काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल खाता निलम्बनसम्बन्धी मुद्दामा अर्को एक महत्त्वपूर्ण जित हासिल गरेका छन् । युट्युबले खाता निलम्बनसम्बन्धी मुद्दा किनारा लगाएको हो । त्यसनिम्ति युट्युबले २४.५ मिलियन डलर दिनेछ ।
ट्रम्पले आफ्ना खाता निलम्बन गरिएको विषयमा युट्युबविरुद्ध मुद्दा दायर गरेका थिए, । त्यसको बदलामा उनलाई यति ठूलो रकम दिइँदै छ ।
यसअघि पनि ट्रम्पले यस्तै मुद्दामा मेटा र एक्सबाट करोडौँ डलर सम्झौता शुल्कका रूपमा पाइसकेका छन् ।
सन् २०२१ मा अमेरिकी संसद् भवन क्यापिटल िहलमा गरिएको हमलापछि ट्रम्पका सामाजिक सञ्जाल खाता निलम्बन गरिएको थियो । त्यति बेला प्रदर्शनकारी अमेरिकी संसद्मा प्रवेश गरेका थिए र उत्पात मच्चाएका थिए । घटनामा ट्रम्पका केही सामाजिक सञ्जाल पोस्टलाई जिम्मेवार ठहर्याइएको थियो । ती पोस्टमा ट्रम्पले मतदानमा धाँधली भएको आरोप लगाएका थिए ।
यति ठूलो घटनापछि मेटा, एक्स र युट्युबले धेरै दिन ट्रम्पको खाता निलम्बन गरेका थिए । खाता निलम्बनविरुद्ध ट्रम्पले अदालतमा मुद्दा दायर गरेका थिए । मेटा, एक्स र युट्युबविरुद्ध मुद्दा दायर गरिएको थियो । मुद्दा किनारा लगाउन ट्रम्पलाई मेटाले २५ मिलियन डलर दिएको थियो । एक्सले १० मिलियन डलर दिएको थियो ।
अब गुगलको युट्युबले पनि उनलाई २४.५ मिलियन डलर सम्झौताका रूपमा दिँदैछ । ट्रम्पले यी मुद्दाबाट हालसम्म ८० मिलियन डलरभन्दा बढी रकम पाइसकेका छन् ।
क्यालिफोर्नियाको संघीय अदालतमा दायर कागजातानुसार, यो सम्झौता रकममध्ये २२ मिलियन डलर नेसनल मलको ट्रस्टलाई दिइनेछ । बाँकी रकम अमेरिकन कन्जरभेटिभ युनियनसहित मुद्दा दायर गर्ने अरू व्यक्तिहरूलाई दिइनेछ ।
ट्रम्पले हालसम्म विश्वका सबै प्रमुख सामाजिक सञ्जाल कम्पनीबाट ठूलो क्षतिपूर्ति रकम असुल गरिसकेका छन् ।
गुगलले यो सम्झौता खाता निलम्बनसम्बन्धी अदालतमा मुद्दाको सुनुवाइ हुनु ठिकअघि गरेको हो । यो मुद्दाको सुनुवाइ आउँदो अक्टोबर ६ मा हुने तय थियो । त्यसअघि नै गुगलले २४.५ मिलियन डलरमा सम्झौता गरेको हो । यो विषयमा गुगलले कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ । एनडीटीभीबाट ।