दा खराब मानिसमध्ये एक जेम्स कोमी, एफबीआईका पूर्वभ्रष्ट प्रमुख हुन् ।”
आरोपहरूको विवरण
अमेरिकी न्याय विभागले जारी गरेको विज्ञप्तिअनुसार, कोमीमाथि झुटा बयान दिएको र संसदीय कामकारबाहीमा अवरोध पुर्याएको अभियोग लागेको छ । दोषी ठहरिएमा उनलाई पाँच वर्षसम्म कैद सजाय हुनसक्छ ।
यी दुवै आरोप ३० सेप्टेम्बर २०२० मा सिनेट न्याय समितिमा दिएको उनको बयानसँग सम्बन्धित छन् ।
विभागका अनुसार, उनले सुनुवाइमा एफबीआईका कसैलाई पनि गुमनाम स्रोत बन्न अनुमति नदिएको बताएका थिए । तर, अभियोगअनुसार त्यो बयान झुटो थियो ।
कोमीले इन्स्टाग्राम भिडियोमार्फत प्रतिक्रिया दिँदै भने, “आउनुहोस्, मुद्दा चलाऔं र विश्वास कायम राखौँ । न्याय विभागप्रति मेरो हृदय टुटेको छ, तर संघीय न्याय प्रणालीमा मेरो ठूलो विश्वास छ । म निर्दोष छु ।”
महान्यायाधिवक्ता बोन्डीले एक्समा पोस्ट गर्दै भनिन्, “आजको यो अभियोगले शक्तिमा रहेर दुरुपयोग गर्नेहरूलाई जवाफदेही बनाउने न्याय विभागको प्रतिबद्धतालाई देखाउँछ । हामी यस मामिलामा तथ्यलाई पछ्याउनेछौँ ।”
यो आरोपपत्र ट्रम्पका पूर्वव्यक्तिगत वकिल र भर्जिनियाको पूर्वी जिल्लाका नयाँ प्रमुख अभियोजक लिन्डसे ह्यालिगनद्वारा प्रस्तुत गरिएको हो । उनीसँग कुनै अन्य अभियोजकको सहयोग थिएन र आरोपपत्रमा हस्ताक्षर गर्ने एक्ली अधिकारी पनि उनी नै हुन् ।
एक संक्षिप्त सुनुवाइमा न्यायाधीशले कोमीविरुद्ध नयाँ मुद्दाको घोषणा गरे । १४ जना जूरी सदस्यहरूले संसदीय कार्यवाहीमा अवरोध र झुटा बयानबारे अभियोगमा सहमति जनाए ।
अभियोजनमाथि आशंका र ट्रम्पको दबाब
सीएनएनका अनुसार, यो अभियोग बोन्डी र अन्य अभियोजकहरूले व्यक्त गरेको चिन्ताबीच आएको हो । बोन्डीमाथि ट्रम्पले राजनीतिक शत्रुहरूमाथि पनि आपराधिक मुद्दा दर्ता गर्न दबाब दिएको आरोप छ ।
ट्रम्पले भने, “म चाहन्छु कारबाही छिटो होस् । यदि, उनीहरू दोषी छैनन् भने ठीक छ, तर दोषी भए तत्काल आरोप लगाउनुपर्छ ।”
तर, ह्वाइट हाउसका केही अधिकारीहरूले यो कदमलाई ट्रम्पलाई खुसी पार्न गरिएको ‘आत्मघाती राजनीतिक निर्णय’ भनेका छन् ।
उपप्रमुख स्टाफ स्टीफन मिलरले फक्स न्यूजमा भने, “कोमी भ्रष्ट छन्, गैरकानुनी गतिविधिमा संलग्न छन् । र, ‘रशियागेट’ आक्रमणको केन्द्रमा थिए । उनीमाथि जवाफदेही लिइनुपर्छ ।”
यस्तै, ट्रम्पका आर्थिक सल्लाहकार पीटर नभारोले पनि कोमीलाई तुरुन्त जेल पठाउनुपर्ने माग गरेका छन् । नभारो स्वयं सन् २०२० को चुनाव उल्ट्याउने प्रयाससँग सम्बन्धित आदेश पालना नगरेका कारण पहिले नै संघीय जेलमा सजाय काटिसकेका थिए ।
उनले भने, “मेरा विचारमा र ट्रम्प प्रशासनका धेरै व्यक्तिहरूका विचारमा धेरै मानिसहरू जेलमा हुनुपर्छ । जेम्स कोमी अहिले त्यो सूचीको शीर्षस्थानमा छन् ।” सीएनएन