काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच तीन घण्टा लामो ‘क्लोज–डोर’ संवादपछि सहकार्यको ‘रोडम्याप’ बनेको छ ।
दुवैले शेरबहादुर देउवाबाट मुक्त भएपछि नेपाली कांग्रेस लयमा फर्किने निस्कर्ष निकाल्दै ‘सहकार्य’ गर्ने समझदारी पनि भएको छ ।
वार्ता निम्ति समन्वय गरेका एक नेताका अनुसार, १५ औं महाधिवेशन र निर्वाचनसम्म एउटै टिममा रहेर काम गर्ने र त्यसबाट शेरबहादुर देउवालाई मुक्त गर्न सकिने निचोडमा दुवै नेता पुगेका छन् । देउवाले सहजै बर्हिगमन नभए मंसिरभित्रै नियमित महाधिवेशनका लागि दबाब बढाउने र केन्द्रीय समितिमा एउटै टिम बनाएर जाने गरी कुराकानी अघि बढेको छ ।
डा. कोइराला निकट एक नेताले बाह्रखरीसँग भने, “उहाँहरूबीच केन्द्रीय समितिमा एक भएर जाने समझदारी भएको छ । पार्टीमा नियमित महाधिवेशनका लागि दबाव बढाउने र सबैलाई सहमत गराउन पहल गर्ने भन्ने भएको छ ।”
तर, दुवैले समझदारी सार्वजनिक नगर्ने र समयक्रममा टिमलाई जानकारी गराउँदै अघि बढ्ने तय भएको छ । दुई नेताबीच एक पार्टी सभापति र एक भावी प्रधानमन्त्रीको उम्मेवदार बन्नेगरी अघि बढ्ने सम्भावना बढेको छ ।
थापा निकट एक नेता भन्छन्, ‘‘महामन्त्री थापाले पार्टी र मुलुकलाई गति दिन आफू खुला र लचिलो रहेको धारणा कोइरालासँग राखेका छन् । त्यसो हुँदा सभापति र भावी प्रधानमन्त्री उम्मेदवारमा एकले अर्कालाई सहयोग गर्ने सम्भावना छ । तर, ठोस निर्णय चाहिँ केही भएको छैन ।’’
उता, शेखर कोइराला निकट नेताहरु दाबीमा, पार्टी सभापतिमा कोइरालालाई सघाउन थापा सहमत भएका छन् भने प्रतिनिधिसभा निर्वाचनमा डा. कोइरालाले थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्ने समझदारी भएको छ ।
ती नेताका अनुसार आ–आफ्नो टिमलाई व्यवस्थापन गर्ने जिम्मेवारी पनि उनीहरूले लिएका छन् । “अब सामाजिक सञ्जालमा एउटाले अर्का नेता वा टिमलाई गाली गर्ने क्रम बन्द हुनेछ,” ती नेताले बाह्रखरीसँग भने, “आजकै दिनमा हेर्नुभयो भने पनि देख्न सक्नुहुन्छ, आलोचना र वाद–प्रतिवाद कम भइसकेका छन् ।”
दुई नेताबीचको सहमतिका सबै विषय तलसम्म तत्काल जानकारी नगराए पनि मिलेर अघि बढ्ने जानकारी गराउने समझदारी भएको ती नेताको भनाइ छ । “अब निर्णय प्रक्रियामा सामूहिकता र निर्णयप्रति दुबैको अपनत्व रहने गरी अघि बढ्ने हुँदा धेरै कुरा मिल्दै जानेछन्,” ती नेताले भने ।
डा. शेखर–गगन सम्बन्धका उतारचढाव
कांग्रेसको ०७८ मंसिरमा भएको महाधिवेशनमा डा. कोइराला सभापतिको उम्मेदवार हुँदा गगन थापा उनकै टिमका महामन्त्री उम्मेदवार थिए । सभापतिमा ५० प्रतिशतभन्दा बढी मत ल्याउने व्यक्ति मात्र निर्वाचित हुने विधानको प्रावधान अनुसार तत्कालीन सभापति शेरबहादुर देउवा र डा. कोइरालाबाहेक सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पहिलो चरणबाट बाहिरिए ।
सभापतिमा देउवा र डा. कोइरालाबीच दोस्रो चरणको प्रतिस्पर्धा भयो । पहिलो चरणबाट बाहिरिएका सिंह, निधि र गुरुङ सबैले देउवालाई समर्थन दिए । दोस्रो चरणको चुनावमा दुबै उम्मेदवारले भोट बढाए पनि शेरबहादुरको ५९ प्रतिशतभन्दा बढी भोट आउँदा डा. शेखर झण्डै ४१ प्रतिशत नजिक मतमा सीमित भए ।
तर, उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र सहमहामन्त्रीमा बद्री पाण्डे र जीवन परियार डा. शेखर समूहबाटै निर्वाचित भए ।
२०७९ को निर्वाचनमा जाँदा महामन्त्री थापाले आफूलाई प्रधानमन्त्री उम्मेदवारका रूपमा प्रस्तुत गरे । डा. शेखरले आफू प्रधानमन्त्री नबन्नेगरी सहमति दिएको धेरैको आँकलन निर्वाचन परिणाम आइसक्दा गलत सावित भयो ।
डा. कोइराला समूहका नेताहरूले थापालाई संसदीय दलको नेतामा समर्थन नगर्ने भन्दै उनैलाई अघि बड्न दबाव बढाए । तर, टिम फुट्ने जोखिम देखिएपछि डा. कोइरालाले संसदीय दलको नेतामा थापालाई नै उम्मेदवार बनाए ।
उम्मेदवार हुनुअघि बसेको टिमको बैठकमा थापाले आफू तत्कालको संसदीय दल निर्वाचनमा प्रतिस्पर्धा गर्ने, त्यसपछि पुनः चुनाव गरेर नेतृत्व लिनुपर्ने भए डा. कोइरालाले नै प्रतिस्पर्धा गर्ने र आफूले सहयोग गर्ने वचन दिएका थिए ।
८९ सदस्यीय कांग्रेस संसदीय दलमा थापाको पक्षमा २५ मत आयो भने सभापति देउवा ६४ मतसहित संसदीय दलको नेता निर्वाचित भए ।
त्यसबेला डा. शेखर समूहमा ३२ सांसद भएको दाबी गरिएको थियो । अझ विश्वप्रकाश शर्मा र प्रदीप पौडेल थपिँदा ३४ मत पुगेको थियो । तर, टिम इमानदार नबनेको भन्दै नेताहरूबीच द्वन्द्व सुरु भएको थियो ।
त्यसको लगत्तै दुई महिनामा कांग्रेससँगको गठबन्धनमा प्रचण्ड फर्किएपछि मन्त्री सिफारिसमा उनीहरूबीच पुनः द्वन्द्व भयो । डा. कोइरालाले गगन थापा समूहलाई उचित भाग नदिएको भनी टिमका सदस्यहरूले असन्तुष्टि सार्वजनिक गरेका थिए ।
त्यसपछि पनि डा. शेखर र गगनको सम्बन्ध राम्रै थियो । तर, पछि बत्तिसपुतलीमा बसेको समूहको बैठकमा थापाले कोइरालालाई संसदीय दलको नेता नबनाए पार्टीप्रतिको दृष्टिकोणमा सुधार नहुने र ०८२ भित्र महाधिवेशन पनि नहुने भन्दै संसदीय दलको नेता फेर्न प्रस्ताव गरेका थिए ।
त्यसबीचमा अंक गणितको हिसाब–किताब चले पनि डा. कोइराला अघि बढेनन् । उनले संख्या केही नपुगेको भन्दै अघि नबढ्ने बताए ।
त्यसपछि दुई नेताका टिमबीच अविश्वास बढ्दै गयो । थापा निकटहरूले देउवाविरुद्ध कोइरालाले उभिने आँट नदेखाएको आरोप लगाए । उता कोइराला निकटहरूले देउवा टिमबाट समर्थनको बचन दिएका सांसदको विवरण देउवाकहाँ पुर्याउँदै घात गरेको आरोप लगाए ।
आरोप–प्रत्यारोप र भेटघाट दुबै जारी रहे पनि ओली सरकार गठनको समयदेखि भने दुई नेताबीच सम्बन्ध टाढिएको थियो । मन्त्री छनोटको निर्णयमा सल्लाह नगरेको भन्दै टाढिएका महामन्त्री थापा सरकार सञ्चालन संयन्त्रमा सदस्य भएका थिए ।
डा. कोइरालाले संयन्त्र अवैधानिक भएको भन्दै त्यस्ता संयन्त्र गठन नगर्न आह्वान गरेका थिए । उनले तल्लो तहसम्म संयन्त्र लैजाने सरकारी प्रयासमा बाधा सिर्जना गर्दै तल्लो तहका संयन्त्रमा सहभागी नहुन कांग्रेसका कार्यसमितिहरू र जनप्रतिनिधिलाई आह्वान गरेका थिए ।
सरकारले ल्याएका कतिपय अध्यादेशको स्वामित्व महामन्त्रीले लिँदा नेता कोइरालाले भने विरोध जनाउँदै आएका थिए ।
