काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोको भिसा रद्द गर्ने घोषणा गरेको छ । न्युयोर्कमा अमेरिकी सैनिकलाई उक्साएको उनीमाथि आरोप छ । पेट्रो संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका थिए ।
अमेरिकाको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, “आज बिहान कोलम्बियाका राष्ट्रपति न्युयोर्क सहरको एक सडकमा उभिएर अमेरिकी सैनिकहरूलाई सरकारको आदेशको उल्लंघन गर्न र हिंसा भड्काउन आग्रह गरिरहेका थिए । पेट्रोको लापरवाह र उत्तेजक कार्यका कारण उनको भिसा रद्द गरिनेछ ।”
पेट्रोले शुक्रबार सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेका थिए । त्यसमा उनले मेगाफोन प्रयोग गरी ठूलो भीडलाई स्पेनिस भाषामा सम्बोधन गरेका थिए । भिडियोमा उनको अनुवादकले विश्वका देशलाई अमेरिकाभन्दा ठूलो सेनाका निम्ति सैनिकहरू योगदान गर्न आह्वान गरिरहेको सुनिएको जनाइएको छ ।
पेट्रोले भनेका थिए, “त्यसैले यहाँ न्युयोर्कबाट म संयुक्त राज्य अमेरिकाको सेनाका सबै सैनिकहरूलाई अनुरोध गर्दछु, उनीहरूले आफ्ना राइफलहरू मानवतामाथि नखोलून् । ट्रम्पको आदेशको उल्लंघन गर्नुहोस्, मानवताको आदेशको पालना गर्नुहोस् ।”
पेट्रो शुक्रबार राति नै न्युयोर्कबाट बोगोटा फर्किसकेका कोलम्बियाली सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रसंघ महासभामा उनले ट्रम्प प्रशासनको कडा आलोचना गरेका थिए । मंगलबारको सम्बोधनमा उनले क्यारेबियनमा लागुऔषध तस्करी गर्ने डुंगामाथि हालै गरिएका अमेरिकी आक्रमणको आपराधिक अनुसन्धान गर्न माग गरेका थिए ।
पेट्रोका अनुसार, ती आक्रमणमा निहत्था गरिब युवा मारिएका थिए । तर, वासिङटनले ती कारबाही भेनेजुएलाको तटमा अमेरिकाको लागुऔषधविरोधी अभियानको हिस्सा भएको जिकिर गरेको छ । भेनेजुएलाका राष्ट्रपतिले भने अमेरिकामाथि ‘कार्टेल’ चलाएको आरोप लगाउँदै आएका छन् ।
ट्रम्पले दक्षिणी क्यारेबियनमा आठ युद्धपोत र एउटा पनडुब्बी तैनाथ गरेका छन् । वर्षौंयताकै ठूलो यो अमेरिकी तैनाथीले भेनेजुएलामाथि आक्रमणको आशंका बढाएको छ । पेट्रोले अमेरिकाबाट डुंगा आक्रमणमा मारिएका केही व्यक्ति कोलम्बियाली हुन सक्ने दाबी गरेका छन् ।
गएको साता ट्रम्प प्रशासनले कोलम्बियालाई लागुऔषधविरुद्धको लडाइँमा ‘सहयोगी’को मान्यता रद्द गरेको थियो । आर्थिक प्रतिबन्ध भने लगाइएको थिएन ।
ऐतिहासिक रूपमा अमेरिका र कोलम्बिया सहयोगी मानिन्छ । तर, कोलम्बियाका पहिलो वामपन्थी नेता पेट्रोको शासनकालमा दुवै देशबीचको सम्बन्ध खराब हुँदै गएको छ ।
कोलम्बियाका गृहमन्त्री अरमान्डो बेनेडेट्टीले शुक्रबार राति एक्समा लेखेका छन्, “पेट्रोको सट्टा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको भिसा रद्द गरिनुपर्ने हो । तर, साम्राज्यले उनको रक्षा गर्ने भएकाले अमेरिकाले आफ्नो रिस त्यही एक मात्र राष्ट्रपतिमाथि पोखिरहेको छ, जसले उनीहरूलाई सिधै मुखअगाडि सत्य भनिदिएका थिए ।” बीबीसीबाट ।