अस्ट्रेलिया । सिड्नीको मुटु टाउन हलस्थित प्रो भिसाको कार्यालयमा पुग्दा मानिस भरिभराऊ थिए । केही व्यक्तिले महिना दिनअघि र कोहीले डेढ महनिाअघि भेट्ने समय मिलाएका रहेछन् । शुल्क तिरेर भेट्न पनि यति लामो कुराई, सामान्य रूपमा मेरो दिमागमा यही कुरा खेल्यो । तर, उनले आफ्नो भेटघाट छोट्याएर मलाई भेट्न आइपुगे ।
युवा माइग्रेसन एजेन्ट तथा वकिल निश शर्माले पेसाबारे केही गहकिला कुरा बोले, केही मनका भाव खोले । जबसम्म पेसालाई व्यवसायिक र मर्यादित बनाउन सकिँदैन तबसम्म यसको मर्म भेटन सकिँदैन । मेरो कुरोको चुरो यत्ति हो, इमान्दारिता, सही सल्लाह, आवश्यक परामर्श र कानुनी लडाईं । भेट्नेहरूको भीड कहिले घटेको छैन, हालसम्म २७ हजार विद्यार्थीको भिसामा सहयोग गरिसकेको छु । उनीसँंग केहीबेर गफिन मन लाग्यो, अनि सुरु भयो कुराकानी ।
कलिलै उमेरमा विदेशिएका थिए, शर्मा । १९ वर्षको कलिलै उमेरमा वैदेशिक अध्ययनमा होमिएका शर्माले अस्ट्रेलियाको सिड्नी आइपुग्दै गर्दा आफूले रोज्ने र खोज्ने पेसाबारे खासै सोचेका थिएनन् । समय र सोचले उनको लक्ष्य पनि बदलियो ।
स्थायित्वको सवालमा डेढ दशकअघि त्यतिबेला केही परामर्शदाताहरूकोमा उनी पुगेका रहेछन्, तर बोली र व्यवहार अनि कार्यशैलीबाट आजित भएपछि उनले सोच बनाएछन्, ‘अब व्यवसायिक बन्ने पालो हाम्रो ।’
त्यसपछि शर्माले आफ्नो परामर्श तथा कानुनी सेवाको नाम जुराए, ‘प्रोफेसनल भिसा’ ।
विदेशमा बसेर पनि पेसामा व्यवसायिक बन्न नसकेका कारण कैयन विद्यार्थीले दुःख पाउने गरेको तीतो सत्यलाई चिर्दै शर्माले आफूलाई माइग्रेसन एजेन्ट र वकिलका रूपमा उभ्याएका छन् । यतिबेला उनलाई भेट्न पनि सहज छैन ।
मानिसलाई एक–डेढ महिनाअघि नै भेटघाटको समय लिनुपर्छ । शैक्षिक परामर्शसँगै कानुनी पेसालाई पनि रोजेको कारण विद्यार्थीहरूका अनेकन झमेला पनि नजिकबाट नियाल्न र कानुनी लडाइँमा उनी सहयोग गर्छन् ।
“एक दशकको शैक्षिक परामर्श पेसामा करिब २७ हजार विद्यार्थीको भिसाामा सहयोगी भूमिका खेल्न पाउनु मेरो लागि ठूलो सफलता हो भन्ने मैले लिएको छु,” उनी आफ्नो पेशाप्रति गर्व गर्छन्, ‘‘तपाईं आफ्नो पेसामा इमानदार र व्यवसायिक बन्नुभयो भने अरु केही गर्नु पर्दैन । यो ‘ब्रेड एन्ड बटर’को मात्र पेसा होइन, एउटा विद्यार्थीको भविष्यसँंग जोडिएको व्यवसाय पनि हो ।’’
२२ वर्ष पहिले सिड्नीमा टेफ कलेजमा अध्ययन गर्न आएका शर्मा अस्ट्रेलियाको शैक्षिक परामर्श पेसामा लाग्ने कुरा संयोग नै मान्नुपर्छ । आफ्नो भिसाको सवालमा सल्लाह लिन पुग्दैगर्दा पाएको झन्झटले उनलाई झिझो पैदा गरेको थियो ।
कोही टुंगोका कुरो नगर्ने र बहानाबाजीबाट दिक्क भएपछि एनआरएमएमा निकै आकर्षक जागिर खाइरहेका शर्मा व्यवसायिक नाम र नारा बोकेर यस क्षेत्रमा हाम फालेका थिए ।
उनी नेपालका चर्चित कलाकार लव शर्माका छोरा हुन् । काठमाडौंमा जन्मेका र हुर्केका शर्माले भानुभक्त मेमोरिलमा प्रारम्भिक शिक्षा पूरा गरेर डनबस्कोबाट प्लस टु सकेका थिए । १२ कक्षा सकेर १९ वर्षको उमेरमै सन् २००४ मा अस्ट्रेलिया छिरेका शर्मा यतिबेला अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि उच्च अध्ययनको पहिलो रोजाईमा थियो ।
यतिबेला करिब ७० हजार नेपाली विद्यार्थी अस्ट्रेलियामा उच्च अध्ययन गरिरहेको बेला थपिने क्रम झन् बढ्दो छ । ‘‘सामाजिक सुरक्षा, समान अवसर, आकर्षक कमाइ र मिहिनेत गरेर पनि पढ्न सकिने मुलुकका रूपमा चरितार्थ हुँदै गर्दा अस्ट्रेलिया नेपाली विद्यार्थीको नम्बर एक रोजाइमा परेको हो,” शर्मा भन्छन्, “अर्को सवालमा यहाँको प्रवेशाज्ञा नीति–नियम पनि गाह्रो छैन । तपाईं योग्य हुनुहुन्छ भने सहजै पाइन्छ । अन्र्तवार्ताजस्ता झन्झटिला प्रक्रियाबाट गुज्रनु पर्दैन ।’’
महत्वपूर्ण र संवेदनशील पेसा भए पनि मर्यादित बन्न नसकेको किन होला ? उनी भन्छन्, ‘‘नेपालमा कानुनी प्रावधानले पेसालाई बाँध्न नसक्दा छाडापन बढेको छ । राज्यले यसलाई महत्वको विषयभित्र राखेर मनिटरिङ गर्ने हो भने यो पेसा पनि मर्यादित र जिम्मेवार बन्न सक्छ । नेपालमा पेसागत दक्षता नभएका मानिसहरूको बिगबिगी छ । जसका कारण विद्यार्थीहरू समस्यामा परेका देखिन्छन् ।’’
नेपाली विद्यार्थीबारे उनको फरक र अलग भनाइ देखियो । समस्या आएपछि त्यसबाट भाग्ने तर कानुनी उपचार वा सम्बन्धित निकायमा उजुरी नगर्दा धेरै गल्तीहरू ढाकछोप हुन पुगेका छन् । प्रायः नेपाली विद्यार्थी समस्या परेपछि त्यसको समाधानका लागि वा पीडक भए उजुरीका लागि सम्बन्धित निकायमा जाने गरेको देखिँदैन । विद्यार्थी भिसामा रहेका र अनेकन समस्या आउनसक्ने भन्ने मनरोगले नेपाली विद्यार्थी ग्रस्त छन् । यसकारण पनि कयैन पेसागत गल्तीहरू ढाकछोप हुन पुगेको उनको भनाइ छ ।
उनको बुझाइमा, समान अवसर र अधिकार भएको देशमा विद्यार्थीले पनि समान कानुनी उपचारको अवसर पाउँछन् । तर, कैयन पीडित विद्यार्थीहरू कानुनलाई झमेला र डरका रूपमा लिएका कारण बेइमानहरूले पनि उन्मुक्ति पाइरहेका छन् ।
नेपालबाट पढ्न आउँदै गर्दा विद्यार्थीले के पढ्ने र कस्तो शिक्षा रोज्ने भन्न विषय महत्वपूर्ण रहेको बताउने शर्मा आफूले रोजेको र विषयगत निरन्तरताले महत्व पाउने बताउँछन् । “तपाईंले अफ्नो विषयसँग मिल्ने शिक्षालाई पनि यहाँ आएर निरन्तरता दिनुभयो भने त्यसले भविष्यमा महत्वपूर्ण अर्थ राख्छ,” उनी भन्छन् ।
अस्ट्रेलियामा नेपालीहरू के पढ्ने र कस्तो शिक्षा रोज्ने भन्ने विषयमा शर्माको केही फरक धारणा देखिन्छ । अस्ट्रेलियामा विश्वमै गनिएका विश्व विद्यालय पनि छन् र साना कलेजहरू पनि छन् । यसको महत्व फरक र अलग छन्, तर भेट शिक्षा अस्ट्रेलियाको शैक्षिक क्षेत्रको मेरुदन्ड हो । तर, यसको बुझाइमा फरक दृष्टीकोण र अलग धारणा छ, नेपाली समाजमा ।
‘‘वैदेशिक शिक्षामा अस्ट्रेलिया आउने नेपाली विद्यार्थीमा केही गर्ने र पढ्ने जोस जागर भने हुनपर्छ । बाबा–आमाले पनि छोरा–छोरी विदेश पठाएपछि ढुक्क भएर बस्न हुँदैन । के पढ्दै छ भन्ने विषयमा चासो राख्नुपर्छ’’ उनी भन्छन् ।
विदेश आएपछि कमाउने, पढ्ने र जोड्ने सबैको उद्देश्य हो, तर, यी सबै कुरालाई ध्यानमा राखेर विद्यार्थी जीवनलाई सन्तुलित राख्न सक्नु महत्वपूर्ण हो ।
विद्यार्थीको भिसामा सहयोग गर्न पाउनु खुसीको क्षण ठान्ने उनी दिनहुँ नेपाली विद्यार्थीका ठगिएका, हेपिएका र बिग्रिएका विषय लिएर आफूसँंग भेट्न आइपुग्दा पीडाबोध महसुस गर्छन् ।
‘‘यहाँ सफलताका लाखाैँ कथाहरूबीच पीडाका हजारौँ व्यथाहरू पनि छन्,” उनी भन्छन्, “हामी दुवैलाई समान रूपमा राखेर सहयोग गर्ने अभियानमा लागेका छौँ ।’’